प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा चर्चाका तीन अनुहार


क्रमशः चन्द, पाण्डे र गिरी

सुर्खेत । प्रदेश सरकारले ‘कर्णाली प्रदेश खेलकुद परिषद’ को सदस्य सचिवको नियुक्ति प्रक्रिया शुरु गरेसंगै खेल क्षेत्रमा कसको अनुभव र योगदान बढि छ भन्ने चर्चा सुरू भएको छ ।

प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन पारित भएपछि परिषद्को पूर्ण कार्यकारी पद सदस्य सचिव नियुक्तिको चर्चा शुरु भएको हो ।

सामाजिक विकास मन्त्रालयले तत्कालिन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको नेतृत्वमा छनौट समिति गठन गरेको थियो । अधिकारीसहित धावक हरिबहादुर रोकाया र भलिबल खेलाडी चन्द्रकुमार गिरी रहेको छनौट समितिले १० जिल्लाबाट संकलित डेढ दर्जन व्यक्तिमध्ये १० जनाको नाम सर्टलिस्ट ग¥यो । जसमा दौडमा पूर्वखेलाडी रविन्द्र चन्द, नेकपा सुर्खेतका नेताहरु ऋषि गिरी र घनश्याम पाण्डे लगायत छन् ।

कसको कति छ खेल क्षेत्रमा योगदान ?

चर्चामा आएका नाममध्ये योग्यता, अनुभव र क्षमताको हिसाबले सबैभन्दा योग्य पूर्व खेलाडी रविन्द्र चन्द नै हुन् । ’चर्चामा रहेका तीन जनामध्ये खेल क्षेत्रमा अनुभवी पुर्व खेलाडी चन्दको बढि सम्भावना देखिन्छ,’ स्रोतले भन्यो उनिहरू तिन जनामध्ये चन्द फुटबल र क्रिकेट दुवैमा राष्ट्रिय खेलाडिसमेत हुन् ।’

खेल क्षेत्रमा गरेको योगदान र अनुभवलाई हेरेर सिफारिस गर्ने हो भने पुर्वखेलाडी चन्दको सम्भावना धेरै रहेको बताइएको छ । चन्दको खेल क्षेत्रको व्यवस्थापनमा पनि दखल रहेको छ । उनले जिल्लाका खेलाडीलाई आर्थिक सहयोग लगायत अन्य सहयोग पनि गरिरहेका छन् ।
नेकपाका नेता ऋषि गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतका दुई कार्यकाल अध्यक्ष र फुटबल संघका पूर्वउपाध्यक्ष र फुटबलर पनि हुन् । नेकपा जिल्ला कमिटी सदस्य घनश्याम पाण्डे भने खेलकुद गतिविधिमा अनुभव र खासै सम्बन्ध नभएका व्यक्ति हुन् । यद्यपि पाण्डेले विभिन्न खेलकूद प्रतियोगिताको व्यवस्थापनमा भूमिका निर्वाह गरेको आवेदनमा उल्लेख गरेका छन् ।

प्रदेश सरकारलाई सरोकारवालाहरुले भने खेल क्षेत्रमा संलग्न व्यक्तिलाई नै सदस्यसचिव बनाउन दबाब दिएका छन् । राजनीतिक कार्यकर्तालाई अन्य कुनै पदमा नियुक्त गर्न सकिन्छ, यसमा भने खेल क्षेत्र बुझेकै व्यक्ति हुनुपर्छ भनेर सुझाव दिएका छौं, एक खेलाडीले भने ।

ऐेनमा के छ प्रावधान ?
छनौट समितिले तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एकजनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

‘कर्णाली प्रदेश खेलकुद विकास ऐन’ मा परिषदको कार्यकारी प्रमुखको रुपमा एकजना सदस्य सचिव रहने प्रावधान छ । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा गठन हुने ९ सदस्यीय प्रदेश खेलकुद परिषदमा एकजना उपाध्यक्षसहित मन्त्रालयका सचिव, समावेशी सिद्धान्तको आधारमा चारजना र अपांगता भएका एकजना गरी ५ जना सदस्य तथा एकजना सदस्यसचिव रहने व्यवस्था छ । परिषदको पूर्णकालीन कार्यकारी प्रमुखको रुपमा भने सदस्य सचिव रहने व्यवस्था छ । उक्त पदको लागि स्नातक तह उत्तीर्ण भई खेलकुदको क्षेत्रमा अनुभवप्राप्त भएको हुनुपर्नेछ ।