सुर्खेतमा तरकारीको मुल्य अघिल्लो वर्षभन्दा दोब्बरसम्म महंगो


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तरकारीको भाउ असाध्यै महंगो हुन थालेको खबर आजको स्काई न्युज दैनिकमा प्रकाशित छ । कृषि बजार समिति सुर्खेतका अध्यक्ष प्रवल शाहीले अक्सर वर्षाको समयमा तरकारीको मूल्यमा वृद्धि हुने तर अहिलेको सन्दर्भमा माग अनुसारको आपूर्ति हुन नसकेकाले मूल्य बढेको बताए । ‘मान्छेको चहलपहल छ । तरकारीको मूल्य पनि दिनदिनै प्रतिकेजी करिब २० रुपैयाँले बढिरहेको छ र माग पनि बढिरहेको छ । तर तरकारी आएको छैन ।’ प्रदेश राजधानीमा तरकारीको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । बजारमा तरकारीको मूल्य गत वर्षको यसै अवधिको तुलनामा झण्डै १ सय प्रतिशतसम्म वृद्धि भएको छ । लकडाउनको समयमा निकै सस्तिएको तरकारीको मूल्य अधिक वर्षा, बाढी, पहिरो र डुवानको समस्या भएसँगै उत्पादन नै कम भएपछि महँगिएको हो ।

यस वर्ष रातो आलुको मूल्य सबैभन्दा मँहगो भएको छ । गत वर्ष २५ रुपैयाँ प्रतिकिलोमा विक्री भएको आलुको थोक बजार मूल्य यस वर्ष प्रति किलो ६० रुपैयाँ पुगेको छ । काउलीको मूल्य पनि गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ भने मुला ४४ प्रतिशतले महँगिएको छ । गत वर्ष ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली अहिले ६० देखि ६५ रुपैयाँ प्रतिकिलोमा थोक बजारमा विक्री भइरहेको छ । हरियो खुर्सानी र भेडे खुर्सानीको मूल्य पनि गत वर्षको तुलनामा क्रमशः ४५ र ५० प्रतिशतले वृद्धि भएको छ । थोक बजारमै तरकारीको मूल्य यसरी वृद्धि भएपछि खुद्रा बजार हुँदै उपभोक्तासम्म आइपुग्दा त्यसको मूल्य अझै दोब्बर हुने नै भयो ।

गत वर्ष ८० रुपैयाँमा कारोबार भएको प्रतिकिलो लसुन अहिले तीन सयभन्दा बढी भएको छ । नेपाली लसुनको बजार चिनियाँ लसुनले ढाकेको छ । नेपालमा सिजनमा मात्रै लसुनको उत्पादन हुने र उत्पादित लसुन पनि पर्याप्त नभएकाले चिनियाँ लसुन आयात हुने गरेको छ ।