आर्थिक अभावमा साझा घर, सञ्चारकर्मीद्धारा सहयोग



पुष्प बिसी
सुर्खेत,२१ साउन । वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको साझा घरलाई आर्थिक अभाव देखिएको छ ।
२०७५ चैतमा खोलिएको उक्त संस्थाले सडक बालबालिका, जेष्ठ नागरिक, मानसिक अपाङ्गता, विपन्न नागरिकहरुलाई साहारा दिंदै आएको छ ।
घरभाडा, खाद्यान्न किन्ने रकम नहुँदा साझा घर संकटमा परेको छ ।
जन्मदिन र व्यक्तिगत सहयोगबाट सञ्चालन भएको साझाघरलाई कोरोना महामारीका कारण समस्या परेपछि सुर्खेत स्थित सञ्चारकर्मीहरुले आर्थिक सहयोग गरेका छन् ।
‘साझाघर जोगाउँ’ अभियान अन्तर्गत बिहीबार तीन हजार दुई सय रुपैयाँ साझा घर नेपालका अध्यक्ष भीम बहादुर विश्वकर्मालाई सञ्चारकर्मी पुष्प बिसीले सहयोग रकम हस्तान्त्रण गरेका हुन् । आफुहरु जस्तै तीन चार जना सञ्चारकर्मीहरुले केहि दिनको खाजा खर्च बचाएर सहयोग गरेको बिसीको भनाई छ ।
अध्यक्ष विकले अहिलेसम्म सञ्चालकहरुको व्यक्तिगत, जन्मदिन, विवाह उत्सव, संघ संस्थाहरुको वार्षिक उत्सवमा जुटेको खाद्यान्न र सहयोगले चलेको बताउँदै बन्दहुने अवस्थामा पुगेपछि साझा घर नेपाल बचाउँ अभियान सञ्चालन गर्नु परेको जानकारी दिए ।
कहिलेकाहिँ हुने यस्ता कार्यक्रमले मात्र व्यवस्थापन गर्न समस्या परेको भन्दै सञ्चालकहरु सहयोगी हातहरुको खोजीमा छन् ।
स्थानीय तथा प्रदेश सरकारलाई पटक–पटक सहयोगको अपिल गरे पनि सहयोग नभएको अध्यक्ष विककोे गुनासो छ । संस्था बन्द भएपछि आफू कहाँ जाने भन्ने चिन्ता भएको कालीकोट खाँडाचक्र–५ का मानबहादुर नेपालीले बताए । ‘घरमा पनि कोही छैनन् यही संस्थाले यहाँसम्म ल्याएपछि हामीलाई बाच्न सहज भएको छ । संस्था नै बन्द भएपछि के गर्ने होला, कहाँ जाने होला भन्ने चिन्ता लाग्ने गरेको छ,’ उनले भने ।
यस्तै देलेखका रविन्द्र पनि कक्षा ४ साझाघरमै बसेर पढ्छन् । सहयोगको अभावमा साझाघर बन्द हुन लागेको छ भन्ने सुनेपछि बारम्बार चिन्ता लाग्ने गरेको बताए ।