कर्णालीको कोरोना नियन्त्रण मोडेल देशभर लागु गर्न आवश्यक (भिडियोसहित)


सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डाक्टर मंगल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड टास्कफोर्स बनाएर आफुहरुले काम गरेको वताएका छन् । एकाउन्टिविलिटी ल्याव नेपालको सिटिजन हेल्पडेस्कले मंगलबार कर्णालीमा कोरोनाविरुद्धको लडाईँबारे गरेको भर्चुअल संवादमा उनले टास्कफोर्सले सरोकारवालाहरुमा जनचेतना अभिवृद्धीको काम गरेको बताए ।

कर्णालीमा सुरुवातमा भारतबाट आएकाहरुका कारण संक्रमितको संख्या बढेको बताउँदै उनले अब यो संख्या धेरै हदसम्म नियन्त्रणमा आएको बताए । कोरोना नियन्त्रणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको जनशक्ति परिचालनको मोडेल उत्कृष्ट भएको दावी गर्दै उनले यस मोडेललाई सरकारले देशभरी लागु गर्नुपर्ने कुरा आफुहरुले सुझाउँदै आएको बताए ।

‘कर्णाली प्रदेश सरकारसंग समन्वय गरेर कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानले १९ वटा रणनितिक ठाउँहरुमा ४२ जना डाक्टरहरु गाउँगाउँमै पठाएका थियौं ।’ उनले भने, ‘लकडाउनको समयमा सजिलै विरामी रिफर गर्न सहज नभएकोले डाक्टरहरु गाउँमा पठाएका थियौं । यहि मोडेलमा सरकारले विभिन्न प्रतिष्ठानहरुलाई जनशक्ति परिचालनमा ध्यान दिएमा कोरोना नियन्त्रणमा सहज हुनेछ ।’

कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर प्रदिप न्यौपानेले प्रदेश अस्पताल सुर्खेतले पनि सुर्खेतमा संक्रमितको संख्या थोरै देखिएको समयमा करिब ११ जना डाक्टरहरुलाई विभिन्न स्थानहरुमा पठाएको बताए । उनले कर्णालीमा कोरोना अहिले सकिएको भन्न नमिल्ने बताउँदै कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन व्यवस्थापन तथा परिक्षणमा ध्यान दिन आवश्यक रहेको बताए ।

जनस्वास्थ्य विज्ञ माधव चौलागाईंले यसपहिलेका अन्य महामारी भन्दा यस महामारीमा नागरिकहरु सुचना प्रविधिको कारणले अल्लि पहिले सुसुचित भएको बताउँदै संक्रमितको संख्या स्थानीयस्तरमा बढ्नाले डर धेरै पैदा भएको बताए । उनले नागरिकहरुमा डर घट्दै गएको र सुरक्षा सावधानीमा पनि त्यति ध्यान नदिन थालेको दावी गरे । ‘कर्णालीमा यो समय समुदायमा कोरोना पुगिसकेको भए एकदमै डर छ । किनभने अहिले विभिन्न पैठ, पुजाआजा र चाडपर्वहरुका कारण भिड लाग्ने गरेको छ ।’ उनले भने ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले गएको आर्थिक वर्षमा कोरोना नियन्त्रणको लागि प्रदेशमा प्रर्याप्त बजेट नभएको बताइन् । सरकारले गएको चैत ११ गतेदेखि गरेको लकडाउनका कारण विकासका गतिविधि रोकिएको बताउँदै उनले विकास निर्माणको रकम कोरोना नियन्त्रण कोष खडा गरेर त्यसैमा रकमान्तर गरेको जानकारी दिइन् । ‘हामिले विपद्को लागि अलि धेरै बजेट छुट्याउनुपर्ने रहेछ भन्ने सिक्यौं । महामारीको समयमा अस्पताल, प्रदेशका मन्त्रालय, संघ सरकार र स्थानीय तहसंग समन्वय गरिरहेका छौं ।’

एकाउन्टीविलिटि ल्याब नेपालले हरेक सोमबार र विहिबार कोरोनासंग जोडिएका हल्ला र तथ्य एवं कोराना रोकथाम तथा प्रतिकार्यमा बजेट खर्च जस्ता विषयहरु समेटेर वुलेटिन प्रकाशन गर्दै आएको छ भने सिभिक एक्सन टिम मार्फत देशभर कोभिड १९ सँग जोडिएका विषयवस्तुमा सरकार, नागरिक समाज, नीजि क्षेत्र तथा विभिन्न संघसंस्थासँग समन्वय गरि विभिन्न अभियानहरु सन्चालन गरिरहेको छ ।

हेर्नुहाेस भिडियाे: