डब्लुएचओका कर्मचारी महतोलाई जातीय विभेद र कार्यस्थल उत्पीडन गरेको रहस्य सार्वजनिक


सुर्खेत । बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सतिश बिष्टविरुद्व जातीय विभेदकाे उजुरी परेकाे छ । विकास मन्त्रालयका महाशाखा प्रमुख  बिष्टविरुद्व  विश्व स्वास्थ्य संगठनका प्रादेशिक स्वास्थ्य अधिकृत राजकुमार महतोले उजुरी दिनुभएकाे हाे ।

अधिकृत महतोले प्रमुख बिष्टविरुद्व मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, महान्यायाधिवक्तको कार्यालय, बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, मधेशी आयोग, काठमाडाैं, राष्ट्रिय मानवअधिकार आयोग, काठमाडौं, पिछडिएको समुदाय (ओबिसी) विकास समिती, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, केन्द्रिय कार्यालय, काठमाडौ र नेपाल जनस्वास्थ्य महासंघ, काठमाडौंमा उजुरी दिनु भएको हाे ।

उजुरीपछि महतोले जनता समाचार डटकमसँग कुराकानी गर्दै  बिष्टले ६ महिनादेखि रङ्ग तथा थरको आधारमा विभेद गर्दै आएको बताउनु भयो । बिष्टले  आफूलाई.मानसिक यातना र कार्यस्थल मै उत्पीडन जस्ता अमानवीय कार्य गरेको महताेकाे गुनासो छ ।  ‘मेरो कार्य सम्पादनमा अनेक प्रकारले बाधा उत्पन्न गराउने र मैले कार्य गर्न नसकेको झुठो आरोप लगाई गलत प्रचारबाजी गर्ने कार्य उहाँले गर्दै आउनु भएको छ’ महताेले भन्नुभयाे ।

अधिकृत महतोले सुपरभाइजर र संस्थाका प्रमुखले पनि कुनै छलफल नगरी र वास्तविकता नबुझी एक महिनाको सूचना दिएर आफूलाई पदबाट हटाउने निर्णयसहितको पत्र थमाएको समेत उजुरीमा उल्लेख गर्नुभएकाे छ ।

यस्तो छ कानूनी व्यवस्था
नेपालको संविधानको धारा २४ को छुवाछुत तथा भेदभाव विरुद्धको हकमा कुनैपनि व्यक्तिलाई निजको उत्पति,जातजाति, समुदाय, पेशा, व्यवसाय र शारीरिक अवस्थाको आधारमा विभेद गर्न नपाइने उल्लेख छ ।

संविधानको प्रस्तावना र धारा २४ मा मौलिक हकको रुपमा प्रावधान गरिएको छुवाछुत र भेदभावविरुद्धको हकको बुँदा (४) मा जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न नपाइने उल्लेख छ ।