प्रदेशको उत्कृष्ट सहकारी “जनकल्याण साकोस”


सुर्खेत : वी.न.न.पा. १ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. यस बर्षको कर्णाली प्रदेश स्तरिय उत्कृष्ट संस्था भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) ले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीहरुलाई पुरस्कृत गर्दै आएको छ । नेफ्स्कुनको २०७७ श्रावण ३२ गते सम्पन्न भएको ३३ औँ स्थापना दिवसको अवसरमा यो घोषणा भएको हो । जनकल्याण साकोस २०५२ सालमा स्थापना भई निरन्तर सदस्यहरुलाई वित्तिय सेवा प्रवाह गरिरहेको छ । गतबर्ष जिल्ला स्तरिय उत्कृष्ट साकोस घोषणा भएको जनकल्याण साकोसले यस बर्ष भने कर्णाली प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको छ । कुल पुँजी १६ करोड र २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण साकोसको कार्यक्षेत्र वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका रहेको छ । पछिल्लो समय संस्थाको समग्र वृद्धि विकास र सदस्य केन्द्रित सेवाले नै संस्थाले उत्कृष्टता हासिल गरेको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले बताए । व्यवस्थापक न्यौपानेले भने – “हामिले पछिल्लो समय सदस्य सेवालाई विशेष ध्यान दिएका छौँ, नयाँ प्रविधिको अवलम्बन गर्दै सहकारी क्षेत्रको सुधारका लागि आवश्यक सबै मापदण्डहरु पुरा गरेका छौँ । यसले गर्दा सदस्यहरुको विश्वास बढेको छ भने सँगसँगै संस्थाको कुल पुँजीमा समेत वृद्धि भएको छ ।” संस्थाले वित्तिय सेवाका अतिरिक्त एस.एम.एस., मोबाइल बैंकिङ र रेमिट्यान्स सेवा समेत उपलब्ध गराएको छ ।
नेफ्स्कुनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायीक साकोस विकास कार्यक्रम (PROBATION) कार्यक्रममा आवद्ध भए पश्चात संस्थाको विकासले गति लिएको संस्थाका अध्यक्ष महेन्द्र प्रसाद शर्माले बताए । अध्यक्ष महेन्द्र प्रसाद शर्माले भने – “प्रोवेशन कार्यक्रमले संस्थाको वित्तिय सूचकहरु सुधार गर्छ, संस्थालाई व्यवस्थित र सुशासन कायम गरि दिर्घकालसम्म स्वस्थ रुपमा सञ्चालन गर्न सहयोग गर्छ ।” कोभिड -१९ को सामना गर्न संस्थाले स्थानीय तहलाई रु. २ लाख नगद सहयोग समेत गरेको छ । सामाजिक उत्तरदायित्व सहितको वित्तिय सेवा दिईरहेको जनकल्याण साकोसको ध्यये समुदायको उत्कृष्ट वित्तिय र व्यवसायिक साकोस रहेको छ । संस्थाले निकट भविष्यमा नै नेपाल स्तरको ब्राण्डिङ कार्यक्रम प्रोवेशन को ब्राण्ड प्राप्त गरि नेपाल कै गुणस्तर चिन्ह प्राप्त बचत तथा ऋण सहकारीको रुपमा आफुलाई चिनाउने अध्यक्ष शर्माले बताएका छन् ।

नेपाल भर पुरस्कृत हुने संघ संस्थाहरुको विवरण सहकारीको नाम र पुरस्कृत विधा
१. किसान कल्याण साकोस, सुनसरी सर्वोत्कृष्ट साकोस (नेपाल भर)
२.नीलकण्ठ महिला साकोस, धादिङ सर्वोत्कृष्ट महिला साकोस (नेपाल भर)
३.डाँफे साकोस, झापा १ नं. प्रदेश स्तरिय उत्कृष्ट साकोस
४.सगुन साकोस, सर्लाही २ नं. प्रदेश स्तरिय उत्कृष्ट साकोस
५.ज्योती मिर्मिरे सामुहिक साकोस, काभ्रे बाग्मती प्रदेश स्तरिय उत्कृष्ट साकोस
६.भिमकुल साकोस, गोरखा गण्डकी प्रदेश स्तरिय उत्कृष्ट साकोस
७.हाम्रो मध्यवर्ती साकोस, बर्दिया ५ नं. हाम्रो मध्यवर्ती साकोस बर्दिया ५ नं.
८.जनकल्याण साकोस, सुर्खेत । कर्णाली प्रदेश स्तरिय उत्कृष्ट साकोस
९.जनज्योती साकोस, कन्चनपुर । सुदुरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट साकोस
जिल्ला बचत तथा ऋण सहकारी संघ, काठमाण्डौँ उत्कृष्ट बचत तथा ऋण जिल्ला सहकारी संघ