पढ्दै, काम गर्दै, लाखौं कमाउँदै शर्मा, १० जनालाई रोजगारी दिने योजनामा(भिडियो रिपोर्टसहित)


सुर्खेत । नेपालबाट वर्षेनि थुप्रै नागरिकहरू रोजगारी खोज्दै विदेशिन्छन् । अझै कर्णाली प्रदेशबाट काम खोज्दै बिदेशिनेहरूको संख्या पनि धेरै छ । एकिन तथ्यांक नभएपनि कर्णाली प्रदेशका १० जिल्लामध्ये सायद अधिकांश दैलेख जिल्लाबासी नागरिकहरू गास, बाँस र कपासको लागि न्युनतम आयआर्जन गर्न विदेशिन्छन् । दैलेखबाट भारत र अन्य मुलुकमा पसिना बगाउन जाने युवाहरू धेरै छन् । आफ्नै ठाउँमा काम नगरेर विदेशमा गएर पसिना बगाउनेहरूका कथा व्याख्या गरेर साध्य नै छैन ।
प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहसम्म ऋण गरेर लाखौं रकम खर्चिएर पढ्ने अनि पढेपछि काम नपाएर सोही ऋण तिर्न बिदेशिनेहरू पनि धेरै छन् । गाउँघरमा परम्परागत खेतिकिसानीले दिक्क मानेर जमिन बाँझो छाडेर सहर वा विदेश पलायन हुने पनि उत्तिकै छन् । पढ्नको लागि सहर जानेहरू त गाउँमा फाटफुटबाहेक सबै हुन्छन् ।

तर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ५ बस्तेकोटका भिमप्रसाद शर्माको परिचय अलि फरक छ । उनी आफ्नै गाउँठाउमा पढ्छन् । जे पढ्छन र सिक्छन् त्यसलाई आफ्नो जमिनमा सदुपयोग गर्छन् । चामुण्डाबिन्द्रासैनी ३ हाडाकोटस्थित चामुण्डा माध्यमिक विद्यालयमा डिप्लोमा तहको कृषि वालिविज्ञान विषयमा अध्यनरत शर्माले आफुले सिकेको सीप आफ्नै जमिनमा प्रयोग गर्छन् ।

२०७१ सालमा काम खोज्दै मलेसिया पुगेर फर्केका शर्मा अब छिट्टै केही बेरोजगार जनशक्तिलाई आफ्नै गाउँमा रोजगारी दिने योजना बनाइरहेको बताउँछन् । “विदेशमा गएर मैले धेरै दुख गरेँ । त्योभन्दा कम दुख आफ्नै ठाउँमा गरेपछि ठूलो सुख पाइन्छ भन्ने पत्तै भएन ।” शर्मा भन्छन्, “हामी आफ्नो ठाउँमा कृषिको काम गर्न हिचकिचाउँछौ त्यसैले त विदेशमा गएर धेरै दुख पाइन्छ ।”
लकडाउन अवधिमा हजारौं रकमको तरकारी विक्रि गरेको उनले बताए । करिब १ वर्ष पहिले गहुँ र मकै लगाउने उनको जमिन अहिले फलफुल र नगदेबालीले भरिएको छ । यसै वर्ष उनले करिव २ लाख बढि रकम आफ्नो जमिनमा खर्च गरेका छन् । जसले ६ क्विन्टल अदुवा, ९ क्विन्टल बेसारको बीउ लगाएका छन् । कागती, केरा, आँप, सुन्तला, अनार, माल्टा र अमिला लगायतका फलफुलका १ हजार बिरुवा रोपेको उनले बताए ।

परम्परागत कृषि प्रणालीले खानमात्रै पनि नपुग्ने उनी बताउँछन् । “मैले जुन शिक्षा लिन्छु । आधुनिक कृषि प्रणालीमा आधारित उक्त शिक्षाको प्रयोग मैले आफ्नो बारीमा गर्छु ।” उनी भन्छन्, ” तरिका जान्यो भने दर्जनौ गुणा बढि फाइदा लिन सकिन्छ ।”

यसवर्ष नगरभर अदुवा बिउको रूपमा पुर्याउने र बेसार पनि नगरभर पुर्‍याउने उनले लक्ष्य लिएको बताउँछन् । आफू काम खोज्दै विदेशिनुभन्दा अगाडि मासिक ५ हजारको भएपनि जागिर खानुपर्छ भन्ने सोच बनाएका उनको सोच आजभाेली निकै फराकिलो भइसकेको छ । उनले आफू जागिर खोज्ने नोकर बन्नुभन्दा जागिर दिने मालिक बन्ने लक्ष्य हरेक युवाले राखेमा विदेशिनुपर्ने बाध्यता आफै हट्ने बताउँछन् ।

“करिब १० जनालाई आफ्नै बारीमा रोजगारी दिने सोच छ ।” पाँच वर्षको योजना सुनाउँदै शर्माले भने, “माछापालन, कुखुरापालन, बाख्रापालन र अन्य नगदेबाली तथा फलफुलले मेरो जमिन भरिपुर्ण हुनेछ । ३ जना कृषि प्राविधिकसहित ९-१० जनाले गाउँमै रोजगारी पाउनेछन् ।”

स्थानीय सरकारले आफ्नो ठाउँमै केही गरेका युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने बताउँदै बजार व्यवस्थापन र आवश्यक तालिम पनि जरूरी रहेको शर्माले बताए ।