स्थानीय उत्पादनको बजारीकरण गर्दै सहकारी: बढ्न थाल्यो किसानको आम्दानी


   दैलेख । ग्रामिण भेगमा सहकारीले किसानका उत्पादनको बजारीकरण गरिदिन थालेपछि उनिहरूको आम्दानी बढ्न थालेको छ । दैलेखको चामुण्डाबिनद्रासैनी नगरपालिका २ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले किसानहरूलाई उत्पादन र बजारसंग जोड्न सुरू गरेको हो ।

सहकारी संस्थाले पहिलो चरणमा गएको साउन २२ गतेदेखि स्थानीयस्तरमा उत्पादित किसानहरूको दुधको बजारीकरण सुरू गरेको छ । जसका लागि दुग्ध विकास कार्यक्रम संचालनमा ल्याइएको सहकारीले जनाएको छ । सहकारीले अौषत ६० रूपैयाँ प्रतिलिटर किसानको दूध खरिद गरि प्रदेश राजधानी सुर्खेतमा ल्याएर विक्रि गर्ने जनाएको छ । अहिले प्रतिदिन करिब ५० जनाले आफ्नो दूध बिक्री गरिरहेको भएपनि सडक सुधार भएपछि नगरपालिकाका सबै वडाहरूमा दूध संकलन केन्द्र स्थापना गरि खरिद गरिने सहकारीले जनाएको छ । सहकारीले दुधमात्रै होइन किसानले उत्पादन गरेका नगदेबाली, फलफुल लगायतका कृषिजन्य बस्तुहरूको बजार व्यवस्थापन छिट्टै सुरु गर्ने जनाएको छ । सहकारीले ब्रोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रसोधन उद्योग संचालनमा ल्याउने तयारीसमेत थालेको छ ।

राष्ट्रिय सहकारी बोर्डका सदस्य एवम् उक्त सहकारीका अध्यक्ष भिमबहादुर रावतले किसानले अब उत्पादित बस्तुको बजारको चिन्ता लिन नपर्ने बताए । “गाउँमा सहकारीप्रतिको आम नागरिकको धारणा परिवर्तन हुन नसकेकोले कम मात्रामा सहकारी स्थापना हुन्छन् । भएका सहकारीहरूपनि बचत तथा ऋणमा मात्रै सिमित भई निस्क्रियसरह हुने अवस्था छ ।” रावतले भने, “सहकारी नाफामुखी नभई सेवामूलक हुनुपर्छ । हामिले किसानहरूलाई बचत तथा ऋणमा मात्रै नभइ आयआर्जन गर्न पनि सहयोग गर्छौं । किसानहरूलाइ उत्पादनमा लगाई बजारसंग जोड्ने हाम्रो काम हो ।”

उनले किसानहरूलाई अनुदान, प्रोत्साहन र तालिमजस्ता क्रियाकलापमा पनि संग्लग्न गराइने बताउँदै स्थानीय, प्रदेश र संघ सरकारले सडक, कृषबस्तु संकलन केन्द्र स्थापना लगायतका काम गर्नुपर्ने बताए ।

किसानहरूको आयआर्जन बढाइ जिवनस्तर परिवर्तनका लागि सहकारीले काम गर्ने संस्थाका कोषाध्यक्ष मानबहादुर चन्दले बताए ।

सहकारीले सरकार, बजार र किसानबिच पुलको काम गरि नागरिकलाई आयआर्जन र व्यवसायमा सहज ल्याउन भुमिका खेल्ने संस्थाका सचिव रविन्द्र कंडेलले बताए ।

सहकारीले कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशु सेवा कार्यालय दैलेखले १ करोड रूपैयाँ अनुदान, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ३० लाख र सहकारीको ३० लाख लगानीमा आफ्नै गाडि खरिद गरेको छ । १ सय जना किसानहरूलाई करिब १ लाख रूपैयाँ बराबरका १-१ वटा भैंसी वितरण गरेको संस्थाका व्यवस्थापक चिनबहादुर खत्रीले जानकारी दिए । “सहकारीले युवाहरूलाई कृषि तथा पशुपालनमा उत्साहित गर्न भुमिका खेल्छ ।” खत्रीले भने, “किसानहरूले जति उत्पादन गर्छन् त्यो विक्रि भएपछि उनिहरूलाई पनि हौसला थपिन्छ । थप उत्पादनमा जाँगर लगाउँछन् ।”

चामुण्डा माध्यमिक विद्यालयले कृषि प्राविधिक उत्पादन गर्छ । सहकारीले बाझो जमिन भाडामा लगेर स्थानीय कृषक र कृषि प्राविधिकलाई उक्त जमिनमार्फत उत्पादनमा जोड्ने लक्ष्य पनि राखेको व्यवस्थापक खत्रीले जानकारी दिए । उनका अनुसार सहकारीले ब्रोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रसोधन उद्योग संचालनमा ल्याउने तयारीसमेत थालेको छ । जसले गर्दा उद्योगमा केहिले रोजगारी पाउने, कच्चापदार्थको लागि स्थानीय उत्पादनको प्रयोग, स्थानीय उत्पादनको प्रयोगले सस्तो मुल्य आदि फाइदा स्थानीयलाई हुनेछ ।

सहकारीले थालेको यो अभियानमा कृषकहरू पनि निकै उत्साहित बनेका छन् । विगतमा आफुहरूले गरेको कृषिजन्य उत्पादनले बजार नपाएकोले आफुलाइ उत्पादनमा नैराश्यता आएको बताउँदै स्थानीय कृषक तिलक पौडेलले अब सहकारीले बजार व्यवस्थापन गरिदिए आफुहरू उत्पादनमा तत्पर रहेको बताए ।

चामुण्डाबिन्द्रासैनी ३ का तिलक तिमिल्सिनाले दैनिक ५ लिटर दूध बेच्छन् । उनले मासिक ९ हजारभन्दा बढि कमाउँछन् । यसभन्दा अगाडि उनले उक्त दूधबाट १ रूपैयाँ पनि कमाउदैनथे । किसानहरू नरेश विक, टिकाराम आचार्य, धनिराम कंडेल, दिपक भट्टराई लगायतले स्थानीय तहलेभन्दा आफुहरूको लागि सहकारीले राम्रो काम गरेको बताए । उनिहरूले सहकारीबाट भैंसी पनि पाएको बताउँदै आगामि दिनमा आफुहरूलाई कृषि तथा पशुपालनसम्बन्धी तालिम आवश्यक रहेको बताए ।