खसी किन्न हिँडेका व्यक्ति मृत भेटिए, साथी पक्राउ


सल्यान — खसी किन्न भनी हिँडेका कुमाख गाउँपालिका–२ कैनकाँडाका जनक खत्री मृत अवस्थामा भेटिएका छन् । घरदेखि आधा घण्टा पर भिरबाट लडेको अवस्थामा मंगलबार बेलुकी उनको शव भेटिएको हो ।

उनको हत्या भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । स्थानीय देवराज जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । जोशीका अनुसार खत्रीका आफन्तले उनीहरू दुई जना मंगलबार दिउँसोसम्म सँगै रहेको बताएका छन् । सँगै खसी खोज्न भनी निस्केका दुवैबीच झगडा भएको बुझिएको र त्यही क्रममा जैसीले खत्रीको हत्या गरेको भन्दै आफन्तले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

खत्रीको टाउकोमा गहिरो चोट लागेको र कुनै वस्तुले प्रहार गरेजस्तो देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । जैसीले भने दुवैले मदिरा सेवन गरेको र खत्री सडकदेखि लडेको मात्र देखेको बयान दिएका छन् ।