बैंकका कर्मचारी, सुरक्षाकर्मी र थुनुवासहित २१ जना कर्णालीमा शनिबार कोरोना संक्रमित थपिए


सुर्खेत । कर्णालीमा शनिवार थप २१ जनामा कोरोना पुष्टी भएको छ । शनिबार गरिएको परीक्षणमा बैंकका कर्मचारी, सुरक्षाकर्मी र थुनुवासहित २१ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या २ हजार ७ सय ७६ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबार संक्रमित हुनेमा तीन जना थुनुवा, ८ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन् ।
शनिबार संक्रमित हुनेमा सुर्खेतका ६, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक/एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या दुईहजार तीनसय ९५ जना छन् । कर्णालीमा संक्रिय विरामीको संख्या तीनसय ७५ जना रहेका छन् ।