चामुण्डाबिन्द्रासैनीको विद्युत लाइनमा गम्भीर लापरबाही !


दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ मा अवस्थित उक्त ठाउँमा रुखमा बाँधिएको तार । तस्बिरः सामाजिक संजाल 

सुर्खेत । मध्य–पहाडी राजमार्गको छेउछाउ हुँदै विद्युत लाइन बिस्तार भएको छ । नगरपालिकाको कार्यालय वडा नम्बर–६ बाट पश्चिम क्षेत्रमा पर्ने वडा नम्बर–५ हुँदै अन्य वडाहरुमा लाइन लगिएको छ । सोहि लाइन हुँदै वडा नम्बर–५ मा अवस्थ्ति भोटको चौतारा सम्म बत्ति गइसकेको छ । तर ती नै विद्युतको पोललाई अड्याउने सर्पोट (स्टे) तार सल्लाको रुखमा बाँधिएको छ । तार रुखमा बाँधिएको हिजो आज होइन महिनौँ भइसकेको छ ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ मा अवस्थित उक्त ठाउँमा रुखमा बाँधिएको तार केहि समयको लागि होला भन्ने अनुमान गरे पनि लामो समय सम्म रुखमा बाँधिएको स्थानीयले बताएका छन् । यसरी असुरक्षित रुपमा रुखमा तारहरु बाँध्दा करेन्ट प्रवाह हुने जोखिम भएको उनीहरुले तत्काल हटाउन माग समेत गरेका छन् । त्यहि सडक भएर लामो समय सम्म नेताहरु, मन्त्रीहरु, विभिन्न सरकारी निकायका मानिसहरु हिँडे पनि त्यस तर्फ कसैको ध्यान नगएको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ८ का भिम रिजालले बताए । ‘यो लामो समय सम्म रुखमा नै बाँधिएको छ,’ उनले भने, ‘सरोकारवाला कसैको ध्यान गएको छैन । यसरी लाप्रवाही गर्दा भविष्यमा नराम्रा घटनाहरु घट्न सक्छन् । त्यसैले यसलाई तत्काल व्यवस्थापन गरिनुपर्छ ।’ यस्तै अन्य स्थानीयबासीले यसरी नै लाप्रवाही गरे आफुलाई सहिए नहुने भन्दै तत्काल व्यवस्थित लाइन बिस्तार गर्न माग गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखले दुल्लु नगरपालिकाबाट मध्य–पहाडी राजमार्ग हुँदै चामुण्डाबिन्द्रसैनी नगरपालिकामा लाइन बिस्तार गरिरहेको छ । उक्त वितरणको काम इन्द्र कन्ट्रक्सन सुर्खेतले गरिरहेको छ । जहाँ ३३ केभि प्रसारणका दुई वटा लाइन बिस्तार भएका छन् । एउटा लाइन वडा नम्बर ५, ७ बाट राकम कर्णाली हुँदै कालिकोट जाने छ भने अर्को लाइन वडा नम्बर ८ हुँदै ठाँटिकाँध गाउँपालिका जाने बताइएको छ ।

यता नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रले सर्पोट तारलाई रुखमा बाँधिएको बिषयमा आफुलाई जनाकारी नै नभएको बताएको छ । वितरण केन्द्रका सुपरभाइजर पूर्णबहादुर खत्रीले अब त्यसलाई तत्काल हटाउन लगाउने बताएका छन् । ‘त्यस बिषयमा हामीलाई जानकारी थिएन, अब तत्काल हामी त्यो हटाउँछौँ,’ उनले भने, ‘ जति सक्दो छिटो हामी त्यसलाई हटाउदौँ ।’
‘कतिपय अवस्थामा पोललाई सर्पोट (स्टे) दिनै पर्ने हुन्छ । तर त्यहाँ यता उता ठाउँ नभए पछि पनि त्यसो गरिएको होला । त्यो गलत हो,’ उनले थपे, ‘हामीले यस्ता समस्याहरुलाई समाधान गर्दै आएका छौँ । यसलाई पनि गर्छौ ।’  नयाँ नेेेेपाल अनलाइन बााट