विद्यालयमा कम्प्युटर शिक्षा देखावटी मात्र


दैलेख :  पाठ्यक्रम विकास केन्द्रले २०७० देखि नै कक्षा ६ बाटमाथि कम्प्युटर शिक्षालाई अनिवार्य गरेको छ। तर कम्प्युटर शिक्षा अनिवार्य भए पनि दैलेखमा भने त्यो कार्यान्वयन भएको छैन। सामुदायिक विद्यालयमा न पाठ्यक्रम अनुसारका कम्प्युटर छन्, न त शिक्षक नै। कक्षा ६ देखि ८ सम्म अनिवार्य र कक्षा ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा लागु गर्ने भनिएको छ। तर सरकारले ल्याएको अधुरो शिक्षा नीतिका कारण दुर्गमका विद्यार्थी मारमा परेका छन्।

नर्मा नामक नौमुले गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविमा कक्षा ७ मा पढ्छिन्। उनले कक्षा ६ देखि नै कम्प्युटर विषय पढ्न थालेकी हुन् तर अहिलेसम्म कम्प्युटर चलाउन भने जान्दिनन्। उनले कम्प्युटर देख्न नपाएको बताउँछिन्। नर्मा भन्छिन्, ‘विद्यालयमा कम्प्युटर पढाउने शिक्षक हुनुहुन्न, किताब मात्रै घोक्नुपर्छ, प्रयोगात्मक रुपमा त सिकाइँदैन, विषय शिक्षक नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा प्रभावकारी छैन्’, उनले भनिन्।

नर्मा मात्र होइन, आठबीस नगरपालिका–९ सिंहासैनीस्थित पशुपति माविका विद्यार्थी पनि कम्प्युटर खोल्न र बन्द गर्नसमेत जान्दैनन्। कम्प्युटर पढाउने विषयगत शिक्षक छैनन्। सोही विद्यालयमा आधारभुत तहदेखि नै अध्ययन गरेका सुनिल बिकले एसईई उतिर्ण गरिसके। तर, कम्प्युटर चलाउन भने जान्दैनन्। ‘कम्प्युटर किताबमा मात्रै पढ्यौं, प्रयोगात्मक भने कहिल्यै भएन। हामीलाई सरले किताबमा भएको कुरा देखाउँदै पढाउनुहुन्छ’, उनले भने, ‘कम्प्युटर देख्न भने पाइएन।’

छैनन् दक्ष जनशक्ति

हाल जिल्लाभर चार सय ४६ वटा सामुदायिक विद्यालय छन्। जिल्ला शिक्षा विकास समन्वय इकाईका अनुसार कक्षा १ देखि ३ सम्म सञ्चालन भएका ३४ वटा, १ देखि ५ सम्मका दुईसय ५६ वटा, १ देखि ८ सम्मका ८८ वटा, १ देखि १० सम्मका ५६ वटा र उमावि सञ्चालन भएका विद्यालयको संख्या १२ वटा छ। एक सय ४४ वटा सामुदायिक विद्यालयमा कम्प्युटर विषय लागू छ। तीमध्ये ९५ वटा विद्यालयमा कम्प्युटर ल्याब स्थापना भईसकेको इकाईको तथ्यांकले देखाउँछ। कम्प्युटर शिक्षा सुरु गरेका सामुदायिक विद्यालयमा व्यवहारिक हुन सकेको छैन।  केही अपवाद बाहेक प्रायः विद्यालयमा यो देखावटी मात्र छ। ऐच्छिक विषयको रुपमा कम्प्युटर शिक्षा पढाइ हुने गरे पनि कतिपय विद्यालयमा कम्प्युटर नै छैनन्।

नारायण नगरपालिका–१ स्थित त्रिभुवन मावीमा प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ विषय पढाइ हुन्छ। उक्त विद्यालयमा विद्यार्थीका लागि ६९ वटा र शिक्षकका लागि ३ वटा कम्प्युटर छन्। विद्यालयमा कम्प्युटर इन्जिनियरिङ विषय पठनपाठनका लागि आठ जना शिक्षक कार्यरत रहेको प्रधानाध्यापक निरकबहादुर तारामीले बताए।

कम्प्युटर इन्जिनियरिङ विषय पठनपाठन हुने यो विद्यालय बाहेक यहाँका अन्य विद्यालयहरुमा विषयगत शिक्षक नहुँदा अन्य शिक्षकहरुको भरमा कम्प्युटर शिक्षा प्रदान गरिरहेका छन्। प्रयोगशाला भएका विद्यालयमा पनि दक्ष जनशक्ति छैनन्। कम्प्युटर शिक्षा सुरु भएको विद्यालयमा कम्प्युटरका लागि छुट्टै दरबन्दी छैन। नारायण नगरपालिका–८ तर्ताङस्थित सरस्वती माविका निमित्त प्रधानाध्यापक लोकेन्द्रबहादुर जिसी भन्छन्, ‘कम्प्युटर पढाउने विषय शिक्षक छैनन्, कक्षा ६ देखि ८ सम्म लेखापालले पढाउनुहुन्छ, ९ र १० कक्षालाई नेपाली विषयको शिक्षकले कम्प्युटर पढाउनुहुन्छ।’ विद्यालयमा २५ वटा कम्प्युटर छन्। तर विद्यार्थीहरुले नियमित सिक्न पाउँदैनन्। ‘हप्ताका पाँच दिन सैद्धान्तिक रुपमा किताब घोक्ने विद्यार्थीहरुले एकदिन मात्रै प्रयोगात्मकमा सहभागि हुन पाउँछन्,’ विद्यार्थीहरुले कम्प्युटर खोल्न र बन्द गर्नसम्म सिकेका छन्, राम्ररी चलाउन भने जान्दैनन्,’ निमित्त प्रधानाध्यापक जिसीले  भने।

प्रविधिमैत्री छैनन् शिक्षक

अबको शिक्षा समयसापेक्ष, प्रविधिमैत्री, बालमैत्री र स्थानीय आवश्यकता केन्द्रित हुनुपर्छ। तर, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु प्रविधिमैत्री हुन सकेका छैनन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा भन्छन्, ‘कम्प्युटर शिक्षा पढाइ हुने विद्यालयमा कम्प्युटर त छ तर धेरैजसो विद्यालयमा नामको मात्रै कम्प्युटर शिक्षा छ।’

कम्प्युटर विषय अन्तर्गत किताब घोक्ने बाहेक अरु हुन नसकेको उनको भनाइ छ। भएका कम्प्युटरहरु कार्यालय प्रयोजनमा प्रयोग हुँदै आएको उनि बताउँछन्। ‘विद्यार्थीहरुले प्रयोगात्मक रुपमा कम्प्युटर सिक्न पाएका छैनन्, त्यसमा शिक्षकहरुले पनि वेवास्ता गर्नुभएकै हो, प्रविधि मैत्री बन्नुपर्छ भन्ने धारणा शिक्षकहरुमा छैन।’ ‘छुट्टै दरबन्दी त छैन्, थापाले भने, ‘केहि विद्यालयमा स्थानीय स्रोतबाट शिक्षक राखिएको छ।’ अधिकांश विद्यालयमा भने कम्प्युटर सम्बन्धी सामान्य ज्ञान सामान्य भएका शिक्षकले नै कम्प्युटर पढाइरहेका छन्। जसले गर्दा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा झारा टार्ने मेलोमा सीमित भएको छ।

विद्युत नहुँदा समस्या

ठाटीकाँध गाउँपालिका–१ मा रहेको कृष्ण माविमा कम्प्युटर पढाउनका लागि विषयगत शिक्षक छैनन्। लेखा शाखाका कर्मचारी र शिक्षकहरुमार्फत विद्यार्थीहरुलाई कम्प्युटर सिकाउने काम भइरहेको विद्यालयका शिक्षक जीवराज रेग्मी बताउँछन्।  ‘विद्यालयमा झण्डै ३५ भन्दा बढी कम्प्युटर छन्,’ रेग्मीले भने, ‘विद्यालयका अंग्रेजी, गणित विषयका शिक्षकहरुले कम्प्युटर विषय पढाउनुहुन्छ, तर किताबमा भएको सैद्धान्तिक ज्ञानबाहेक प्रयोगात्मक सीप प्रदान गर्न सकिरहेका छैनौँ।’

विषयगत ज्ञान नभए पनि पाठ्यपुस्तक पढाउनैपर्ने बाध्यता रहेको शिक्षक रेग्मीको भनाइ छ। भएका कम्प्युटरहरु पनि खिया लाग्ने अवस्थामा पुगेको उनले बताए। ‘विद्यालयसम्म विद्युत नै विस्तार भइसकेको छैन’, सोलारबाट कम्प्युटर सञ्चालन गर्न हम्मेहम्मे पर्छ’, उनले भने। दुर्गम भएकाले विद्युत् विस्तार नहुँदा सौर्य बत्तीबाट विद्युतिय सामग्री प्रयोग गर्न समस्या भइरहेको उनको भनाई छ।

अपवादबाहेक कम्प्युटर कक्षा सुरु भएका अधिकांश विद्यालयमा कम्प्युटर शिक्षकको स्थायी दरबन्दी छैन। पर्याप्त अध्ययन बिनै पढाइ सुरु भयो। कति कक्षासम्मका विद्यार्थीहरुलाई कम्प्युटर पढाउँदा उचित हुन्छ भन्ने कुनै अध्ययन छैन। आवश्यक जनशक्तिको लेखाजोखा समेत छैन। सबै विद्यालयमा कम्प्युटर शिक्षक नभएको नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमालयजंग शाह बताउँछन्। ‘माध्यामिक तहसम्मका ९ वटा र कक्षा ८ सम्म सञ्चालन भएका ८ वटै विद्यालयमा कम्प्युटर कक्षा सुरु भएको छ’, शाहले भने, ‘स्कुलैपिच्छे शिक्षक राख्न नगरपालिकाले सक्ने अवस्था छैन, आवश्यकताका आधारमा पहल गर्छौं।’

‘कम्प्युटर शिक्षाका लागि विषयगत शिक्षक नहुँदा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन्, शिक्षक नहुँदा विद्यार्थीले कम्प्युटरको प्रयोगात्मक सिकाइ सिक्न पाएका छैनन्’, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखकाका संयोजक दुर्गा गिरी भन्छिन्। विद्यालयमा विद्युत र इन्टरनेटको सुविधासमेत नहुँदा झनै समस्या पारिरहेको गिरीको भनाइ छ।

सरकारले अहिले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागु गरेर शिक्षकको व्यवस्था नगर्दा अभिभावकहरु समेत सन्तुष्ट छैनन्। डुङ्गेश्वर गाउँपालिका–२ का बीरबहादुर नेपाली भन्छन्, ‘छोराछोरीहरु विद्यालयमा कम्प्युटर विषय पढाइ हुन्छ भन्छन्, तर, चलाउन जान्दैनन्।’ प्रयोगात्मक कक्षा प्रभावकारी हुन नसकेको उनी बताउँछन्। ‘नेपाल सरकारले नै कम्प्युटर विषय लागू गरेकोले कम्प्युटर शिक्षक र ल्याबको पनि व्यावस्था गरिदिनुपर्छ’, उनले भने।

जिल्लाका अधिकांश विद्यालयमा औपचारिकता पूरा गर्न कम्प्युटर विषय राखिए पनि शिक्षक नहुँदा विद्यार्थीले न त यसको व्यवहारिक ज्ञानको लाभ लिन पाएका छन् न त विद्यालयले सोचे अनुसारको नतिजा दिन सकेको छ। कतिपय अवस्थामा कम्प्युटर विषय पढाइने भनिएका विद्यालयमै कम्प्युटर नै छैनन्। यस्तै कतिपय विद्यालयमा शिक्षक अभावमा कम्प्युटरको प्रयोगात्मक सिकाइ हुन सकेको छैन। यसले विद्यालयमा कम्प्यूटर शिक्षा केवल देखावटी मात्र बनेको छ। –हिक्मतबहादुुुर नेेेपाली, अन्नपुुर्ण