चामुण्डामा ‘टोल शिक्षा’: अभिभावक र विद्यार्थी उत्साहित


 

देउराली टोलमा अध्यापन गराउँदै शिक्षक कासिराम सापकोटा, तस्बिर: सिटलपाटी

सुर्खेत । दैलेखको चामुण्डा माध्यमिक विद्यालयले टोल शिक्षा संचालन गर्न सुरु गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं ३ हाडाकोटस्थित विद्यालयले वर्तमान कोभिड-१९ को जोखिमपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाएर शिक्षण सुरू गरेको हो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासका बारण गएको चैतदेखि देशका सम्पूर्ण शैक्षिक संस्थाहरू ठप्प छन् । जसले गर्दा विद्यार्थीहरूको सिकाइ पनि रोकिएको छ । कतिपय स्थानमा रेडियो, टेलिभिजन र अनलाइन बाट बैकल्पिक शिक्षा लिन सरकारले आग्रह गरेपनि चामुण्डाबिन्द्रासैनी नगरपालिकामा उक्त सिकाइ प्रणाली सम्भव छैन् । सोही परिस्थितिलाई मध्यनजर गर्दै चामुण्डा माविले शिक्षकहरूलाई टोल टोलमा पठाएर शिक्षण सुरु गरेको हो ।
विद्यालयले अध्ययनरत विद्यार्थीका आधारमा छ वटा टोलमा २-२ जना शिक्षक पठाइरहेको विद्यालय व्यवस्थापन समपतिका अध्यक्ष निरकबहादुर शाहीले जानकारी दिए । ‘गएको शुक्रबारदेखि हामिले टोल शिक्षा संचालन गरेका छौं ।’ उनले भने, ‘प्रत्येक दिन २ घण्टाका दरले उहाँहरूले पढाउनुहुन्छ । गृहकार्य दिने, हस्ताक्षर सुधार गर्न लगाउने, शव्दार्थ कण्ठ गर्न लगाउनेलगायत सिकाइ गर्नुहुन्छ ।’ उनका अनुसार विद्यालयले जंगले, पल्लो जंगले, तल्लो हाडाकोट, देउराली र सोही विद्यालय गरि छ स्थानमा शिक्षकलाई कार्यविभाजन गरि पठाएको छ ।

अध्यक्ष शाहीले कक्षा १ देखि ५ सम्मको एउटा समुह र ६ देखि १० सम्मको अर्को समूह गरि अध्यापन भइरहेकोसमेत बताए ।

विद्यालयका शिक्षक तथा देउराली टोलमा अध्यापनको जिम्मेवारी पाएका कासिराम सापकोटाले बैकल्पिक शिक्षा लिदा विद्यार्थीहरू निकै उत्साहित भएको बताए । ‘लामो समयदेखि पढ्न नपाएका विद्यार्थी अध्ययनका कुरा गर्दा निकै उत्साहित छन् । दिएको कुरा पढ्छन् ।’ उनले भने, ‘अभिभावकहरू पनि निकै उत्साहित हुनुहुन्छ ।’

महिनौंसम्म विद्यालय जान नपाउदा आफ्ना सन्तानको भविष्य विग्रिने चिन्ता लागेको बताउँदै एक अभिभावकले चामुण्डा माविले टोल शिक्षा संचालन गर्दा आफू निकै उत्साहित भएको बताए । ‘छ महिनादेखि केटाकेटी स्कुल गएका छैनन् । कतै यिनिहरूले स्कुल जान र पढ्न नै भुल्छन् कि भन्ने डर लागेको थियो ।’ उनले भने, ‘आजकल टोलशिक्षा सुरू भएपछि केटाकेटीले घरमा पनि किताब हेर्न लागेका छन् । हामीलाई कोरोनाको भन्दा केटाकेटीको भविष्यको चिन्ता छ ।’