नयाँ शक्तिद्वारा डा.केसीको अनशनलाई समर्थन, नेता कार्यकर्तालाई सरकार विरुद्ध संघर्ष गर्न अपिल


 

सुर्खेत – नयाँ शक्ति पार्टी,नेपालले प्राध्यापक डा.गोबिन्द केसी द्वारा जुम्लामा शुरुआत गरेको अनशनलाई समर्थन गरेको छ ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा गोविन्द केसी जुम्लामा अनसन शुरु गरेका छन्।उनले चन्दननाथ ६ रानिचौरमा रहेको बनबिरा मष्टोको थानको मन्दिर परिसरबाट १९ औँ सत्याग्रह शुरु गरेका हुन्।

नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र केपी शर्मा ओली सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध सत्याग्रह सुरु गरेको डा केसीले बताए।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा केसीले अनसन शुरु गरेका हुन्।