कर्णालीमा स्याउ कोशेलीमै ठिक्क, उत्पादन घट्दा मूल्य पनि बढ्यो


सुर्खेत, ३ असोज ।

स्याउको राजधानी भनेर चिनिने जुम्लामा गतवर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर योवर्ष पाँच हजार मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार उत्पादन घटेपछि स्याउको मूल्य नै बढेको छ ।

जुम्लामा अहिले प्रतिकिलो ए ग्रेडको १६०, वी ग्रेडको १५५ र सी ग्रेडको १५० रुपैयाँ तोकिएको छ । उत्पादन घटेका कारण स्याउको मूल्य अझ बढ्न सक्ने देवकोटाको भनाइ छ । त्यस्तै हुम्लामा गतवर्ष साढे १४ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । हुम्लामा पनि योवर्ष आधा उत्पादन घटेको छ । त्यस्तै गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा पनि ७० प्रतिशत स्याउ उत्पादन घटेको छ । स्याउ उत्पादन घटेपछि योवर्ष बाहिरी जिल्लामा स्याउ निर्यात नहुने जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख पञ्चलला बुढाले जानकारी दिए ।

गतवर्ष तीन हजार दुई सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको डोल्पामा पनि योवर्ष झण्डै चारसय मेट्रिक टन स्याउ मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले जानकारी दिए । कर्णाली प्रदेशका मुगु, कालिकोट, हुम्ला, जुम्ला र डोल्पामा अर्गानिक स्याउ उत्पादन हुन्छ । तर योवर्ष भने झण्डै ७० प्रतिशतले स्याउ उत्पादन घटेको छ । स्याउको फूल फुल्ने समयमा असिना पानी परेर फूल झरेपछि उत्पादनमा कमी आएको हो । जेठ बैशाखको परेको र असिना पानीका कारण स्याउ उत्पादन घटेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । ‘योवर्ष आफैमा स्याउ उत्पादन घट्ने बर्ष हो’ देवकोटाले भने, ‘जेठ बैशाखमा सितलहर र असिना पर्दा आधा उत्पादन घटेको हो ।’ उत्पादन घटेपछि गत वर्षको तुलनामा स्याउको मूल्य बढेको हो । ‘गतवर्ष किलोको ८०÷९० रुपैयाँमा बिक्री हुन्थ्यो, योवर्ष १६० रुपैयाँसम्म पुगेको छ’ उनले भने, ‘उत्पादन घटेका कारण स्याउको मूल्य बढेको हो ।’ स्याउ उत्पादन घट्दा व्यवसायिक किसान मर्कामा परेको उनको भनाइ छ ।

पछिल्लो समय जुम्लाका अधिकांश किसालने व्यवसायिक रुपमै स्याउ उत्पादन सुरु गरेका छन् । उत्पादित स्याउले मूल्य पाउने भएपछि किसानहरु अन्य खेतीपाती छोडेर व्यवसायिक रुपमा स्याउ खेतीमा लागेका हुन् । कर्णालीमा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, सुर्खेत, पोखरा र काठमाडौंसम्म लगायतका शहरमा बिक्री गरिन्छ । स्याउ निर्यातका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्टुन उपलब्ध गराउँदै आएको थियो । त्यहाँ रेड डेलिसियस, गोल्डेन, चक्लेटी लगाएतका जातका स्याउ खेती गरिदै आएको छ ।

एउटा दानाको १५ रुपैयाँसम्म

गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा यो वर्ष जिल्ला बाहिर निर्यातका लागि स्याउ छैन । ‘उत्पादन घटेपछि बाह्य जिल्ला निर्यात गर्ने स्याउ नै छैन’ जिल्ला कृषि विकास कार्यालयमा मुगुका प्रमुख पञ्चलाल बुढाले भने, ‘योवर्ष त आफन्तलाई कोशेली मात्रै भयो ।’ कार्यालयले अघिल्ला वर्षहरुमा स्याउ निर्यातका लागि चार हजारभन्दा बढी कार्टुन किसानलाई उत्पलब्ध गराउँदै आएको थियो । योवर्ष भने किसानले कार्टुनको माग नै गरेका छैनन् । स्याउ उत्पादन घटेका कारण सदरमुकाम गमगढीमा १०÷१५ रुपैयाँ प्रति दानामा स्याउ बिक्री हुँदै आएको छ । उत्पादन घट्नु र थोरै स्याउ बाहिरी जिल्लामा निर्यात गर्न नपाउँदा किसानमा मर्कामा परेका छन् ।

सडक पुगेपछि किसानले स्याउ जिल्लाबाहिर पठाउन थालेका थिए । गतवर्ष ५० हजार रुपैयाँ आम्दानी गरेकी छायाँनाथरारा नगरपालिका–५ कार्कीबाडाका जगमाया भामले योवर्ष दुईहजार मात्रै आम्दानी हुने बताउँछिन् । ‘भाउ र बजारको समस्या नभएपछि अन्नबाली छोडेर स्याउ खेतीमा लागेका थियौं,’ उनले भनिन्, ‘यसपाली उत्पादन घटेपछि घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन थालेको छ ।’ मुगुमा एकहजार ७५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । त्यस्तै हालसम्म सडक सञ्जालमा नछोडिएको हुम्लामा पनि यसपाली प्रतिदाना १० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जहाजबाट स्याय निर्यात गर्दा महंगोपर्ने भएका कारण दश रुपैयाँ दानाको स्याउ बिक्री गर्नु परेको सिमकोट गाउँपालिका वडा नं. ४ कि मालती शाहीले बताइन् ।

दुर्गमको स्याउले पाउँदैन मूल्य

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ मापर्ने रं गाउँ स्याउ उत्पादनको पकेटक्षेत्र हो । हिजोआज बगैँचाहरुमा कृषकहरुलाई स्याउ टिप्न भ्याइनभ्याई छ । त्यहाँका दुईसय २० घरधुरी रहेको ब्यवसायिक रुपमा स्याउ खेती गरेका छन् । प्रतिघर पचास देखी एक सयसम्म स्याउका बोट छन् । रंगमा मात्रै नभई सुँ, जीँउ जुफाल, डाँगीबाडा, तिप्ला लगाएतका बिभिन्न गाउँमा स्याउको ब्यवसायिक उत्पादन हुने गर्दछ । कृषकले मकै, कोदो, चिनो, फापर खेती छोडेर व्यवसायिक रुपमै स्याउ खेती गर्दै आएका छन् । तर सडक यातायातको पहुँच नहुँदा उत्पादन गरिएको स्याउले मूल्य पाउँदैन । जुफाल विमानस्थलबाट जहाजमा ढुवानी गर्दा भाडाकै चौगुणा मूल्य तिर्नुपर्छ ।

सडक मार्गबाट लैजाँदा आधा दजर्न ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले बाटोमै कुहिने गरेको कृषकले कमला बुढा बताउँछिन् । डोल्पामा उत्पादित स्याउ जिल्ला सदरमुकाम दुनै हुँदै अन्य जिल्लामा निर्यात गरिन्छ । सडकको सहज पहुँच नहुँदा बाह्य जिल्लाका कर्मचारी र सदरमुकामा व्यवसायिले कोशेलीको रुपमा स्याउ जिल्ला बाहिर पठाउने गर्दै आएका छन् । केही किसानले भने उत्पादित स्याउ स्थानीयस्तरमा बनाइएका भण्डारण पुस÷माघसम्म पनि राख्दै आएका छन् । यसरी राखिएका स्याउ दुई–चार महिनासम्म मात्र सुरक्षित राख्न सकिने कृषकहरु बताउँछन् । गाउँमा आधुनिक भण्डारण नहुँदा बर्षेनी सयौँ क्विन्टल स्याउ कुहिएर खेर जाने गरेको कृषकहरु बताउँछन् । युगन्युजबाट साभार