छ महिनापछि खुल्न थाले चामुण्डामा विद्यालय


चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं १ स्थित आनन्द माध्यमिक विद्यालयमा विद्यालय सुचारू भएको पहिलो दिन सोमबार अध्यापन गराउँदै शिक्षक । तस्बिर सौजन्य: प्रधानाध्यापक चिनबहादुर थामीमगर

दैलेख । गएको चैत ४ गतेदेखि बन्द रहेका विद्यालय खुल्न थालेका छन् । लामो समयसम्म विद्यालय बन्द रहेको र ग्रामिण इलाकामा कोरोना भाइरसको त्रास कम रहेकोले विद्यालयहरूमा पठनपाठन सुरु भएको हो ।

केही दिनअघि दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका -३ हाडाकोटको चामुण्डा माविले टोल शिक्षा सुरु गरेको थियो । तर नगरपालिकाका सरोकारवालाको वैठक तथा निर्देशनअनुसार विद्यार्थीलाई विद्यालयमै बोलाएर पठनपाठन सुरु गरिएको हो ।

चामुण्डाबिन्द्रासैनी-१ स्थित आनन्द माविले सोमबार (आजदेखि) नै पठनपाठन सुरु गरेको छ । भौतिक दुरी काय गरि स्वास्थ्य मापदण्ड पूरा गरेर विभिन्न कक्षालाई आलोपालो शिक्षण सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवन तामाङले बताए । उनका अनुसार कक्षा १० का विद्यार्थीलाई दैनिक र अन्य कक्षाका विद्यार्थीलाई आलोपालोमा अध्यापन सुरु गरिएको छ ।


त्यस्तै वडा नं १ स्थित हिमशिखर आधारभूत विद्यालय तथा हिमालय आधारभुत विद्यालयमा पनि मंगलबारदेखि अध्यापन सुरु गरिने जनाइएको छ ।
उता चामुण्डा माविले पनि केही दिनअघिदेखि सुरु गरेको टोल शिक्षालाई स्थगित गर्दै आलोपालोमा कक्षा संचालन सुरु गरेको छ ।
त्यस्तै वडा नं २ स्थित भैरव माविले पनि मंगलबारदेखि विद्यालय संचालन तयारी थालेको छ । विद्यालय व्यवस्थापन समिति र अभिभावकको बैठकको निर्णयअनुसार आलोपालोमा कक्षा संचालनको तयारी रहेको प्रधानाध्यापक कृष्ण कंडेलले बताए ।

त्यस्तै अन्य विद्यालयहरूले पनि १-२ दिनमै विद्यालय व्यवस्थापन समितिको बैठक बसि सोही निणयअनुसार विद्यालय संचालन गरिने बताएका छन् ।