जरिवानाबाटै करोडौं राजस्व


सवारी नियम पालना नगर्ने सवारी चालकहरूले वर्षेनी करोडौं रकम जरिवाना तिर्दै आएका छन् । सवारी चालक अनुमति–पत्र नबोक्ने, गलत साइडमा सवारी साधन रोक्ने लगायतका नियमहरू उल्लंघन गर्दा चालकहरू कारबाहीमा पर्ने गरेका हुन् । आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेशभर १९ हजार सात सय ६४ सवारी साधनलाई कारबाही गर्दा एक करोड ७२ लाख ६४ हजार तीन सय राजस्व उठेको हो । सवारी नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक छन् । ट्राफिक नियम विपरीत चलेका ६ हजार तीन सय १८ मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गर्दा ५६ लाख ९४ हजार राजस्व संकलन भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासियाले चालकहरूको अटेरीपनको कारण कारबाहीमा पर्ने गरेको बताए । चालकहरूलाई सवारी तथा ट्राफिक नियमबारे जानकारी हुने भए पनि प्रहरी छल्न खोज्ने प्रवृत्तिले गर्दा उनीहरू कारबाहीमा पर्ने गरेको प्रहरी निरीक्षक चौरासिया बताउँछन् । ‘अञ्जानमा भन्दा पनि ट्राफिक नियम जानाजान उल्लंघन गर्ने गरेको पाइन्छ,’ उनले भने ‘सवारी साधन चलाउँदा सुरक्षाको लागि ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने ज्ञान चालकलाई हुनैपर्छ ।’ सवारी साधनका कागजात नबोक्ने, हेल्मेट नलगाउने, ओभर स्पिड गर्ने, क्षमताभन्दा बढी भार बोक्ने लगायतका कारणले चालकहरू कारबाहीमा पर्ने गरेको भन्दै उनले चालकका यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम समेत रहने औंल्याए । आजकाे साझा बिसौनी दैनिकमा सिता वलीले समाचार लेखेकी छन् ।