सुुर्खेतबाट सवारी चालक अनुुमति–पत्र (लाइसेन्स) वितरण सुुरु


सुुर्खेतबाट सवारी चालक अनुुमति–पत्र (लाइसेन्स) वितरण गर्न सुुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतले बिहीवारदेखि स्मार्ट लाइसेन्स वितरण गर्न थालेको हो । गएको माघ ६ गतेदेखि सुर्खेतबाटै लाइसेन्स दिने प्रक्रिया थालिएको थियो । पहिलो पटक परीक्षा दिएकाहरूको सबै प्रक्रिया पूरा गरेर बिहीवारबाट लाइसेन्स वितरण गरिएको छ । सवारी अनुमति –पत्रका लागि परीक्षा दिएको नौ महिनापछि लाइसेन्स वितरण गरिएको हो ।

योसँगै अब कर्णाली प्रदेशका नागरिकले सवारी लाइसेन्स लिनका लागि अर्को प्रदेश जानुपर्ने बाध्यता टरेको छ । यसअघि प्रदेश नं. ५ को नेपालगन्ज गएर लाइसेन्स लिनुपर्ने बाध्यता रहेको थियो । कार्यालयले लाइसेन्स वितरण गर्ने अनुुमति पाए पनि कर्मचारी तथा पूर्वाधारको अभावले वितरणमा ढिलाइ हुँदै आएको थियो । पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण पनि लाइसेन्स वितरणमा केही ढिलाइ हुन गएको कार्यालयका निमित्त प्रमुख आनन्द चपाईंले बताए ।

उनले अबदेखि सुुर्खेतबाटै नियमित लाइसेन्स वितरणको काम हुने उनले जनाए । हाल ६ सय ५९ जनाको स्मार्ट लाइसेन्स तयार भएको छ । यहाँबाट लाइसेन्स वितरण गर्न थालिएपछि अब राजस्व पनि यहीँ संकलन हुनेछ । पहिलो लटमा ६ सय ५९ लाइसेन्सको नौ लाख २७ हजार राजश्व संकलन भएको निमित्त प्रमुख चपाईंले जानकारी दिए । उनका अनुसार कार्यालयले अहिलेसम्म एक हजार आठ सय लाइसेन्सको नविकरणसमेत गरेको छ ।

२०७० पुस १४ गते यातायात व्यवस्था इकाई कार्यालयको रूपमा स्थापना भएको उक्त कार्यालय २०७५ भदौ २१ गते यातायात व्यवस्था सेवा कार्यालय र एक वर्षअघि यातायात व्यवस्था कार्यालयमा स्तरोन्नति गरिएको थियो । कार्यालयबाट रुट परमिट, लाइसेन्स, सवारी नवीकरण, सवारी जाँचपास लगायतका कामहरू हुँदै आएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगरका गिताञ्जली पुरीलाई लाइसेन्स प्रदान गर्दै लाइसेन्स वितरणको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री शाहीले सुुर्खेतमै स्मार्ट लाइसेन्स तयार गर्ने गरी प्रक्रिया अघि बढाइने बताएका छन् । सुर्खेतबाट लाइसेन्स वितरण गरिने भएपनि यहाँ स्मार्ट लाइसेन्स छाप्ने मेसिन छैन । सबै प्रक्रिया पूरा गरेर लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग काठमाडौँमा पठाउने गरिएको छ ।