भयावह सडक दुर्घटना: एक वर्षमा दुई सय ३६ दुर्घटना, ९७ जनाको ज्यान गयो


कर्णाली प्रदेशमा मुख्यतया मानवीय त्रुटिका कारण घट्ने सडक दुर्घटनाको अवस्था भयावह छ । हरेक दिनजसो सडक दुर्घटनामा परी यात्रुहरूको ज्यान जाने गरेको हो । प्रदेशमा गएको आर्थिक वर्ष २०७६÷०७७ मा भएका दुई सय ३६ दुर्घटनामा ९७ जनाको ज्यान गएको छ ।
जीर्ण सडक, चालकको लापरबाही र यात्रुले सावधानी नअपनाउनु दुर्घटनाको कारक भएको तथ्याङ्कहरूले देखाएका छन् । अनुमति नदिइएका सडकमा सवारी चलाउनु, मर्मतमा सम्बन्धित निकायले चासो नदिनु तथा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम कम हुन नसकेको हो । सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टाछुट्टै सडक छैनन् । बढ्दो सडक अतिक्रमण जस्ता कारणले पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ ।

२०७७ को साउन महिनामा प्रदेशभर २१ वटा दुर्घटना भएकोमा पाँच जनाको ज्यान गयो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनमा सुर्खेतमा चार, दैलेखमा नौ, सल्यानमा तीन, रुकुम–पश्चिममा एक, जुम्लामा तीन र कालीकोटमा एक वटा दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी सुर्खेतमा तीन, दैलेखमा एक र जुम्लामा एक जनाले ज्यान गुमाए । साझा बिसौनी दैनिकमा खबर छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासियाले सवारी दुर्घटना हुनुका थुप्रै कारणहरू रहेको औंल्याए । ट्राफिक नियमको उल्लंघन नै सवारी दुर्घटनाको प्रमुख कारण भएको उनी बताउँछन् । ‘कर्णालीमा सडकसमेत राम्रो छैन,’ उनले भने ‘ट्राफिक नियमको पालना नगर्दा झनै दुर्घटना निम्तने गरेको छ ।’

त्यस्तै २०७६ कै भदौ महिनामा प्रदेशभर २५ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा सुर्खेतमा सात, रुकुम–पश्चिममा चार, जुम्लामा एक र कालीकोटमा एक जना गरी १३ जनाले ज्यान गएको हो । असोज महिनामा प्रदेशभर ३३ सवारी दुर्घटना भएकोमा चार जिल्लाका ११ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी सुर्खेतमा ६, सल्यानमा दुई, दैलेखमा दुई र कालीकोटमा एक जनाले ज्यान गुमाएका हुन् । कर्णालीमा अधिकांश सडक कच्ची र जीर्ण छन् । बर्खायाम यस्ता सडक थप बिग्रने हुँदा दुर्घटनाको जोखिम पनि बढ्ने गरेको छ । सोही वर्षको कार्तिकमा आठ जिल्लामा २० वटा दुर्घटना भएकोमा पाँच जिल्लाका आठ जनाले ज्यान गुमाएका थिए । सबै खाले सवारीहरू दुर्घटनामा पर्ने भए पनि अधिकांश भने यात्रुवाहक सवारी छन् । जसले गर्दा मानवीय क्षतिसमेत ठूलो हुने गरेको हो ।

प्रहरीका अनुसार गत आर्थिक वर्षको मंसिर महिनामा प्रदेशका पाँच जिल्लामा २१ वटा सडक दुर्घटना भएका थिए । जसमा चार जिल्लाका १२ जनाले ज्यान गुमाए । उक्त दुर्घटनाबाट सुर्खेतका दुई, सल्यानका एक, दैलेखका तीन र हुम्लाका ६ जनाले ज्यान गुमाएका हुन् । पछिल्लो महिना पुसमा दुर्घटनाको संख्या झनै बढ्यो । पाँच जिल्लामा ३१ वटा सडक दुर्घटना भए भने चार जिल्लाका पाँच जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै, माघमा दश जना, फागुनमा १४ जना र चैतमा चार जनाको सडक दुर्घटनामा परी ज्यान गएको थियो । गएको आर्थिक वर्षकै वैशाख महिनामा प्रदेशभरका पाँच जिल्लामा १७ वटा दुर्घटना भएका थिए । यो महिना भने मानवीय क्षति कम भएको थियो । वैशाखमा भएका उक्त दुर्घटनामा एक जनाको मात्रै मृत्यु भएको थियो । विभिन्न सडक दुर्घटनामा जेठमा नौ र असारमा पाँच जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

गत चैत महिनादेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण पनि झण्डै चार महिना अत्यावश्यकबाहेकका सवारी गुडेनन् । सवारी साधनको चाप कम हुँदासमेत दुर्घटनाका घटनामा भने कमी आउन नसकेको हो । प्रत्येक वर्ष दुर्घटनामा यति ठूलो संख्यामा जनधनको क्षति हुँदा पनि दुर्घटना न्यूनीकरणका क्षेत्रमा उल्लेख्य काम भने हुन सकेको छैन । नयाँ खोलिएका सडकहरू मात्रै होइन कर्णाली राजमार्गमा समेत दुर्घटना धेरै हुने गरेका छन् । सडकको स्तरोन्नतिमा ध्यान नदिँदा राजमार्गको यात्रा पनि जोखिमपूर्ण भएको हो ।

प्रहरीले सवारी तथा ट्राफिक नियमबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ती कार्यक्रम पनि प्रभावकारी भने हुन सकेका छैनन् । दुर्घटनाको कारक सडक मात्र नभइ चालक तथा यात्रुहरूको लापरबाही पनि उत्तिकै छ । कर्णालीमा दुर्घटनाको स्थिति भयावह हुँदा यसलाई नियन्त्रण गर्न प्रभावकारी प्रयासहरू हुन सकेको छैन ।