नगर अस्पताल बनाउँदै वीरेन्द्रनगर


सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल बनाउन लागेको छ। वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल सञ्चालनका लागि तयारी गरिएको छ। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार कटकुवा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो।

लामो समयदेखि सुर्खेत जिल्ला अस्पताल सञ्चालन गरिएकामा पछिल्लो समय स्वास्थ्य चौकीका रुपमा सञ्चालन हुँदै आएको थियो। सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि भएर तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरवृद्धि भएपछि उक्त स्थानमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकार स्थापना भएपछि प्रदेश अस्पतालका रुपमा सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेश राजधानी भएको नगरपालिकामा हाल कोरोनाका बिरामीहरु बढ्न थालेपछि तत्काल कोरोनाका बिरामीहरुको व्यवस्थापन गर्न आइसोलेसनका रुपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा पाँचदेखि १५ श्ययाको नगर अस्पताल बनाएर सञ्चालन गरिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए।

वीरेन्द्रनगरको सिटी बसपार्कमा सञ्चालित आइसोलेसनलाई सारेर कटकुवा स्वास्थ्य चौकीमा आइसोलेसन राख्ने तयारी भएको उपप्रमुख  माेहनमाया ढकालले बताइन्। उनका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल ४० श्ययाको आइसोलेसन अस्पताल बनाउनेछ । कटकुवा स्वास्थ्य चौकीको भवन निर्माणको काम सकिएकाले बसपार्कमा बनाएको आइसोलेसनलाई सारेर कटकुवामै आइसोलेसन अस्पताल सञ्चालन गरिने छ । बिरामीको चाप बढेपछि नगरपालिकाले वीरेन्द्रनगरको सिटी बसपार्कमा अस्थायी आइसोलेसन बनाएको थियो ।

नयाँ बसपार्कमा चलिरहेको कोरोना सङ्क्रमित राख्ने आइसोलेसन अस्पताललाई कटकुवा सारेर तत्काल कोरोना अस्पताल बनाउने र कोरोना नियन्त्रणपछि नगर अस्पतालका रुपमा पूर्वाधार विकास गरिने नगरपालिकाले जनाएको छ । सिटी बसपार्कको आइसोलेसनलाई कटकुवा सारेपछि मङ्गलगढीमा रहेको अस्थायी बसपार्कलाई सिटी बसपार्कमा सारेर सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ।रासस