नेपालमा मानव संसाधनको बर्तमान अबस्था


गोकर्ण रिजाल

सामान्यतया मानव संसाधनका बारेमा जानकार नै छौं।मानव संसाधन भन्नाले कुनै पनि सरकारी तथा गैरसरकारी संगठनका क्रियाकलाप संचालन गर्नका लागि आवस्यक पर्ने सीपवान,ज्ञानवान तथा क्षमतावान जनशक्तिलाई बुझ्नुपर्दछ।

तथापि कुनै पनि संगठनको लक्ष्य प्राप्तीका लागि मानव संसाधनलाई मेरुदण्डका रुपमा लिइन्छ।संगठनको आफ्नो लक्ष्य,संगठनले सम्पादन गर्ने क्रियाकलापअनुसार फरक-फरक ज्ञान,सीप र क्षमता भएका जनशक्ति संगठनमा भर्ना गर्ने गर्दछन।मानव संसाधन ब्यबस्थापनको बास्तबिक सिद्धान्तलाई अवलम्बन गर्ने हो भने जनशक्ति संगठनको लक्ष्य र सम्पादन गरिने क्रियाकलापको आधारमा भर्ना गर्नुपर्दछ।

नेपालमा मानव संसाधन ब्यबस्थापन सम्बन्धि कार्य प्रभावकारी ढंगबाट अघि बढ्न सकेको देखिदैन।नेपाल आर्थिक,शैक्षिक,व्यावसायिक तथा राजनैतिक अबस्थामा एक कमजोर मुलुक हो।ब्याबसायीक तथा प्राबिधिक वातावरणमा आउने परिवर्तनलाई नेपालका संगठनहरुले सहज रुपमा स्वीकारेको तथा अंगाल्न सकेको अवस्था देखिदैन।त्यसैले होला नेपालका संगठनहरु कर्मचारीको अव्यवस्थित भर्ना, श्रमिक सम्बन्ध तथा आचारसंहिता जस्ता बिषयसङ्ग मात्र सीमित छन।अझै पनि साच्चिकै मानव संसाधन ब्यबस्थापनलाई प्रयोग गर्न सकेको अबस्था देखिदैन।तथापी नामले मात्र मानव संसाधन ब्यबस्थापन भनिए तापनी अधिकांश निकायले परम्पराबादी शैलीबाट जनशक्ति ब्यबस्थापन गरेको पाइन्छ।परिणामस्वरूप नेपालका संगठनहरुले अपेक्षाअनुसारको कार्यसम्पादन गर्न सकेका छैनन।
बर्तमान अबस्था:
 नेपालजस्तो गरिबी तथा बेरोजगारीले जडा गाडेको देशमा कुनै संगठनले कर्मचारी पदपूर्तिका लागि आबेदन आह्वान गर्दा लाखौं सङ्ख्यामा सीमित पदका लागी दरखास्त दिनेको भीड लाग्ने गर्दछ।कमजोर मानव संसाधन ब्यबस्थापन योजना र कर्मचारी छनोट प्रक्रियामा नातावाद,कृपाबादले गर्दा संगठनहरुमा क्षमतावान जनशक्ति बिलिन भएका छन।अर्कातिर राजनीतिक हस्तक्षेपका कारण आफन्तवादले जडा गाडेको हाम्रो देशमा छोरो,भतिजो,साला र सम्धी प्रथाले अझ त सरकारी तथा सरकारी स्वामित्वमा संचालित निकायहरुको बिश्वासनीयतामा नै प्रश्न उठ्न थालेको छ।
नेपालमा कुन संगठनका लागि कस्तो जनशक्ति र कुन समयमा कस्तो जनशक्ति आवश्यक पर्दछ भन्ने कुराको पहिचान र पुर्वानुमान गर्न सकेको छैन।प्राय नेपालका संगठनहरुमा संचालन गरिने प्रशिक्षण तथा तालीम कार्यक्रम बिनियोजित बजेट खर्च गर्नमा मात्र सीमित रहेको कुरा हामीलाई अबगत नै छ।
शैक्षिक प्रणाली सैद्धान्तिक ज्ञानमा मात्र आधारित भएको कारण कार्ययोजनाको लागि आवश्यक ज्ञानका लागि सीमित तालीममा मात्र भर पर्ने अबस्था छ।अत:तालिम,प्रशिक्षण कार्यक्रमहरु बिनियोजित बजेट खर्चमा मात्र सीमित छ्न।
 संगठनको लक्ष्य प्राप्तिका लागि कर्मचारीलाई उचित किसिमबाट कार्यसम्पादनका लागि प्रेरित गर्नुपर्दछ।यसका लागि उत्प्रेरणा,नियन्त्रण,नियमन,पुरस्कार र अनुशासन आदि आवश्यक पर्दछ तर नेपालमा कर्मचारीतन्त्रमा हुने राजनीतिक प्रभावले दिइने उत्प्रेरणा पनि गलत ब्यक्तिले पाउने र सक्षम कर्मचारी निराश हुने अबस्था छ।तथापि नेपालका संगठनहरुमा कार्यसम्पादन मुल्यांकन एक औपचारिकतामा मात्र सीमित छ।
नेपालका प्रायः संगठनमा कार्यरत जनशक्तिले आफ्नो सामान्य जीबिका चलाउनका लागि पनि पर्याप्त पारिश्रमिक पाएको देखिदैन।संगठनमा आबद्ध जनशक्ति आफ्नो रोजगारीको सुरक्षाको आशाले संलग्न भएका हुन्छन् तर तिनीहरू संगठनप्रती त्यति सन्तुष्ट भने देखिदैनन।कतिपय सरकारी तथा सरकारी स्वामित्वका संस्थानहरुमा स्वेच्छिक अबकाशको योजना लागू गरिएको छ जसले गर्दा अनुभवी,गुणस्तरयुक्त तथा दक्षजनशक्ति दिनप्रतिदिन पलायन हुने समस्या देखिन्छ।त्यसैगरी गलत कार्ययोजनाले गर्दा थुप्रै रकमको दुरुपयोग हुने र असल कर्मचारी संगठनले गुमाएको तितो अनुभव नेपालका कतिपय सार्वजनिक संस्थानसङ्ग रहेको छ।
पछिल्लो बर्षहरुमा नेपालमा पनि मानव संसाधन ब्यबस्थापनलाई महत्त्वका साथ हेरिदै आएको छ।नेपालमा संस्थागत तथा नीतिगत ब्यबस्थामा मात्र मानव संसाधन ब्यबस्थापन नरही ब्यबहारिक र कार्यान्वयनमा आधारित ब्यबस्था स्थापित गराउन सकेमा मात्र मानव संसाधनलाई ब्यबहारिक ढंगबाट ब्यबस्थापन गर्न सकिन्छ।

अन्तमा निजी स्वार्थ तथा नाताबाद,कृपाबाद तथा आफन्तबादलाई नहेरी सरकारी तथा सोको स्वामित्वमा रहेका निकायमा जनशक्ति ब्यबस्थापन गर्दा कार्यसम्पादनमा आधारित मानव संसाधन योजना लागू गराउन सकेमा संगठनले आफ्नो लक्ष्य प्राप्ति र संगठनलाई ब्यबस्थित रुपमा स्थायित्व दिन सकिन्छ।यसका साथै मानव संसाधन ब्यबस्थापनलाई राजनीतिक दबाबबाट टाढा र स्वच्छ प्रतिस्पर्धामा आधारित जनशक्ति भर्ना,छनोट तथा सामाजिकीकरण योजना लागू गरेमा मानव संसाधन ब्यबस्थापनलाई प्रभावकारी,सफल,मितब्ययी र ब्यबस्थित गर्न सकिन्छ।