७ मिनेट समय लाग्ने बाटोमा हेलिकोप्टर, १०० पोल ढुवानी गर्न १० लाख खर्च


कोरोना महामारीले स्थानीय जनशक्ति गाउँघरमा प्रशस्त मात्रामा उपलब्ध हुँदा पनि हुम्लाको खार्पुनाथ गाउँपालिका २ रायाको बिजुली निर्माण उपभोक्ता समितिले हेलिकप्टरबाट १०० थान बिजुलीको पोल सार्नका लागि प्रतिपोल १० हजार ढुवानी भाडा खर्च गरेको छ ।

नेपालञ्गजबाट सिमकोटसम्म हवाईसेवाबाट र सिमकोटबाट खार्पुनाथसम्म गाडीबाट ढुवानी गरिएको रायामा निर्माणाधीन अवस्था रहेको लघुजलविद्युतका पोलहरू ढुवानी गर्न स्थानीय जनशक्ति उपलब्ध नभएको बाहना बनाएर हेलिकप्टरबाट सात मिनेट लाग्ने बाटोका लागि प्रतिपोल १० हजारका दरले ढुवानी गर्दा १०० पोलको १० लाख रुपैयाँ खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढाले बताए । उनले भने, ‘यसबाट हामीले १० लाख खर्च गरेको भए पनि काम अब छिटो छरितो रुपमा सञ्चालन गर्न सजिलो हुने भएको छ ।’

गाउँघरमा जनशक्ति धेरै थपिंदा विभिन्न प्रकार कामहरु खोजी रहेको अवस्थामा बिजुली उपभोक्ता समितिले यस्तो काम गरेर रोजगारीप्रतिको कामलाई वेवास्ता गर्दा स्थानीय गाउँलेहरू आफ्नो रोजीरोटी खोसिएको र उपभोक्ता समितिले मनोमानी गरेको रायाका स्थानीयहरू बताउँछन् ।

पछिल्लो समयले हिल्दुम लघुजविद्युतले सिमकोट र खार्पुनाथमा आफ्नो प्रशारण लाइन विस्तार गर्दै आएको छ । आयोजनाले लाइन विस्तारको जिम्मा स्थानीय उपभोक्ता समितिलाई दिएको हो । यसका लागि आयोजनाले समितिलाई बिजुलीको पोल, तार, जडानलगायतका लागि २५ लाख रुपैयाँ दिएको छ ।

कोरोना भाइरसका कारण गाउँघरमा जम्मा भएका युवाहरूले काम नपाएको अवस्थामा हुम्ला खार्पुनाथ गाउँपालिका २ रायाको एक उपभोक्ता समितिले ७ मिनेटको दुरीमा बिजुली पोल सार्न १०० पोलका लागि १० लाख खर्च गरेको छ ।

यसबाट स्थानीय युवाहरु आक्रोशित बनेका छन् । यस्ता असजिला सामानहरू हेलिकप्टर झुण्ड्याएर लगे पनि यसपाली भने हेलिकप्टरको ढोका खुल्ला बनाएर पोल राखी ढुवानी गरेको थियो । विद्युत आयोजनाका लागि हेलिकप्टरले मेसिन तथा अन्य गरुङ्गा सामानहरू यसरी नै ढुवानी गर्दै आएको छ । न्युजकाराेबारबाट