जुम्लामा निषेध आदेश, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ स्वास्थ्यकर्मीमा कोरोना


जुम्ला सदसमुकाम खलङ्गा

सुर्खेत- कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाममा पुनः निषेध आदेश जारी भएको छ।

एकै पटक ३६ जनामा संक्रमण देखिएपछि जुम्ला सदरमुकाममा निषेध आदेश लागू गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा छिना लाग्नासम्मको चार किल्ला तोकेर निषेध आदेश जारी गरिएको छ।

आज १५ गते (बिहीबार) दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

यसैबीच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत २७ जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमण भएको छ।

एकैपटक २७ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको अस्पालका निर्देशक डाक्टर मंगल रावलले जनाएका दिए। जुम्लामा हाल ४७ जना सक्रिय संक्रमित छन्। नेपालसमयबाट