कर्मचारी नियुक्तिमा जनप्रतिनिधिको भागबण्डा, विज्ञापन प्रकाशन नहुँदै कसलाई नियुक्त पक्का !


सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा करारमा कर्मचारी नियुक्ति गर्न राजनीतिक दलको भागबण्डा हुने गरेको पाइएको छ । गाउँपालिकामा नेपाली कांग्रेस र नेकपाका निर्वाचित जनप्रतिनिधिहरुमा कर्मचारी नियुक्ति गर्दा भागबण्डा हुनेगरेको खुलेको हो ।

गाउँपालिकामा कर्मचारी आवश्यकतासम्बन्धी सुचना प्रकाशन हुनुपुर्व नै गाउँकार्यपालिकामा निर्वाचित नेपाली कांग्रेस र नेकपाका जनप्रतिनिधिहरु तथा पार्टिका नेताहरुबिच कस कसलाई नियुक्त गर्ने भनि सहमति गरिएको रहस्यसहितको प्रमाण बाहिरिएको हो । केहिदिनअघि उक्त सहमतिपत्र सामाजिक संजालमा आएको थियो । भागबण्डा असोज ९ गते भएको उक्त सहमतिपत्रमा उल्लेख छ ।

असाेज ९ गते गरिएकाे सहमतीपत्र

कसलाई कुन पदमा नियुक्त गर्ने सहमति ?

सहमतिमा नरेश विक, प्रेमप्रकाश खत्री, एक शाही, अनिल विक, कार्यालय सहयोगी रमेश रिजाललाई नियुक्त गर्ने सहमति गरिएको छ । ल्यावमा खेमराज थापा, राजेश रिजाल, हेमलाल रिजाल, तेजबहादुर थापा, प्रवीण शाही, नरेन्द्र थापा, सुनिल शाहीको नाम कर्मचारी छनौट गर्ने गरि कर्मचारीको नियुक्तिका लागि नाम नै उल्लेख गरिएको छ ।

यी पदमा कसलाई नियुक्त गर्ने भनि नाम खुलाईएको छैन

कम्यूटर वडा नम्वर ६ मा, कम्प्यूटर अपरेटर, वडा नम्वर ७ को कम्प्यूटर अपरेटर खानेपानी टेक्निसियन र अनमी एक जना कर्मचारी नियुक्त गर्ने सहमति भएको छ । त्यस्तै सहमति पत्रमा भैरवी गाउँपालिका –७ पानी पोखरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी , महिला विकास कर्मचारी दुई जना नियुक्त गर्ने सहमति पत्रमा उल्लेख छ ।

जनप्रतिनिधिले स्विकार गरे सहमतिको कुरा
गाउँपालिकाका एकजना वडाअध्यक्षले जनप्रतिनिधिहरुबिच उक्त सहमति भएको स्विकार गरे । उनले उक्त सहमति गाउँपालिकाको डोजर र एम्बुलेन्स चालक नियुक्तिको समयदेखिको भएको बताए । निशुल्क काम गरिरहेका कर्मचारिहरुलाई नियुक्ति दिन नाम किटान गरिएको उनले दावी गरे ।

उता गाउँपालिकाका उपाध्यक्षले पनि आफुहरुले कर्मचारी नियुक्तिका लागि सहमति गरेको स्विकार गरिन् । उनले गाउँकार्यपालिकाको बैठकमा छलफलको रुपमा लैजान उक्त छलफल भएको जानकारी दिइन् । उनको दावी पनि नाम किटान गरिएका र अधिकांश अहिले निशुल्क स्वयमसेवाको रुपमा कार्यरतहरुलाई नियुक्त गरिने सहमति भएको बताइन् ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले पनि उक्त सहमति भएको स्विकार गर्दै कार्यपालिका बैठकको एजेण्डाका लागि उक्त सहमति भएको बताए ।

एक स्रोतका अनुसार करारमा कर्मचारी नियुक्त गर्दा जनप्रतिनिधिका आफन्तजनलाई यसअघिदेखि नै राख्ने गरिएको छ । गाउँपालिकामा विभिन्न पदमा अहिले जनप्रतिनिधिका परिवारका आफन्तजन कार्यरत रहेको बताउँदै स्रोतले अब पनि  जनप्रतिनिधिले आफ्ना आफन्तजन नियुक्त गर्न उक्त सहमति गरेको दावी गर्याे ।