महावु गाउँपालिकामा कोरोना खर्च २ करोड ७६ लाख


कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित जिल्ला हो दैलेख । कोरोना कहरमा सबैभन्दा धेरै युवाहरू दैलेखको महावु गाउँपालिकामा आएका छन् । पालिकाभर आएका दुई हजार ७०० युवाहरूलाई गाउँमै रोजगारी दिनेबारेमा कार्यपालिकामा छलफल भएर काम सुरु गरिएको बताइएको छ ।

महावु गाउँपालिकाले कोरोना भाइरस (कोभिड– १९)को रोकथाम तथा नियन्त्रणका लागि पालिकामा दुई करोड ७६ लाख रुपैयाँ रकम खर्च गरेको जानकारी दिएको छ । स्वास्थ्य शाखा प्रमुख रमेश दसौदीले विदेशबाट आएका युवाहरूलाई ल्याउनका लागि मात्र यातायात, क्वारेन्टाइन व्यवस्थापन, खाना खर्च, सामग्री खरिद, औषधि खरिदलगायत विभिन्न शीर्षकहरूमा उक्त रकम खर्च भएको जानकारी दिए ।

आएकामध्ये एक हजार ३९५ जनाको पीसीआर जाँच गरिएको र एक हजार ३७५ जनाको आरडीटी जाँच गरिएको छ । पालिकाभर कोरोना संक्रमितको संख्या १८९ जना रहेको भए पनि अहिले पालिकामा कुनै पनि संक्रमित बिरामीहरू नदेखिएको र विस्तारै पालिका कोरोनामुक्त हुने तयारीमा रहेको जानकारी उनले दिए ।

विभिन्न शीर्षकहरूमा भएको खर्च रकममध्ये पूरै भुक्तानी दिन नसकिएको र केही रकम उधारो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए । यस आर्थिक वर्षमा पनि कोरोनाको खर्चको हिसाब आउन बाँकी       रहेको र पहिलो चौमासिक अवधिमा खर्चको जानकारी गराउने मल्लको भनाइ छ ।

जनताको जीवन सुरक्षा गर्नु पालिकाको पहिलो कर्तव्य भएको र पालिकाका सबै निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना वडावडामा जनतालाई कोरोना संक्रमणबाट जोगाउनका लागि वडाका विद्यालय, खुला चौरलगायतका विभिन्न स्थानहरूमा क्वारेन्टाइन निर्माण गरेर जसोतसो विदेशबाट आएका मानिसहरूलाई सुरक्षित राख्ने प्रयास गरेको पालिकाले जनाएको छ ।

पालिकाले उपचार सेवा प्रभावकारी बनाउन पालिकामै २५ लाख रुपैयाँको अत्याधुनिक आइसोलेसन अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित मात्र नभएर अन्य बिरामीहरूका लागि पनि अस्पताल प्रयोगमा आएको अध्यक्ष जंगबहादुर शाहीले बताए । पालिकाखबरबाट