कर्णाली राजमार्गको ३ किलोमिटर सडक कालोपत्रे हुँदै


कर्णाली राजमार्गको कालिकोटको खाडाँचक्र नगरपालिकास्थित मान्मको जिरो प्वाइन्टदेखि सेरीघाटसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्न सुरु भएको छ । खाँडाचक्र नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय जुम्लाले तीन किलोमिटर सडकखण्ड कालोपत्रे गर्न सुरु गरेको हो ।

वर्षायाममा हिलो हुने र हिँउदमा धुलो हुने कर्णाली राजमार्गको खाँडाचक्र नगरपालिका- १ देखि २ सम्मको तीन किलोमिटर सडक सडक डिभिजन कार्यालय जुम्लाले कालोपत्रे गर्न सुरु गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘कर्णाली राजमार्ग अन्य ठाउँमा कालोपत्रे भएको भए पनि यो बीचको तीन किलोमिटर कालोपत्रे भएको थिएन्,’ उनले भने, ‘नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय जुम्लाले कालोपत्रे गर्न सुरु गरेको छ ।’

सडक डिभिजन कार्यालय जुम्लाबाट बोलपत्र आह्वान गरेर मान्म बजारको जिरो प्वाइन्टदेखि सेरीघाटसम्म तीन किलोमिटर कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष फागुनमै बोलपत्र आह्वान गरिएको तर ठेकेदारले काम ढिलाइ गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कालोपत्रे योजना भएको भए पनि लकडाउनका कारण निर्माण सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीका प्रमुख सुमन खड्काले बताए ।