सहर पढ्ने विद्यार्थी गाउँ केन्द्रित, गाउँका विद्यालयमा विद्यार्थी संख्या बढ्यो


चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं १ स्थित आनन्द माध्यमिक विद्यालयमा विद्यालयमा अध्यापन गराउँदै शिक्षक । तस्बिर सौजन्य: प्रधानाध्यापक चिनबहादुर थामीमगर

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–४ मा रहेको विश्वकुना मावी विद्यालयमा विद्यार्थीको संख्या गत बर्षको तुलनामा धेरै बढेको छ । प्रत्येक बर्षजसो झण्डै साढे तीन सय विद्यार्थी रहने उक्त विद्यालयमा हाल चार सय भन्दा बढि विद्यार्थीहरु रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढाले कोरोनाका कारण गाउँ फर्कीएका विद्यार्थीहरु गाउँमा नै पढ्न थाले पनि विद्यार्थींको संख्या बढेको बताए । ‘विद्यालयमा ५० जना भन्दा बढि विद्यार्थी थपिएका छन्,’ उनले भने, ‘२० गते सम्म भर्ना हुने भएकाले यो संख्या बढ्ने अनुमान गरेका छौँ ।’ बजार क्षेत्रमा बढ्दो कोरोनाको त्रास तथा आर्थिक अभावको कारणले गर्दा धेरै अभिभावकले गाउँमा नै बालबच्चा पढाउन थालेको उनको भनाई छ ।

यस्तै दैलेखको दुल्लु नगरपालिकामा रहेका विजया उच्च माविमा पनि विद्यार्थीहरु बढिरहेका छन् । विद्यालयका प्रधानाध्यापक केशव भण्डारीले ५० देखि एक सय जना विद्यार्थी थपिएको जानकारी दिए । थपिएकाहरु केहि सुर्खेत, नेपालगञ्ज, काठमाडौँ लगायतका ठाउँमा अध्ययनरत विद्यार्थी रहेको र केहि सोहि वरपरकै रहेको उनको भनाई छ ।

दैलेखकै चामुण्डा मावी चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ मा पनि नयाँ विद्यार्थीहरु थपिएका छन् । विद्यालयका प्रधानाध्यापक जय प्रसाद तिमिल्सिनाले यो बिचमा बाहिर अध्ययन गर्ने ५० भन्दा बढि विद्यार्थी भर्ना भएको जानकारी दिए ।

‘लामो समय सम्म विद्यालय बन्द भए र तत्काल खुल्ने अवस्था नआए पछि उनीहरु यतै भर्ना भएका छन्,’ उनले भने, ‘केहि विद्यार्थीहरु आउनै बाँकी छ । तिनीहरु आएको अवस्थामा यो संख्या बढ्ने अनुमान गरिएको छ ।’ यी विद्यालयहरुमा मात्रै नभएर कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाबाट अध्ययनको लागि सुर्खेत, नेपालगञ्ज, काठमाडौँ गएका विद्यार्थीहरु गाउँघरमै पढ्न थालेका छन् ।

भने यो संख्या झनै बढ्ने अनुमान गरिएको छ । कोरोना संक्रमणको माहामारी तत्काल नरोकिने अवस्था नभए पछि विद्यार्थीहरुलाई गाउँघरमै पढाउन थालिएको अभिभावकहरुले बताउँदै आएका छन् ।
कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकामा रहेका २६ वटा विद्यालय मध्ये एउटा मावि विद्यालयमा ६० देखि ७० जनाका दरले र प्रथामिक विद्यालयमा २० देखि २५ जनाका दरले विद्यार्थी थपिएको बताए ।

लामो समय सम्म कोरोनाको त्रास नरोकिएको र तत्कालै रोकिने अवस्था सृजना नभए पछि अभिभावकहरुले बालबालिकालाई यतै भर्ना गर्न थालेको उनको भनाई छ । ‘यसरी विद्यार्थीहरु आफ्नै ठाउँमा भर्ना हुनु भनेको राम्रो कुरा हो,’ उनले भने, ‘हामीले अब आगामि दिनमा पछि बालबालिकाहरु कसरी गाउँघरकै सरकारी विद्यालयमा पढाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिरहेका छौँ ।

व्यवस्थित गर्न तर्फ केन्द्रीत भएका छौँ ।’ पचालझरना गाउँपालिकामा मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहहरुमा पनि विद्यार्थीहरु रोकिएको उनको भनाई छ । इनयाँनेपाल अनलाइनबाट