दशैंमा वीरेन्द्रनगरमा लकडाउन हुने


सुर्खेतः कर्णाली प्रदेशका सुर्खेत जिल्लामा अन्य जिल्लाहरुको तुलनामा कोरोना संक्रमित तिव्र रुपमा बढेका छन् । दैनिक सरदर पचास बढी नागरिकहरुमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

कर्णालीमा कोरोना पुष्टि हुनेमध्य झण्डै ९० प्रतिशत संक्रमण सुर्खेतमा फैलिएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको दैनिक तथ्याङ्कमा उल्लेख छ ।

बुधबारसम्म कर्णालीमा संक्रिय कोरोना संक्रमित अर्थात् आइसोलेसनमा रहेकाको संख्या सात सय ५१ जना छन् । यी मध्य सुर्खेतका धेरै छन् । बुधबारको तथ्याङ्कमा सबैभन्दा बढी संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् । यो संख्या तीनसय ९० छ ।
यस्तै, कर्णाली प्रदेश अस्पतालको कोभिड अस्पतालमा ७० जना, वीरेन्द्रनगरले बनाएको आइसोलेसनमा ४०, होटल आइसोलेसनमा १७, गुर्भाकोट आइसोलेसन २० र सशस्त्र प्रहरी गण बाँगेशीमलमा २० जना आइसोलेसनमा बसिरहेका छन् । यस्तै, लेकवेशीमा १३, सिम्तामा आठ, भेरीगंगामा तीन, बराहताल होम आइसोलेसनमा दुई र चिंगाड आइसोलेसनमा दुई जना छन् ।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि फेरि लकडाउन हुन्छ की भन्ने चिन्ता र चासो आम नागरिकहरुमा छ । प्रदेश राजधानी वीरेन्द्रनगरमै बढी कोरोना संक्रमित छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले जिल्लाका अन्य पालिकाहरुको तुलनामा वीरेन्द्रनगरमा बढी संक्रमित भएको देखाउँछ ।

नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल भने तीजमा अपनाइएको विधि नै अपनाउने की भन्ने छलफल भएको बताउँछिन् । ‘लकडाउन कहिलेबाट गर्ने र कति दिन गर्ने भन्ने निर्णय भइसकेको छैन्’ ढकाल भन्छिन्, ‘दशैँमा आफन्त–आफन्तहरुबिच सम्पर्क बढ्ने र त्यसले स्थिति भयावह हुन्छ की भन्ने त्रासले लकडाउन गर्नुपर्छ की भन्ने छलफलमै छौं ।’

दशैँ आउन अझै केही दिन बाँकी रहेकाले घटस्थपनासम्मको संक्रमण दरलाई औल्याएर लकडाउन गर्न सकिने ढकालले उल्लेख गरिन् । ‘तीजमा लकडाउन गर्दा संक्रमण दर भयावह हुन पाएन्, त्यहीँ मोडल दशैँमा अपनाउने तयारीमा छौं’ ढकाल भन्छिन्, ‘रोगभन्दा पर्व ठूलो नभएकाले नागरिकहरुले घरमै बसेर दशैँ मनाइदिनुहुन्छ र संक्रमण रोक्नमा साथ दिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

संक्रमणको दर सुर्खेतमा बढेपनि तत्कालै लकडाउन नै गर्नुपर्छ भन्ने निर्णय नभएको जानकारी दिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पालिकाहरुले गर्ने निर्णयमा स्थानीय प्रशासनले पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

‘नेपालीहरुको ठूलो पर्व दशैँ नजिकीदै गर्दा सरकारी कार्यालय तथा उद्योग व्यापार व्यवसाय बन्द रहने र अधिकाँश नागरिकहरु गाउँ प्रवेश गर्ने भएकाले लकडाउन गर्न आवश्यक पनि नदेखिन सक्छ’ रेग्मी भन्छन्, ‘पालिकाहरुले आफ्नो क्षेत्रमा जोखिम ठानेर निर्णय गरे भने त्यसमा प्रशासनको पूर्ण साथ रहनेछ ।हाेस्टखबरबाट