आखिर यो देशका महिला र बालिकाहरु कहिले सम्म त्रासमा बाँच्ने


बिभूषी तिमिल्सिना
जीवनका प्रत्येक क्षणमा नैसर्गिक रुपमा आफ्ना त्याग,समर्पण,स्नेह,र पवित्रभाव देखाउने नारी युगौँ-युगकी श्रद्धा हुन्। नारीले जीवनमा  छोरी,दिदी,बहिनी,पत्नी,बुहारी र आमा जस्ता नाता निभाएर परिवार चलाइरहेकी छिन्, सृष्टि बचाइरहेकी छिन् र संसार सजाइरहेकी छिन। तर आजकल, सामाजिक सञ्जालमा दिनहुँ आएका बलात्कार जस्ता महिला हिंसाका घटनाले भने मेरो मन छिया छिया पार्छ । यस्ता समाचारले पटक पटक मेरो मनलाई घोत्लिन विवश गराउँछ।

मलाई लाग्छ, हामीले त केवल मिडियामा आएका बलात्कारका घटना मात्र थाहा पाएका छौं, तर यस्ता कयौँ महिला हिंसाका घटनाहरु हाम्रो समाजमा घटिरहेका छन् – कति लुकाइएको छ, कति लुकाउन खोजिएको छ। कठै बरा,बिभत्स हत्या भएकी निर्मला पन्तले अहिले सम्म न्याय पाएकी छैनन्। निर्मला प्रकरण त केवल एउटा प्रतिनिधि घटना हो । निर्मलाजस्ता सयौँ चेली अपराधको सिकार भइरहेका छन् । हत्या, हिंसा, बलात्कार, अपहरणजस्ता दर्जनौँ आपराधिक घटना बढिरहेका छन्। गत आर्थिक वर्षमा १२ सय ४४ महिलाको बलात्कारसम्बन्धी उजुरी परेको सरकारी तथ्याङ्क छ।

महिला हिंसाबाट पिडित महिलाको न्यायको लागि नागरिकद्वारा सडक आन्दोलनदेखि चरणबद्ध संघर्षका कार्यक्रम गरिए, रिले अनसनदेखि हरेक क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराइसकिएको छ । म त एउटा सामान्य विद्यार्थी ,केवल सचेतना जगाउने प्रयत्न बाहेक अरु केहि गर्न त सक्दिन तर मैले पढे र बुझे अनुसार नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा जबरजस्ती करणीसम्बन्धी कानुनको व्यवस्था गरिएको छ । जसमा कुनै पनि प्रकारको करकाप, प्रलोभन, धम्की, करणी गरेमा घटनाको प्रकृतिअनुसार सजायको व्यवस्था गरिएको छ । दस वर्षभन्दा कम उमेरको बालिकालाई  जबरजस्ती करणी गरेको पाइएमा १६–२० वर्ष, १०–१४ वर्ष उमेर समूहको बालिकाको हकमा १४–१६ वर्ष, १४–१६ वर्ष उमेर समूहको बालिकाको हकमा १२–१४ वर्ष, १६ देखि १८ वर्ष सम्मको बालिकाको हकमा १०–१२ वर्ष र १८ वर्षदेखि माथि उमेरको महिलाको हकमा १० वर्ष सजाय तोकिएको छ।तर बिडम्बना, कानुनमा जेजस्तो लेखिए तापनि यसको कार्यान्वयनको पक्ष भने केहि अपवादबाहेक निरिह जस्तै रहेको छ भन्ने मलाई लाग्छ ।

यस्ता किसिमका अमानवीय खालका जघन्य अपराधले मेरो नेपाली समाजलाई नै भयभित, त्रासदीपूर्ण र तरङ्गित बनाएको छ । आज म जस्तै हरेक बालिकाहरु कतै आफु पनि बलात्कारको सिकार त बन्नु पर्ने होइन भन्ने डर र त्रासमा आफ्ना दिन काटिरहेका छन्। यस्ता अपराधलाई न्यूनीकरण गर्नका लागि सबैले पहल गर्नुपर्छ। हाम्रो कमजोर सामाजिक चेतना र फितलो सुरक्षा व्यवस्थालाई परिवर्तन गरेर कानुन कार्यन्वयन गर्नका लागि सरकारले ठोस कदम चाल्नै पर्छ नि ,हैन र ?

आजको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु लज्जाको विषय हो । योभन्दा लज्जास्पद पीडकलाई कानुनको दायरामा ल्याएर पिडितलाई न्याय दिलाउन नसक्नु हो । के हामी नेपाली सधैँ एक चेली बलात्कृत भएको घटना सुन्दै अनि पीडितले न्याय नपाएको हेर्दै बस्नुपर्ने हो ? आखिर यो देशका  महिला र बालिका हरु कहिलेसम्म त्रासमा बाँच्ने त  ?

(लेखिका मदरल्याण्ड मा.वि. पोखरमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन ।)