डोल्पो यात्रा: जिवनकाे एक अविस्मरणिय अनुभुती


मिति २०७७ साल असोज ८ गतेका दिन नेपालगञ्ज हुदै नेपालकै ठुलो जिल्ला डोल्पा जाने अनुमति प्राप्त भयो । डोल्पा जिल्लामा पाइला टेक्नको लागि PCR Report अनिवार्य चाहिने रहेछ ।

नेगेटिभ PCR रिपोर्ट सहित ७ गते बिहान ८:३० बजे तिर हामि तिन जना अर्थात् अन्जु मिस, बासुकला र मैले नेपालगञ्जको यात्रा तय गर्यौ । नेपालगञ्ज १ बजे तिर पुगियो र खाना खान होटेल तर्फ लाग्यौ। खाना खाई सकेपछी हिनियो डिभिजन वन कार्यालय, बाँके तर्फ ।

त्यहाँका कार्यालय प्रमुख आदरणीय गुरु राजु क्षेत्री सर, टेक नेपाली दाजु, नबराज  शाही दाजु लगायत कार्यालय परिवारको न्यानो आथित्य सहितको दिउसको खाजा कार्यालय प्रमुखको क्वाटरमा खाइयो र  साँझको खाना पनि निवासमै गर्ने तय भयो ।

बस्नको लागि भने नेपालगञ्ज न्युरोडको होटेल कल्पतरु लर्ड्स इन् मा सम्पर्क भइसकेको थियो । साँझको खाना खाई सकेपछी हामी ३ जना होटेलमा फर्क्यौ । भोलिपल्ट यति पानि पर्यो कि प्लेन उड्ने सम्भावना नै थिएन, मौसम अझै २ दिन सक्रिय रहने थियो, बिगत २ दिन देखिका यात्रु यतै अलपत्र परेका थिए, तारा एअरका स्टेसन म्यानेजर दिलिप कार्कीसंग निरन्तर सम्पर्क भईरहेको थियो, प्लेन आज पानि क्यान्सिल भयो, भोलि पनि सम्भावना छैन, १-२ दिन कुर्नु पर्ने हुनसक्छ, उहाको एकोहोरो जवाफ थियो यो ।

यस्तै अवस्था रहे चाडोमा ९ गते मात्र दुनै पुगिने भैयो, एरपोर्ट बाहिरको रेस्टुरेन्टमा बिहानको ब्रेकफास्ट खादै यस्तै यस्तै गफ गर्दै बसियो, बैकल्पिक उपाएहरुको समेत खोजि हुन थाल्यो । ८ गते नै गाडीमा रुकुमको राडी सम्म जाने  र गाडी फेर्दै फेर्दै जाने वा प्लेन नै कुर्ने ? या ९ गते टिकेट कन्फर्म भए बिहानै सुर्खेत बाट हिड्ने, यी र यस्तै विकल्प सोच्दै भाटभटेनीमा अलि अलि किनमेल पनि गरियो र खाना खाएर पुन सुर्खेतको यात्रा तय गरियो ।

डोल्पा जाने उदेश्यका साथ असोज ७ गते नेपालगञ्ज हिडेको टोलि ८ पुनः गते सुर्खेत फर्कियो ।८ गते बेलुका न्यास्रो अनुहार लिएर पुन सुर्खेत फर्कदाको पिडा, भो कुरै नगरम? त्यसपछि सुरु भयो मेरो एकल बैकल्पिक मार्गको खोजि किनभने अन्जु मिस र बासुकला सरको अलि कुर्न परे कुर्ने तर प्लेन भन्दा अर्को विकल्प थिएन, म भने मोटरसाइकलमा भए पनि एकै दिनमा दुनै पुग्ने सुरमा थिए किनभने अघिल्लो टोलि असोज ६ गते नै दुनै पुगेर हामीलाई कुरिरहेको थियो ।

 अघिल्लो टोलीले हामीलाई कुरोस पनि कति? टोलिले ८ गते फोक्सुन्डोको यात्रा तय गरेको खबर थियो, यो हिसाबले टोलि ९ गते फोक्सुन्डो ताल छेउको रिग्मो गाउँ पुग्ने निश्चित थियो । यता म भने अघिल्लो टोलीलाई फोक्सुन्डोमा कसरि भेटाउने भन्ने ध्याउन्नमा मात्र थिए।२०७७ साल असोज ८ गते बेलुका सुर्खेत पुगिसकेपछि बैकल्पिक मार्ग/साधनको खोजि गर्ने क्रममा जुम्लाकै भाई उत्तम उपाध्यायको मोबाइलमा घन्टी बजाउन पुगेछु, भाईले पनि एकै शब्दमा हुन्छ भनिहाले, काम बनिगयो ।

भाईले पनि भर्खर किनेको एक्स-पल्स २००, १६०० किमी मात्र गुडेको मोटरसाइकल ल्याएर मकहाँ आइहाले । मैले पनि सरप्रेजिंग शैलीमा भाईको के छ विचार? जाने हो डोल्पा सोधे, तिम्रो कार्यालय प्रमुखलाई म अनुरोध गर्छु भने, उत्तिनै खेर भाईको का.प्र. सँग कुरा भई अनुमति पनि आइगो।भाइ पनि एकछिन अकमक्क परे र डोल्पा जाने निर्णय गरे।

यतिबेला सम्म रातिको लगभग ७ बजे सकेको थियो, हतारहतार मोटरसाइकलको ट्यांक फुल गर्न हिनियो पेट्रोल पम्प । त्यसपछि भाईको कोठामा गई भएका जे छन् लुगा पोको पारि त्यो रात संगै सुत्ने र भोलि बिहान ५ बजे नै हिड्ने निर्णय गरियो । दुई भाइका लुगा (भोलिपल्ट लगाउने बाहेक) ८५ लिटरको एउटै झोलामा खादियो र खाना खाई सुतियो।म अघिल्लो दिन नेपालगञ्जमा राम्रोसंग ननिदाएकोले भुसुक्कै सुतेछु । भोलि बिहान अर्थात् ९ गते ४:३० बजे उठियो र चना अन्डा दाबेर दैनिक नित्यकर्म गरि ५:२० तिर गन्तब्य तिर लागियो…………

 

दिन १ : सुर्खेत-दुनै

२०७७ साल असोज ९ गतेबाट सुरु भयो उपल्लो डोल्पाको यात्रा, बिहानै झोला मोटरसाइकलको पछाडी बाँधेर सवारी धनिलाई पछाडी नै राखी मोटरसाइकल आफै चलाउने निर्णय गरे, साढे ५ बजे तिर २ सदस्यीय टोलि ह्युइकियौ डोल्पा सदरमुकाम दुनै तर्फ । कान्ति राजपथको भेरी पुल हुँदै छिन्चुबाट पुर्वतर्फ मेहेलकुनाबाट सल्लीबजार पुगियो । त्यहाँ मोटरसाइकलको चेनमा मोबिल हालेर झोलालाइ थप कस्न एक डोरी पनि किनियो। त्यहाबाट डिभिजन वन कार्यालय, जाजरकोटका कार्यालय प्रमुख आदरणीय महेश दाजुलाई हामि जाजरकोट आउदैछौ, भेटघाट गरेर अगाडी बढ्ने कुरा भयो, दाजुले बिहानको खाना वहाँकै निवासमा संगै खाने प्रस्ताव राख्नु भयो, हामीले सहमति नजनाउने कुरै भएन। २०६७/०६८ सालमा जाजरकोट जाँदा देखेको सल्लीबजारको मुहारमा अलि चमक थपिएको भने पक्कै थियो, उतिबेला गाडी फेरीमा हालेर भेरी तरेको झल्झली सम्झे अनि उतिबेलाका सहयात्री छेकुवा र बलेलाई नसम्झिने त् झन् कुरै भएन । उतिबेला भर्खर बाटोको ट्रयाक खोलिएको थियो भने आजभोली त बाटो कालोपत्रे भैसकेछ ।  छारे खोला (हाल छेडा खोला) मा उबेला एउटा तुईन थियो त्यो नि बिग्रेको भएर खोला तरेर गएको, बलेले मलाई बोकेर खोला तारेको दृश्य झल्झली सम्झिदै आजभोली त् त्यै हेपिएको खोलामा २ ओटा पुल (एक बेली, एक पक्कि), मोटरसाइकलको गति धिमा गर्दै सबकुरा सम्झदै गए, उत्तम भाई भने छक्क परेको थियो, मैले अब यस्तो ठाउँ आउछ भन्छु ठिक त्यहि ठाउँ आउछ ।यसरि रमाउदै रमाउदै सवा ९ बजे त जाजरकोट पुग्यौ ।

अघिल्लो दिनको पानीले भत्किएको खलंगा नजिकैको जाजरकोट बसपार्कबाट ३०० मिटर अगाडी बाटो मर्मत भैरहेकोले बैकल्पिक बाटो खोज्नुपर्ने भयो । बाटोमा तलबाटै जाली भर्नुपर्ने भएकोले समय लाग्ने भयो, लगभग ४५ मिनेट यताउता गर्दा बितिगो, बाटो बिग्रेकोले हामि तलबाट नै जानु पर्ने भयो, भेट हुन नसक्ने भयो भनेर महेश दाजुलाई जानकारी गराए, खाना पाकिसकेको थियो । फेरी मान्छेलाई बुझ्दा तलको बाटो (जाजरकोट पुग्नु भन्दा ५ किमी यताबाट डोल्पा जाने बाटो छुट्छ) पानि परेकोले हिलो छ, जान नसकिने बताएपछी, पुन अरुले बसपार्क छेउको उकालोबाटो हुदै बजारको बीचबाट सानो गल्लि, कसैको आँगन हुदै भत्किएको ठाउँ भन्दा अलि अगाडी पुगिने बताए । सोहि गर्ने निर्णय गरियो र पुगियो पानि ।

फेरी महेश दाजुलाई फोन गरि हामि आउने भयौ भनि जानकारी गराए, र सोध्दै कार्यालयमा पुगियो, अलि वर सम्म हामीलाई लिन एकजना स्टाफ पनि पठाईदिनु भएको थियो । निवासमा पुगिसकेपछी फ्रेस भएर खाना खाइयो, फर्किदा एक दिन जाजरकोटमै बस्ने गरि आउनु भनेर दाजुले हामीलाई बिदा दिनुभयो र हामि त्यहाँबाट निस्किदा ११ बजिसकेको थियो । मोटरसाइकललाई अलि यता चौरमा पार्क गरेका थियौ, थप ३ लिटर पेट्रोल हालेर र २ लिटर पानि बोकेर टोलि ओरालो झर्यो । १२ नबज्दै जाजरकोटको रिम्नाको पक्की भेरी पुल तरेर रुकुम पश्चिमतिर छिरियो, ११:५० मा सोहि पक्कि पुलमा २ वटा फोटो खिच्यौ । जाजरकोटबाट ५ मिनेट ओरालो झरिसकेपछी कच्ची बाटो सुरु भएको रिम्नामा २५ मिटर पिच भएको देखियो । भेरी पुल क्रस गरिसकेपछिको बाटो भने सबै कच्ची, हिलो, खोला, झुलुंगे पुल, कैले रुकुम कैले जाजरकोट । बाटो यति रमाइलो थियो कि कैले फोटो, कैले भिडियो नखिची नहुने । जाजरकोटमा पर्ने छहरे झरनाले त लगभग १५ मिनेट खाइदियो ।


पहाडमा बाटोको दुरी समयले नाप्ने हुँदा बाटो, लाग्ने समय सोध्दै अगाडी बढियो । रुकुमको राडी पुग्ने बेला मजाको झुलुंगे पुल हुँदाहुदै खोलामा (बाटोको सबभन्दा तर्न आँट गरिने ठुलो खोला) मोटरसाइकल हालियो, पुरै खोला तरीसकेपछी छेउमा मोटरसाइकल साइलेन्सर भएतर्फ नै पल्टियो, हतारहतार दोस्रो प्रयासमा एक्लै उठाएर ( भाई पुलबाट जाने भनेर ओर्लिसकेका थिए, वारीबाट हेर्दै थिए) स्टार्ट गरि पुन उकालो चढाए । धन्न साइलेन्सरमा धेरै पानी पस्न पाएन, अगाडी राडीका मान्छेले गालि गरे, पुल थियो नि किन खोलामा हालेको भने । पुन बाटो सोधेर हामि दुईजना दुनै तर्फ अगाडी बढ्यौ । लगभग ४:३० बजे तिर डोल्पाको खदांगको पुल तरेर आउने बजारमा प्रहरी चौकी रहेछ, PCR रिपोर्ट सहित सबै विवरण टिपाएर त्रिपुराकोट हुदै साँझ साढे ६ बजे तिर दुनै पुगियो ।दुनैमा डिभिजन वन कार्यालका प्रमुख आदरणीय काका जितेन्द्र महत, भगवती आन्टी, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष गोर ब. बुढा दाजु संग भलाकुसारी गरियो । भोलिपल्ट अर्थात् १० गते निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले हामीलाई स्वागत कार्यक्रम राखेको जानकारी पाए, तर हामीलाई नै भनेर २ दिन देखि फोक्सुन्डोमा पर्खेको टोलिलाई १० गते जसरि पनि भेट्टाउनु थियो, त्यै भएर स्वागत कार्यक्रमलाई अब माथीबाट फर्केपछी भनेर गोर दाजुलाई भने; यात्रामा यस्तो हतार गर्नु हुदैन, लामो बाटोको यात्रा गरेर आएको भोलि एकदिन यतै आराम गर्नुपर्छ भनेर सबैले सुझाब दिनुभयो, तर हामि सक्ने भए त्यै राति नै फोक्सुन्डो पुग्ने लक्षमा थियौ । सबैसंग फोक्सुन्डोको बाटोको बारेमा जानकारी लियौ, सबैले त्यहाँ पुग्न २ दिन लाग्ने जानकारी गराउनु भयो, हामीलाई भने एकै दिनमा पुग्नु थियो । हामि भने सके पुग्ने, नसके भोलि बिहानै सबेरै रिग्मो पुग्ने सोचमा थियौ । त्यो साँझ का.प्र. को  निवासमा खाना खाएर नजिकैको हाम्रो होटलमा आराम गर्यौ ।

 दिन २ : दुनै-फोक्सुन्डो ताल

असोज १० गते बिहान साढे ५ बजे तिर फोक्सुण्डोको यात्रा तय गरियो । सुलिघाट हुदै खोलै खोला तेर्सो बाटो भएर ६ बजे निकुन्ज कार्यालयको बोर्डमा फोटो खिची हामी अगाडी बढ्यौ, निकुन्ज कार्यालयमा कोहिपनि नउठेको भएर होला इन्ट्री गर्ने ठाउमा कोहि हुनुहुन्न थियो ।


निकुन्जका रेन्जर आदरणीय अक्षय दाजु त अघिल्लो टोलिसंग फोक्सुण्डोमै हुनुहुन्छ भन्ने खबर पाएका थियौ । हामीलाई त्यो दिन यति हतार थियो कि म  त्यो दिन दुनै बाट चप्पलमै यहाँ सम्म हिडिसकेको रहेछु । अलि माथि हिडिसकेपछी अघिल्लो दिन बाटोमा पुरै भिजेको जुत्ता मोजा बाहिर प्लास्टिक बाधेर लगाए ।

लगभग ७ बजे तिर कागनी भन्दा अलि तल चिया खाने कुरा भयो । तातोपानी मागेर खादै चिया कुर्यौ, बालुवा मिश्रित पानीलाई बालुवा कपको पिधमा थिग्रिन दिएर माथिको पानि पियौ, बालुवा हुनुको कारण अघिल्लो दिन खोलाको पानि धमिलो भएकोले रहेछ । चिया पाक्यो, एउटा कुकिज पनि माग्यौ र खाएर अगाडी बढ्यौ । ललितपुरमा बनेको रु.४० पर्ने कुकिजलाई २०० तिरेर अगाडी बढ्दै गर्दा बोकेको पैसाले फोक्सुण्डो पुगिन्छ त भन्ने ठट्टा गर्यौ ।

बाटोभरी हलक्कै बढेका गाँजाका बोट देखेर कलेजका साथी सम्झे, मन किन खिन्न हुन थाल्यो भने नि छेउमा कलकल बग्दै खेर गईरहेको खोलाको पानि, ठाउँ अन्धकार, करिब ४६ करोड टन गाँजाका रेशाहरु, नाङ्गा बनाईएका मान्ठहरु, भो व्यक्तिगत अनुभूतिका कुरा कमै गरौ । कागनी बाट अलि माथि हिडीसकेपछी शे-फोक्सुण्डो गाउँपालिकामा प्रवेश गर्यौ र नजिकै बाटोमा एक लघु जलबिद्युतको गृह हुदै ९ बजे छेप्का पुग्यौ । ११ बजे छेप्कामा खाना खान पुगिन्छ भन्थे, हामि ९ बजे नै खाना खाने कुरा पनि भएन । कर्णाली प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन गरे बापत संघिय सरकारले १८ दिन थुनामा राखेका नोर्बु दाईसंग भेटघाट/परिचय भयो । उहाको होटेल पनि रहेछ त्यहाँ, तातोपानी खाएर भलाकुसारी गर्दै २ प्याकेट चाउचाउ झोलामा हालेर हिड्न लागेको बेला ४-५ गाँजर नोर्बु दाइले दिनुभयो । त्यहिँ नेरको धारोमा ठुलो ट्यांकामा स्याउ राखेको देखेपछी मन थाम्न कहाँ सकिन्थ्यो र, ५० रूप्पेको ५ दाना स्याउ बोकेको खाना खाने ठाउँ रयाची सम्म त्यै स्याउले बुटीको काम गर्यो ।

हिडेर २ दिन लाग्ने हरुको लागि साँझ बास बस्ने ठाउँ थियो त्यो रयाची, अलि चाडो हिड्ने सालजिनी वा हाईस्कुल सम्म पुग्ने रहेछन । हामीले खाना रयाचिमा दिउसो १ बजेतिर खायौ । हामि संगै खाना खानेमा जाजरकोटको नलगाढ़ जलबिद्युत आयोजनाका इन्जिनियर सहित जना-४ (भक्तपुर तिर घर भएकी २ दिदिहरु) पनि हुनुहुन्थ्यो । दिउसको २ बजे खानापछी रिग्मो पुग्ने गरि पुन उकाली चढियो । हिड्दै जाँदा पलम भन्ने ठाउमा झुलिंगे पुल तर्न खोज्दा निकुन्ज सुरक्षाका लागि खटिएका आर्मी साथीहरुले रोकेर सोध्नुभयो; कहाँ जाने ? मैले भने फोक्सुण्डो । त्यसोभए बाटो देखाउदै यो तलको बाटो त्यो बाटो होइन भन्नुभयो, सोहि निर्देशन पालना गर्दै केहि बेरमा सालजिनी पुग्यौ । त्यहाबाट हाईस्कुल हुदै केहि बेर हिदेपछी फोक्सुण्ड़ो ताल पुग्ने खास उकालो बल्ल देखियो, उकालोमा सौभाग्यले नाउरको एक झुण्डको दर्शन गर्न पाइयो, केहि भागे गोटा ४ को भिडियो खिच्न सफल भैयो । उकालोको बिचमा प्रतिक्षालय पनि बनाईएको रहेछ त्यहाँ केहीबेर थकान मेटायौ र पुन उकालो लाग्यौ।त्यहाबाट भिम गुफा स्पष्ट देखिन्थ्यो ।

केहीबेरको उकालो हिडेपछि अघिल्लो टोलिसंग गएको निकुन्जको ३ जना तल फर्किदै गरेकोमा भेट भयो, अक्षय दाई पनि बिस्तारै ओरालो झर्दै हुनुहुन्थ्यो र अगाडीको टोलीको बारेमा सबै जानकारी गराउनु भयो । त्यहाँबाट देखिन्थ्यो फोक्सुण्डो झरना, झरनाको आनन्द लगभग २० मिनेट लिईसकेपछी छेउको बाटो ओहो! अह! हुदैन! हुदै हुदैन! सार्है डर लाग्दो, साँझ भएर पनि होला ठुलो झोला पछाडी ठेस लाग्यो भने मान्छे सिधै झरना चुम्न पुग्ने । क्याराभान फिल्ममा थिन्लेले काठको चेपा लगाएर बिचमा ढुङ्गा राखी त्यै माथि हिड्ने गरेको सत्य रहेछ।बाटो सेम टु सेम दुरुस्तै उस्तै थियो । त्यो कटिसकेपछि भने मज्जाको बाटो लगभग १५-२० मिनेट हिड्दा रिग्मो पुगियो, अघिल्लो टोलीको एक पात्र अर्थात् मेरो हितैसी मित्र मन बहादुर हामीलाई कुरिहरेको थियो, तीजमा आमाले छोरी आउने बाटो धाएको जसरि । उ माथि नजाने निश्चित थियो केवल म संग एक रात बिताउन साथी फोक्सुण्डोमै बसेको थियो । झोला होटेलमा राखेर मधुरो भएपनि ताल हेर्न निस्कियौ, ताल ३६११ मिटरको उचाइमा अवस्थित छ, साँझको साढे ६ बजिसकेको थियो । एकछिनमै फर्कियौ र अघिल्लो टोलिका सबै पात्रहरु संग परिचय भयो ।

टोलीमा अगाडी देखिनै परिचित शेर दाजु र सृजना बहिनि अनि उतै चिनजान भएका मोहन,मिलन,करण,सुरज भाई र बिपना बहिनि ।बिपना र सुरज संग अगाडी नै भेट भएको तर खुलेर चिनजान नभएको पाइयो।अनि जम्यो टोलि, धेरै पछी भेट भएको मन बहादुरलाई सार्है जाडो भएकोले एकछिन रमाइलो गरि खाना खाएर सुत्ने निर्णय १० सदस्यीय टोलीले गर्यो । भोलि कहाँ जाने कसरी जाने सबैको चिन्ता गर्ने जिम्मा टोलि प्रमुख शेर बहादुर दाजुले लिईसक्नु भएको हुँदा अरुले वस् हिंडीदिए मात्र पुग्थ्यो ।जे होस् एकै दिनमा दुनैबाट समयमै रिग्मो पुगियो भनेर हामि मख्ख थियौ अरु जिल थिए । त्यो साँझको बास मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको होटेलमा भयो । आनन्दले लुगा सबै खोलेर सुतियो ।

दिन ३ : फोक्सुण्डो-घ्यामघार ओडार

असोज ११ गते रिग्मो बाट शे गुम्बाको लागि टोलि अगाडी बढ्यो । थाहा थियो एकै दिनमा शे पुग्न सकिदैन थियो, त्यसले त्यो साँझ कतै बिचमा बस्नु पर्ने भन्ने जानकारीमा आयो । बिहानै साथी मन बहादुर दुनैको बाटोतिर एक्लै तल ओर्लियो भने बाँकी ९ जनाले चिया सातु खाएर तालको छेउछेउ हुदै उकालो चढ्यौ । हामीले अघिल्लो दिन ताल राम्रोसंग हेर्न नपाएकोले फोटो खिच्दै ताल हेर्दै थिन्लेको चौरी लडी तालमा खसेको ठाउमा टक्क पाइला रोकिए, बाटो उस्तै थियो, काठको चेपा दिएर त्यसमाथि ढुङ्गा बिछ्याइएको, त्यै माथि हिड्नुपर्ने, दायाबाया भए सिदै तालमा । रिग्मो गाउँमा अलिअलि सोलार बाहेक अरु हुने कुरा भएन, प्रत्येक घरधुरीले सायद एक पाउ यार्सा छुट्टयाएको भए तालको छालबाट समेत विद्युत निकाल्न सकिन्थ्यो होला, सिरसिर चल्ने हावाले केवल गाला र ओठ मात्रै फुटाऊथेन होला, करेन्ट पनि पैदा गर्थ्यो । हेलिमा सिमेन्ट ओसारेर पूर्वाधार विकास गर्न तम्सेका डोल्पाली जनताको मौनता हजारौ प्रश्नहरुको उत्तर थियो । हिजो पनि दुनै बाट सिधै फोक्सुण्डो पुगेकाले खुट्टालाई धेरै तनाब दिने पक्षमा म थिईन । एकदमै बिस्तारै सबैभन्दा पछाडी उकालो चढे, उकालोमा बनेको पतिक्षालय नजिकै सबैले आराम गर्यौ र अगाडी बढ्यौ ।


त्यो दिनको व्यवस्था कस्तो थियो भनेर भन्दा; हामीलाई त्यो साँझ र भोलि बिहान सम्मको खाना/सामलको व्यवस्था रिग्मोबाटै भएको रहेछ, हामि रिग्मोमा जुन होटेलमा बसेको थियौ सोहि होटेलकै रिन्जेंन दाईले हामीलाई चाहिने सबै सामान (सुत्ने समते) २ ओटा घोडामा बोकाएर बिहान खाना खाने ठाउँ अर्थात् तालको माथिल्लो छेउ छल्लोफोगुमा हामीलाई भेट्टाउनु भयो । हाम्रो लागि बिहानको खाना पनि उहाले नै छल्लोफोगुमा रहेको पालमा/टेन्ट (लेकमा चौरी/भेडा च्यांग्रा हेर्ने) अर्डर गरिसक्नुभएको रहेछ । हामि बिहानको करिब १० बजे त्यहाँ पुगिसकेका थियौ।पालकी दीदिले तरकारी पकाउदै हुनुहुन्थ्यो, हामीले चिया तातोपानी खाँदै ताल छेउमा फोटोहरु खिचियो । तालछेउ फोटो खिच्ने क्रममा पानीको छालले लस्करै लाएको मरेका सलह किरा देखियो । सलह यहाँ सम्म पनि पुगेछ भनेर चर्चा भयो ।
मैले पुग्नेबित्तिकै चिसो पानि, तातो चिया अनि तातो पानि खाइदिएको, पेटलाई काण्ड पुगियो । खाना रुचेन अलि दाल पिएर चौरमा पल्टिन निस्किए । मलाई जस्तै सिर्जना बहिनीलाई पनि सार्है गार्हो भैरहेको रहेछ । साथीहरुले टोलि प्रमुख शेर दाईबाट खाना खानु अघि लौरो चलाउने आत्मरक्षा कला सिके । मैले ५४०० मिटरमा पुगेपछि दिने हिउँचितुवा पोजको अभ्यास गरे ।खाना खाएर करिब सवा १२ बजे तिर अगाडी बढियो । बाटो तेस्रै तेस्रो भएकोले खुट्टा हर्षित थिए । केहिबेर हिडीसकेपछी देखियो कान्जिरोवा हिम शृंखला, रमाउदै फोटो खिच्दै टोलि ४ नबज्दै बास बस्ने ठाउमा पुग्यो; घ्यामघार अर्थात् सेतो ढुङ्गा ओडार(गुफा), हामि अझै ३ घण्टा हिंड्न सक्ने हुँदा हुदै पनि अगाडी बस्ने ठाउ नभएर यतै बस्नु पर्ने भयो ।
ओडार ७ तारे होटललाई उछिन्दै मिलियन स्टारमा परिणत भयो किनकि त्यहाँबाट सिंगो आकाश देखिन्थ्यो, कान्जिरोवा हिमाल देखिन्थ्यो, सुत्न मिले डबल डिलक्स कोठाहरुको पनि व्यवस्था नभएको होइन । सबै मिलेर सुकेका प्राय भोजपत्रका दाउरा संकलन गर्यौ र रिन्जेन दाईले मिठो कफी खुवाउनुभयो । कफी, चाउचाउको सुप, आलु पोलेर/उसिनेर खाँदै हाम्रो सांगीतिक साँझको आरम्भ मैबाट भयो ।


जीवनमा जाने जातिका सबै गीत गाइयो, दोहोरि खेलियो, खुबै रमाइलो भयो । मिठो दाल भात तरकारी खाएर आगो ताप्दै बस्यौ । करन भाई र बिपना बहिनीको दोहोरिलाई उत्कृस्ट घोषणा गर्दै रुकुमेली वन प्राबिधिक समाजले कारन भाइलाई सम्मान गर्यो । रिटायर्ड भएपछी बोहरा फुटबल क्लबको कोच हुने अभिलाषाका साथ रातभरी सुत्न नै सकिएन । १२ बज्दा पनि दोहोरि नसकिएपछी टोलि प्रमुखले हस्तक्षेप नै गर्नु परेको थियो । कोहि सुत्दै आगो ताप्दै गर्दै थिए, कोहि ३ बजे आलु पोलेर खादै थिए, ओडारमा हामि सबै लास्करै सुतेका थियौ । जीवनकै एक ऐतिहाँसिक क्षण ।

 

दिन ४ : घ्यामघार-शे गोन्पा(गुम्बा)

असोज १२ गते बिहानै उठेर नित्यकर्म गरियो ।चिया सातु खाइयो र नास्तामा साँझको भात बचेको हुनाले फ्राई गरि खाने कुरा चल्यो । सोहि अनुसार भात दाल एकै ठाउमा राखेर डिल्किनामा (तिन तिरबाट ढुङ्गा राखी त्यस माथि भाडा राखेर मुनिबाट आगो बाल्न सकिने प्राकृतिक चुल्हो) आगो बालियो, मुनितिर लागेको कुरौनी खाने उदेश्यले भात बेस्सरी तताउन भनियो, कुरौनी खाँदाको घाडो त्यो ट्यांका आफै धुनु पर्ने भयो । भाडा भरि तातो खरानी राखेर हिडियो खोला तिर, खोला नजिकै थियो, पानि यति चिसो कि हैट! तर भाडा साविकको भन्दा धेरै चम्काएर ल्याए, साथमा भाडोमा पानि भरेर पनि। रिन्जेन दाइ बिहानको खाना बनाउन तिर लाग्नु भयो, हामी आगो ताप्दै झोला कस्न लागियो । दिउसको लागि हामीलाई ३ ओटा ढेस्सु (फापरको बाख्लो रोटि) पोलिदिनु भयो । बिहानको खाना खाएर सवा ८ बजे शे को लागि टोलि अगाडी बढ्यो । रिन्जेन दाईले हामीलाई अलि वरसम्म छोडिदिनुभयो किनकि खोलाबाट सिधै अगाडी र माथि जाने बाटोमा झुक्किने रहेछ ।हामि रिन्जेन दाईसंग छुट्टिएर खोलै खोला उकालो लाग्यौ, हाई क्याम्प तर्फ । खोलाको पानि तर्दै कैले उता हाम्फाल्दै कैले यता गर्दै बिस्तारै अगाडी बढ्यौ । रमाइलो गर्दै फोटो खिच्दै दिउसको सवा १२ बजेतिर हाइ क्याम्पमा पुग्यौ । त्यहाँ हामीले ढेस्सु खायौ, तीनजनालाई १ भागमा पर्यो । त्यस ठाउमा सानो झरना पनि रहेछ, कैले कान्जिरोवा कैले नजिकको झरना हेर्दै रोटि खाइयो । अख्खा उकालो बल्ल सुरु हुदै थियो, खुट्टा थाकीसकेका थिए, यस बेलासम्म हामि ४५०० मिटर भन्दा माथि थियौ ।बिस्तारै उकालो चढियो, त्यै उकालोमा खच्चड लिएर २-३ जना ओरालो झर्दै थिए, वहाँहरु शे बाट फोक्सुण्डोतर्फ जादै हुनुहुन्थ्यो । लगभग पौने २ बजे तिर ५००० मिटर काटियो र आधा घण्टाजति मस्त निदाईएछ ।


त्यहाँबाट बल्ल देखियो ७० डिग्री भन्दा ज्यादा भिरालो सिधै उकालो बाटो, हाम्रो ट्रेकको सबभन्दा उच्चतम उचाई थियो त्यो, नांगला पास । उकालो हेर्दै मन भारि भैसकेको थियो, खुट्टा माथि टेक्दा तल झर्थे ।३०० मिटर उकालो चढ्न साढे ३ घण्टा भन्दा ज्यादा समय लग्यो । सबै अगाडी अगाडी थिए, म र उत्तम भाई सबभन्दा पछाडी । नाकले मात्र स्वास फेर्न सक्ने अवस्था नै थिएन । मुखले तान्दा पनि शरीरलाई आवश्यक पर्ने मात्रामा अक्सिजन लिन सकिरहेको थिईन ।अझ डरलाग्दो कुरा लगभग ५३०० मिटरको उचाइमा पुगेपछि मलाई बान्ता भयो, हाई क्याम्पमा खाएको फापरको रोटिको हरियो पानि फालियो । मन आत्तियो तर पनि संगैका भाइ उत्तमलाई हौसला दिईरहे, भाइलाई पनि म जत्तिकै गाह्रो भएको थियो तर बान्ता गरेनन । अब तल झरौ बाटो तेत्रो टाढा छ, कहाँ जाने के खाने कहाँ बस्ने? अझै माथि उक्लौ झन् गाह्रो हुने डर । झल्झली सम्झन थाले हामी भन्दा ३-४ महिना अघि यै उकालोमा लेक लगेर एक नेपालीको शे मा गएर मृतु भएको भनेर फोक्सुण्डोमा कुरा गर्दै थिए, साथै सम्झिदै थिए सगरमाथामा पनि अक्सिजन नलिएर चढ्ने शेर्पाहरुलाई । अब कुल देउता सम्झनु बाहेक अर्को विकल्प थिएन म संग, मनमनै सम्झिए । केहि साथीहरु पासमा पुगिसक्नु भएको थियो, हामीलाई लिन भनेर कारन र मोहन भाइ कुरेका थिए, हामि अर्थात् म र उत्तम भाई भने हात खुट्टा छोडेर लखतरान भएर उकालोमा बसेका थियौ ।

यत्तिकैमा एक जना दाइले हामीलाई पानि र लौरो दिनुभयो, अगाडी गएका साथीले हामिलाई दिदिनु भनेर शे बाट फर्किदै गर्नु भएका दाइलाई दिनुभएको रहेछ । त्यो दाइले भन्नुभयो यसरि बस्यो भने चिसो हावाले हानेर झन् थकित बनाउछ, लेक चढ्न थप गाह्रो हुन्छ, तपाइको साथी पासमा कुरिरहेका छन्, बरु बिस्तारै १ इन्चको पाइला नरोकी चाल्नु, अब धेरै छैन सोहि अनुसार हामीले पनि नरोकी बिस्तारै उकालो चढ्यौ, १० मिनेटमै पासमा पुग्यौ । उत्तम भाइको गह्रौ झोला हामीलाई कुरेका मोहन भाइले बोके, मैले त सानो झोला बोकेको थिए ।पासमा (५३४६ मिटर) पुगिसकेपछी एकछिन फोटो भिडियो लिएर सिधै ओरालो लागे, बाटो घुमाउरो थियो, म सोझै दौडेर तल झरे, अनि अलि फुर्ति आइगो ।

 सब सपना चकनाचुर भए; त्यो पासमा खिच्ने भनेको हिउँचितुवा पोज, सेन्डो मात्रै लाएर फोटो खिच्ने सिग्नेचर पोज, सब गयो । पासबाट २-३ सय मिटर शे पट्टि तल झरीसकेपछी चाउचाउ खाएर शे गुम्बा तर्फ अगाडी बढ्यौ, ५ बजिसकेको थियो । केहीबेरको ओरालो झरेपछि आकाशमा जुन लागिसकेको थियो, जुन हेर्दा पुर्णिमा अब २-३ भन्दा टाढा थिएन ।ओरालो झर्दै गर्दा कुराकानीमा थाहा भयो, सिर्जना बहिनिलाइ जुन तल ओडार आउने दिनको बिहानको खाना खाने बेला असहज भएको कुरा । यस्तो अवस्थामा पनि दुख कष्ट नभनी हामीभन्दा जोशका साथ तेत्रो उकालो सजिलै काटेर अझै ५-७ दिनको हिडाईमा उत्सुकताका साथ हिड्ने बहिनि सिर्जना र बिपना लाई सलाम । अनि सम्झे नेपालतिरकि त्रिपत्रे फेमिनिस्ट र महिला अधिकारकर्मीहरु जो डलरले रुपिया थिच्दै बजारमा बिकिनी वेक्सिंग गर्न तछाडमछाड गरिरहेछीन । लगभग ७ बजे तिर शे गुम्बा वारी पट्टि रहेको चौरी गोठमा पुगियो, तातोपानी प्युदै गफिदै गर्दा खाना पाक्यो ।

खाना खाइसकेपछी शेरबहादुर दाजुको बेस्सरी टाउको दुखिरहेको थियो, सबै थाकेका हुनाले एक शब्द नबोली वरिपरि ३-४ फिटको पर्खाल भएको माथिबाट सेतो प्लास्टिकले ढाकिएको ग्रीन हाउसमा लस्करै सुतियो । बहिनीहरु भने चौरी गोठवालाले टाँगेको पालमा सुतिन । म भने नारायणगोपालको आँखा छोपी भित्रको एक हरफ “भोलि उठी कहाँ जाने केहि थाहा छैन……सम्झिदै निदाएको पत्तै पाइन ।

दिन ५ : शेगुम्बा-साल्दाङ

असोज १३ गते बिहान उठ्दा त् बाहिर बरफ जमेको थियो । प्राकृतिक शौचको लागि उपयुक्त स्थानको खोजीमा हिनियो, फर्केर तातोपानी मागी हात मुख धोइयो । टेन्टभित्र बसेर तातोपानी खादै भो च्या (घ्यु च्या/नुन च्या) पकाउन अनुरोध गरियो उनीहरुकै भाषामा । ५ वर्ष बौद्ध बसेको अलि अलि काम आउदै गयो, अलि धेरै बुझ्थे, अलि कम बोल्न आउथ्यो, सबै जान्दिनथे । यसो ट्यांकामा हेरेको हिजोको सबै भात बाँकि रहेछ, सबै संग सल्लाह गरेर त्यै भात चौरीको घ्यु हालेर भुटेर खाने सहमति भयो । दिउसको लागि उवाको रोटि र आलु उसिन्न साँझ नै भनेका थियौ ।बासिभात खाइसकेपछी २० ओटा रोटि र लगभग २ किलो उसिनेको आलु प्याक गरि शे गुम्बा हुदै साल्दाङ्ग तिरको यात्रा अगाडी बढ्यो ।

 

 ४१६० मिटरमा अवस्थित शे गुम्बा बन्द थियो । बाहिरबाट अवलोकन गरेर फोटो खिची टोलि अगाडी बढ्यो । त्यहाँबाट भिजेर जान पनि एकदिन पुरै हिड्नु पर्ने रहेछ, भिजेर तिब्बतबाट नजिकैमा पर्ने रहेछ । भिजेर हुदै पनि साल्दाङ्ग आउन सकिने थियो तर हामि जति सक्यो चाडो यात्रा छोट्याउने मनसायमा पुगीसकेका थियौ । काम भनेकै हिड्यो हिड्यो अनि हिड्यो थियो । साल्दाङ्ग पुग्न पनि ५००० मिटर माथिको एक लेक काट्नुपर्ने थियो । अलि अलि तेस्रो अलि उकालो गर्दै हामि करिब सवा १२ बजेतिर ५०१६ मिटरको कांगला/ साल्दाङ्ग ला पास पुगियो, क्याराभान फिल्ममा थिन्ले ढलेको ठाउ अर्थात् फिल्मको क्लाइमेक्स सिन ।

 

हामि पुग्दा यस्तो हावा चलिरहेको थियो कि स-साना ढुंगाका कण उडिरहेका थिए । फोटो भिडियो खिच्ने क्रम लगभग १५ मिनेट चलिरह्यो, मैले नि २-४ पोज दिएर अगाडी बढे । अलि अगाडी खोलामा पुगेर खाजा खाने निर्णय भयो, सोहीअनुसार आलु र रोटि बोकेर म र सुरज भाइ अरुभन्दा अलि अगाडी बढ्यौ, तयारीको लागि । तल खोलामा पुगेर एक ढुङ्गा खोज्यौ र लोहोरो पनि, ढुङ्गालाइ पखालेर त्यसमा नुन खुर्सानी हालेर सुरज भाइले धनेश दिए अर्थात् पिसे र आलुलाई पनि बोक्रा फालेर त्यसमै पिसियो, अनि बनिगो खतरा ततनी अर्थात् चट्नी । केहीबेरमा सबै जना हामी भएको ठाउमा पुग्नुभयो, घरिना बनेर एक ज्यानलाई २ रोटि अनि त्यसमाथि आलुको चट्नी राखेर सबैलाई बाडियो । रोटि खासै पाकेका थिएनन् तर पेटमै पकाउने वाचाका साथ सबैजनाले खुब स्वादले रोटि खाइयो । अनि गित बनियो बरिलै शैलीमा….नुन पिस्ने लोहोरो, चाटे मैले एकहोरो बरिलै शेरबादुर दाई हेर्या हेरेइ ।


यहाँ पनि फोटो भिडियो खिच्ने क्रम रोकिएन, टोलि अगाडी बढ्यो । शे बाट हिडेको लगभग ७ घण्टापछी अर्थात् दिउसको ३ बजेतिर नामग्याङ्ग गुम्बा पुगियो । पर्यटकहरुले एक दिन यतै क्याम्प गरेर बस्ने रहेछन, हामि भने अगाडी बढ्यौ ।लगभग १.३० मिनेट हिडेपछि तल साल्दाङ्ग देखियो । हेर्दा नजिकै देखिएपानि ओरालो झर्न सार्है गाह्रो हुने रहेछ । त्यो डाडामा एकछिन आराम गरेर सबैजना जम्मा भईसकेपछी टोलि अगाडी बढ्यो । तल गाउँको लागि माथिबाट पानिको पाईप लगिएको रहेछ, बीच बिचमा पानि ट्यांकी पनि थिए । मोटरसाइकल गुडाउन बनाईएको कोदाले बाटो । बिस्तारै लगभग ६ बजेतिर साल्दाङ्ग पुगियो । दुनैबाट उकालो हिडेको पहिलोपटक मोटरसाइकल देखियो, मौतका कुवामा दौडीने जस्ता लिफानका मोटरसाइकल, कुनै कुनैका राम्रै डर्ट बाईक । मोटरसाइकल चलाउन न अनुमति पत्र चाहिने न बिलबुक, ५१०० का पास, मोटरसाइकल मात्र अट्ने बाटो । मोटरसाइकल चलाउन तेल भन्दा धेरै चालकको साहसको चाहिने, पेट्रोल लिटरको ८०० मात्र । यता ७-८ लाख पने डर्ट बाईक १.५ लाखमै आउने, मोटरसाइकल चढ्न भन्दा किन्न सस्तो, डेढ घण्टा चढेको १० हजार, नत्र दिनभरी हिड्नुपर्ने ।

 त्यो साझ वडा कार्यालय मुनि रहेको एक होटेलमा बास बस्यौ । गाउँपालिकाको केन्द्रका मान्छेको कुरै बेग्लै, यो पाटो यो पंतिकारले समेट्न चाहेन । भोलि फेरी हिड्ने निर्देशन खुट्टालाई दिएर सुतियो, निन्द्रा परेन, उठियो सुतियो, उठियो सुतियो, रातिको १:३० बजे पानि सकिएछ, बाहिर आएर पाईपबाट भरेर लगियो, अनि सुतियो उठियो, सुतियो ।

 दिन ६ : साल्दाङ्ग-तिन्जे

असोज १४ गते बिहानै उठेर चिया तातोपानी खाएर टोलि तिन्जेको लागि हिड्यो ।साल्दाङ्ग बाट सिदै पारीपट्टी देखिने ५००० मिटर माथिको अग्लो लेक अर्थात् स्याला पास काट्न लगभग ३ घण्टा लाग्ने थियो, त्यो काटेर डेढ घण्टा हिडेपछि कोमास भन्ने ठाउँ आउथ्यो, खाना कोमासमा खाने सहमतिका साथ ज्यादा हिड्ने केहि साथीहरु अगाडी जानुभयो । लगभग ११ बजे कोमास पुगियो र होटलको मान्छे उवा काट्न गएको जानकारी पाएपछी मोटरसाइकलमा उवा ओसार्दै गरेका दाईहरुलाई होटलवालालाई बोलाई दिन अनुरोध गर्नुभएको रहेछ, अलि अगाडी पुग्ने टोलीले । कस्तो रमाइलो दृश्य भने चिनिया मोटरसाइकल, लेगगार्डका दुवै तिर बडेमानका स्पिकर जडान भएका, तिखो तिब्बती गित घन्काएर पछाडी उवा बाधी खेतबाट घरतिर लस्करै ओसार्दै गरेका, दृश्य हेर्दा मन हलुङ्गो हुने, केहि मानिस भने घोडामा उवा ओसार्दै हुनुहुन्थ्यो । नजिकै थियो श्री सहिद गंगालाल आधारभूत बिद्यालय । बिद्यालयको छतमा बिद्युत निकाल्ने विन्ड मिल घुमिरहेको थियो । होटलकी दिदि भने ठ्याक्कै युवराग्यी हिमानी शाह जस्तै हुनुहुन्थ्यो । त्यहाँका मान्छेको आत्मियता सार्है चाखलाग्दो थियो । हामीले साढे १२ बजेतिर खाना खाएर सवा १ तिर पुन बाटो लाग्यौ । हिड्ने बेलामा बाटोमा खाने भनेर ठुल्लै ३ मुठी छुर्पी दिनुभयो । रमाइलो कुरा के भयो भनेनी सिर्जना बहिनिले खाएको साढे २ किलो भातको बाटोभरि खुबै चर्चा भयो, त्यो लास्ट सट अर्थात् चौथो पटकको अन्तिम थप भात। ऋषि धमला पारामा भाईहरुले अनेकन प्रश्न गर्दै रमाइलो गर्नुभयो, बाटो कटेको पत्तै भएन । एक सानो पास काटेर साढे ३ बजेतिर सिमेन भन्ने ठाउँ पुग्यौ । त्यहाँ स्याउ/चुली पनि फाल्ने रहेछ । त्यहाँ पहिले सबैले सामुहिक फलफुल खेति गरेका रहेछन, जति फल्छ सबै घरधुरीले बराबर बाडेर खाने, वाह यो भन्दा समाजबादी व्यवस्था अर्को के होला? न वर्गीय भेद, न अतिरिक्त मुल्य सिर्जनाको झन्झट ।

 

काठमाण्डौमा हुदा १८ महिना लगाएर पढेको कालमार्क्सको पूंजीका तिनै ओटा खण्ड एकाएक सम्झिन पुगे । रातदिनको श्रमले एक थान जीवन निर्वाह गर्न पनि धौ धौ हुने, पुंजी सिर्जना कागको कुहिरो भैगो । सामाजिक पूंजी निर्माणमा कसैको पनि तात्विक योगदान छैन । यहाँका मानिसलाई न राज्य संग कुनै गुनासो छ, न यहाँ राज्य नै छ । यहाँ  राजतन्त्र भए के? प्रजातन्त्र वा लोकतान्त्रिक गणतन्त्र भए के, देश कसैको उपनिवेश भए के? यहाका मान्छेलाइ बिमारी हुन वर्जित छ । कतिपयलाई देशको नाम केवल डोल्पो मात्र थाहा छ, अंग्रेजी बुझ्ने तर नेपाली नजान्ने ।पछी बिस्तारै स्याउ पहिलेको भन्दा धेरै फल्न थालेपछि आ-आफ्नो माटोमा खेति विस्तार गरेछन, व्यक्तिगत पूंजी निर्माणमा सबै अग्रसर देखिन्थे जुन कुरा स्वाभाविक थियो । हिड्नु धेरै बाँकि थियो त्यसैले अलि चाडो हिड्ने ३ जना सुरज,कारन र मोहनलाई अगाडी कुदाएका थियौ ताकी तिन्जे पुगेर समयमै खानपिन र बासको व्यवस्था समयमै होस् । हामि बिस्तारै अगाडी बढ्यौ, बाटोमा झुक्किने ठाउमा कागजमा वे टु तिन्जे लेखि ढुङ्गाको एरो सांकेतिक रुपमा दिदै अघिल्लो टोलि हिडेको रहेछ, हामीलाई सहज भयो । यो दिन खुट्टालाई अलि धेरै कसरत गर्नुपर्यो हामी रातिको पौने ८ बजेसम्म हिडेर फा हुदै बल्ल बास बस्ने ठाउँ तिन्जे पुगेका थियौ ।उतातिर सबै ठाउमा के हुदो रहेछ भने बस्ने ठाउँ जस्तो भएपनि किचेन चै चिटिक्क सजाईएको, हेर्दै लोभलाग्दो । खाना खाएर खुट्टामा तेल मालिस गरेर मस्तले सुतियो, भोलि फेरी उठेर हिड्नै त छ ।

दिन ७ : तिन्जे-धो

असोज १५ गते बिहानको नित्यकर्म सकेर चिया तातोपानी खाइयो । बिचमा खाना खाने ठाउँ नभएकोले चिनिया म्याद गुज्रेको चाउचाउ/थुक्पा जस्तो, भित्र सबै मसला/साग (गुन्द्रुक जस्तो) सबै हुने रहेछ । यतातिर जे किनेपनि प्राय सबैको म्याद गुज्रेको हुने तर के गर्नु नखाई सुखै छैन, दनादन दिईयो हजम नहुने कुरै थिएन । त्यो चाउचाउ कागजको डिब्बामा आउने रहेछ, ठ्याक्कै एक जनाको मिल प्याक । त्यसमा सबै मसला मिसेर तातोपानी हाली एकछिन छोपेर राख्यौ, अनि खान सुरु गर्यौ, सुपको स्वाद राम्रो नै थियो, चुल्होमा दिउसको लागि आलु उसिनिदै थियो । एकछिनपछी ८ बजेतिर टोलि धो को लागि रमना भयो । तिन्जेबाट तिब्बतको सिमाना/नाका गएर एकैदिनमा समान ल्याएर यता पुगिने रहेछ । यताबाट गएको भन्दा उताको सामान सार्है सस्तो हुने । नेपाली रु १७० मा चिनियाँ क्यान बियर आउने ३.३ प्रतिशत अल्कोहल भएको, म्याद गुज्रेको जति खाएपनि नछुने जस्तो। बिस्तारै अगाडी बढ्दै गयौ त्यहाँ एक झुलुंगे पुल थियो तर यताबाट पनि बाटो होला भनेर खुरुखुरु सडकमा हिडियो तर अगाडी खोला तर्नुपर्ने भयो, खोलाको पानि घुंडासम्म अलि पुग्थेन । सुरज भाई पुल तरेर पारीबाट नै गएका थिए । बिहानको त्यस्तो चिसो पानीमा बिचरा सुरज भाईले मलाई र बिपना बहिनिलाइ पालै पालो पिठ्युमा बोकेर खोला तारे । अरुहरु जुत्ता खोलेर खोला तरे । करन र मोहन भाई पुल तरेर आएका थिए ।पातलो सुरज भाइले कतै खोलामा लडाउने पो हो कि भन्ने चिन्ताले खोला नातारुन्जेल पिरोलीरह्यो तर भाइले सकुशल बोकेर तारे भाइलाई धेरै धेरै धन्यवाद । त्यहि खोलामा ब्रस गरि मुख धोइयो अनि अगाडी बढियो । हिडेको हिड्यै हिडेको हिड्यै, अबत कोहीपनि रमाइलो गर्ने मनस्थितिमा थिएनौ,गन्तब्य पच्छाउदै सब चुपचाप एकसुर हिडीरहेका थियौ । क्यामेरा मोबाइल सबैको चार्ज सकिएको थियो । दिउस करिब १ बजे तिर धो बाट आइरहेका खच्चडवाला संग शेर दाजुले म्याद गुज्रेको रारा चाउचाउ किन्नुभयो र अलि पर पुगेर बिहान बोकेको आलु र चाउचाउ आ-आफ्नै तरिकाले खायौ । कसैले चटपटे शैलिमा, कसैले सुख्खा, कसैले चाउचाउमा तातोपानि हाली झोल झारेर । त्यहाँबाट करिब २ घण्टा हिडेपछी पासको (५००० मिटर माथि) उकालो यात्रा सुरु भयो । यस पटक उकालोमा कतै नरोकी सिदै लेकमा पुगे र एकछिन आराम गरि तल ताक्सीतिर झरियो । त्यो लेकमा यस्तो हावा चल्थ्यो कि मान्छे नै उडाउला जस्तो, मान्छे हरु मोटरसाइकलमा तिन्जे धो धो तिन्जे गरिरहेकै थिए । क्या आनन्द ५००० मिटर माथि मोटरसाइकलमा सरर गाना घन्काउदै,कोहि सिंगल कोहि डबल लोड, शान नै बेग्लै, हिडन सांग्रिलाका राजकुमारहरु । लेकबाट डेढ घन्टाको हिडाईमा ताक्सी पुगियो तर गन्तब्य धो पुग्न अझै एक डेढ घण्टा हिड्नु पर्ने थियो । त्यो दिनपनि राति हुने निश्चित थियो,त्यसैले म सुरज र उत्तम भाई अलि अगाडी गएर होटेल माउन्टेन भ्यूमा बस्ने बन्दोबस्त गर्नुपर्ने भयो । त्यो होटेल किन भनेको भन्दा सिर्जना बहिनीको साथी कुनै समय त्यहाँ वर्ल्ड लिंकको वाईफाई जोड्न पुगेका रहेछन र बहिनेले बीच बाटोबाट साथीलाई फोन गरि त्यो होटेलमा हामि आउदैछु भनेर भनिदिनु भनेकी रहिछिन । सोहि अनुरुप सोध्दै हामि ३ जना अगाडी बढ्यौ, ताक्सी मै राति भैसकेको थियो, पुग्नु थियो धो अर्थात् विश्वकै अग्लो स्थानमा रहेको मानव बस्ति भनेर प्रचार गरिएको ठाउँ, कतिपय पत्रपत्रिका र सरकारी वेबसाइटमै लेखे पनि त्यसको आधिकारिकता कतै भेट्न सकिएन।साँझ धो मा मैले पनि मोटरसाइकल चढ्ने ऐतिहाँसिक अवसर पाए, मोटरसाइकलमा आउदै गरेका एक दाइलाई उक्त होटेलको बारेमा सोधेको, म पनि उतै जाने हो एक जना बस्नुहोस् भने र जेष्ठताका आधारमा मैले चढ्नु पर्ने भयो, उत्तम र सुरज भाइ हिड्दै आए ।चालकले भौतिक बिज्ञानलाई चुनौती दिने हिसाबले मोटरसाइकल चलिरहेका थिए, मैले केहि बोलिन । त्यो दाइले लिनुभयो होटेल क्याराभान, यो दाईलाइ पनि थाहा रहेनछ, उहाले भित्रको साहुलाई सोधिदिनु भयो साथै मैले होटेल माउन्टेन भ्यूमा अर्डर भैसकेको कुरा बताए । साहुले माउन्टेन भ्यू हैन स्टार माउन्टेन भन्ने होटेल छ भन्नु भयो, मैले नि त्यै हो भने, कन्फर्म गर्न वाईफाई भएको होटेल भने किनकि धो मा त्यहाँ मात्र वाईफाई थियो, वर्ल्डलिंकको ।नजिकै रहेछ, त्यहाँ पुगी सोध्दा खासमा अर्डर भएको रहेनछ तर ठिकै छ यतै बस्ने भनियो, वहाँहरुले पनि खान बस्न राम्रै छ भन्नुभयो र हामि खुट्टा धोएर धुलो झार्दै भित्र पस्यौ, बाँकी टोलि आउन थप ४५ मिनेट लगायो, ८ बजिसकेको थियो ।त्यो यतामा पहिलो पटक टिभी देखियो, वर्ल्डस्टारमा एन्ट म्यान फिल्म आइरहेको थियो, तातोपानी खादै मोबाइल चार्जमा लगाए ।परिचय गर्दै जादा होटेलको दाईले सोध्नु भयो; चेतन रावललाई चिन्नु हुन्छ? मैले भने वहाँ मेरो काका हो । होटेलको सानो मालिक अर्थात् छेवाङ्ग गुरुङ भाइ र चेतन काकाको कान्छो छोरा तोरण रावल भाई संगै ललितपुरको एलएमा पढ्ने, काठमान्डौमा संगै बस्ने रहेछन ।लकडाउन भएर घर आएका रहेछन छेवाङ्ग । होटेलमा खान बस्न अझ महत्वपूर्ण कुरा वाईफाई समेत थियो । शेर दाजुले सल्दाङ्ग आउदै गर्दा बिचमा रोटि आलु खाएको फोटोलाइ “हामि ज्युदै छौ, यात्रा जारी छ” अंग्रेजी क्याप्सन सहित फेसबुकमा अपलोड गर्नुभयो । मेरा साथीहरुलाई उतिबेला थाहा भयो म उपल्लो डोल्पाको यात्रामा छु । त्यो दिनको अर्को काण्ड बन्यो आखिर किन निस्के तेजेन्द्र दाई तेल बोकेर? करन भाइले किन राखे ढुङ्गाको एरो? काम नलाग्ने समानको उपयोग एरोमा किन गरीएन? करिब आधि घण्टा यति हासियो कि यात्राका सबै दुख बिर्सियो ।त्यो दिन मेरा दुवै पैतालामा फोका निस्किसकेका थिए, २०७३ सालमा भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा भाँचिएको दायाँ खुट्टाको घुंडा छेउको अप्रेसन गर्दा फोहोर रगत निकाल्न छेडिएको ठाउँको नशा दुख्न सुरु भैसकेको थियो । दुनै पुग्न अझै कम्तिमा २ दिन हिड्नु पर्ने थियो । हाम्रो साथै देशको अवस्था सहज हुन्थ्यो त दुनै पुग्नु भन्दा छार्का भोट पास हुदै २ दिनमा जोमसोम पुगिन्थ्यो तर त्यो ऐतिहाँसिक अवसरलाई कोरोना कहरले पुरा हुन दिएन । त्यो रात धेरैपछी मासु भात दाबेर स्तरीय पलंगमा सुतियो ।

दिन ८ : धो-ल्यासीक्याप

असोज १६ गते बिहानै नित्यकर्म गरेर चिया बिस्कुट खाइयो र बिस्कुट+चाउचाउ बोकेर ओरालो यात्रा तय गरियो करिब साढे ७ बजे । अब उकालो हिड्न नपर्ने भएकोले सबै हर्षित थिए तर उकालो भन्दा ओरालो हिड्न गाह्रो हुने अनुभब मेरो थियो ।भेरीको तिरै तिर नछोडी गए दुनै पुगिन्छ भन्दै हुनुहुन्थ्यो पेमा दाई अर्थात् होटल मालिक । होटेलबाट हिड्ने बेलामा छेवाङ्ग भाइसंग उसैको होटलको बोर्ड आउने गरि फोटो खिचे र फेरी भेटौला भनेर छुट्टिए ।


टोलि डोजरले खनेको चौडा सडकै सडक नदीको तिरै तिर अगाडी बढ्यो उसै परे राति १०-११ बजे सम्ममा दुनै पुग्ने गरि । लगभग ३ घण्टा हिडेर सानो काठे पुल (झुलुंगे बन्दै थियो) तरिसकेपछीको ओरालोमा कर्णाली बोर्डिंग स्कुलमा कक्षा ५ मा संगै पढेको साथी प्रकाश बुढासंग एकाएक भेट भयो । अचम्म मान्दै हात मिलाउदै भलाकुसारी गर्न थाल्यौ, धेरै समयपछीको भेट थियो त्यो १२ वर्षपछि खोला फर्किन्छ भनेझैँ । साथी सहित २ जना धो जादै हुनुहुन्थ्यो, कार्यालय काम विशेषले, साथी इन्जिनियर भएकोले माथिको बनिरहेको बाटो अनुगमन गर्न । लगभग ५ मिनेटको त्यो भेट ऐतिहासिक रह्यो, फोटो खिचेर दशैंमा जुम्लामा भेट्ने गरि हामि छुट्टियौ । तल झर्दै तोलटोल भन्ने ठाउमा रहेको पालमा १२ बजेतिर खाना खायौ र अगाडी बढ्यौ ।खुट्टा दुखाईको सिमा नाघिसकेको थियो, तर पनि बस्ने ठाउँ सम्म त हिड्नु नै थियो । अब आजै दुनै नपुगिने निश्चित गरे । चौरीहरु काठ बोकेर भीरको बाटो उकालो चड्दै थिए, बाटो कहालीलाग्दो थियो ।भीरको बाटो एक मिस जीवन फिनिस ।
त्यो दिन सबैभन्दा सुस्त गतिको मै थिए, खुट्टा र घुडाछेउको नशा दुखेर हिड्न सार्है मुस्किल भैरहेको थियो । कतिखेर लाग्थ्यो बरु चौरिले धकेलेर लडाईदिएको भए हिडाईबाट त मुक्ति पाइन्थ्यो, तर लडेपछी जीवनबाटै मुक्ति पाइने थियो । एकबारको जुनीमा नाथे खुट्टा दुख्दा यस्तो सोच, थुक्क म सोच्थे र याद आउथ्यो खुट्टै बिना सगरमाथा चढ्नेहरुको । जे होस् भिरपाखाको मज्जा लिदै बिस्तारै अगाडी बढेकै थिए, सबै अगाडी थिए म बिस्तारै पछि पछि आफ्नै सुरमा हिडीरहे । यता आइसकेपछी मोहन भाइको टोलि मलाई कुरेर बसेको रहेछ, त्यहाँ पुगिसकेपछी मोहन भाइले घुडामा मुब दलेर ब्यान्डेज गरिदिए । अझै ३-४ घण्टा हिड्नु थियो ल्यासीक्याप पुग्न । ठाडो ओरालो बाटोमा मोहन भाइको शिव भक्ति सुरु भयो, बाटो कटेको पत्तो भएन ।  जोक पनि कस्ता भनेनी पुरै धार्मिक, धार्मिक भित्रका अधार्मिक तत्वको बयान । हनुमानको मुख किन त्यस्तो भयो? अन्टाटिकामा किन हिउँ नै हिउँ भयो? गणेशको टाउको किन हात्तिको भयो? संजीवनी बुटी खोज्न जादा हनुमान र शिवको भनाभन भएको? बुटी खोज्दै गर्दा शिवजीले बार्दलीबाट भनेछन् पार्वतीले लाएको मुला गाजर कुल्चे ठिकै छ, भर्खर उम्र्या गाँजा मार्लास नि फेरी? यस्तै अनेकौ शिव पुराण सुन्दै मज्जा लिदै । लैनी भन्ने ठाउमा पुग्ने बेला लगभग साझ परिसकेको थियो, पुन हिड्ने टोलि सुरज, करन र मोहनलाई अगाडी कुदायौ, हामि बिस्तारै तल झर्यौ । राति भएकोले आनन्द भो नत्र बाटो अत्यासलाग्दो थियो, भिर पहरा मात्र । मोबाईलको लाईट बालेर लस्करै तल झर्यौ, बाटो कति लामो जति हिड्यो झन् अफ्ठ्यारो बाटो, एकठाउमा त शेर दाजुले मोबाइल हराउनु भयो, पुन खोज्दै जादा नजिकै भेटियो, वहाँका यात्रा भरिका फोटोहरु र भिडियो क्लिप त्यसैमा थिए, धन्न भेट्टाईयो ।आजसम्मको हिडाईमा सबैभन्दा अफ्ठ्यारो बाटो त्यै थियो, झन् दाहिने खुट्टा घिस्रिन थाल्यो, कम्ता बिजोग भएन । अब लगभग बास बस्ने ठाउँ आउने आउने भयो, नजिकको झुलुंगे पुल तरेर पारि जादा ल्यासीक्याप आउथ्यो । यहि आशामा साथीहरु पुलमा गित गाउदै अगाडी बढ्यो, अघिल्लो टोलीले झन् पारीबाट टर्च हामीतिर बालेर हौसला प्रदान गर्यो, हामीले झन् ठुलो स्वरमा गित गायौ । पुल कट्ने बित्तिकै आवाज आयो कहाँबाट आएको? किन के को हल्ला हो? कहाँ जाने? वहाँहरु प्रहरी पो हुनुहुदो रहेछ । चिसोमा रक्सीले झ्याप भएर बसेका एक प्रहरीको प्रश्न तेर्सियो पुल किन हल्लाएर हिडेको? टर्च किन बालेको? आदि आदि, हामीले जवाफ फर्कायौ हिन्दा पुल हल्ली हाल्छ नि । उनीहरुको मुड बुझेर भैगो भन्दै अगाडी बढ्यौ, नजिकैको होटेलमा हाम्रो खाने बस्ने तय भएको रहेछ । प्रहरीको व्यवहार देखेर यति रिस उठ्यो सक्ने भए नांगला पासमा तिन दिन लगातार कट्टुमा उभ्याउथे । तर पछी मनमनै माया लागेर आयो, कहाको मान्छे होला कहाँ आएको छ, कसरि बसेको छ । जनताको सुरक्षामा रातदिन जाडो नभनी खटिएको छ, उ महान छ, प्रहरी मेरो साथी ।खुट्टाको दुखाई बिर्साउने पेनकिलर र खाना खाएर नजिकै होटलको टेन्टमा सुत्यौ । बिहान ४ बजे तिर टेन्ट बाहिर कोहि आएको जस्तो लगेर शेर दाइले कोहो भनि कराउनु भयो, म ब्युझिए र मैले पनि चर्को स्वरमा कोहो कोहो भनि कराए।हिजो साँझ पुलिससंग अलि डिस्कस भएकोले कतै उनीहरु आएकी भन्ने शंका भयो, बाहिर निस्केर एक लट खुकुरी नचाउने कि भनेर पनि सोचियो, तर पछि सबै शान्त भयो । बिहान बुझ्दा सिर्जना बहिनि बाहिर गएकी रहिछन । केटाहरुले हुदै नभएको खुकुरी काण्डको पनि निकै प्रचार गरे।

दिन ९ : ल्यासीक्याप-दुनै

असोज १७ गते बिहानै उठेर चिया बिस्कुट खाएर दुनै तर्फ टोलि अगाडी बढ्यो। खुट्टालाई केहि बिसेक भएको थियो, ब्यान्डेज खोलेर फेरी कसे। अबको बाटो खासै अफ्ठ्यारो थिएन, तेर्सो तेर्सो अलिअलि ओरालो।बल्ल बारीमा फुलेका फुलहरु, ज्यादै फलेका खुर्सानी, फापर, सिमि देख्न पाइयो। बारीमा गाँजाहरु यसरी उम्रेका थिए कि मानौ नेपालले गाँजा खेतिलाई बैधानिकता दिइसक्यो र बिरोध खतिवडाको संयुक्त लगानीमा मैले विड फार्म खोलेको छु। रमाइलो गर्दा गर्दै गुम्बातारा पुगियो, त्यहाँ पशु सेवा शाखा र भौतिक रुपमा राम्रै स्वास्थ चौकी थियो। पशु सेवा शाखाको बोर्ड झुण्ड्याएकै नजिक मासुको सुकुटी झुन्डीनुले पशुले राम्रै सेवा पाइरहेको झल्को दिन्थ्यो, यो भनेर एकछिन सबै हास्यौ। धेरै तल आइसकेपछि लगभग साढे १२ बजेतिर अगाडी गएको टोलीले ब्यासीघाटमा बिहानको खानाको बन्दोबस्त गरेको थियो। हामि पुग्दा त अघिल्लो टोलि नुहाइधुवाइ गर्दै थियो, हामीले पनि पासपोर्ट साईज नुहाएर खाना खायौ। नजिकैको एक्क घरबाट ओखर किनेर खाइयो। खाना पछी हामि बिस्तारै दुनै तर्फ झर्यौ। दुनै पुग्नुभन्दा अलि माथि हाम्रो भेट आदरणीय चन्द्रजंग दाइसंग भयो, एकछिन भलाकुसारी गरि हामि अगाडी बढ्यौ।आज शनिवार भएकोले यसो घुम्न निस्केको भनेर चन्द्र दाईले नभनुन्जेल मलाई कुन बार थाहा थिएन।दिउसको लगभग ३ बजेतिर हामि दुनै पुग्यौ।जीवनमा एकपटक घुम्नै पर्ने सर्किट, जीवन र जनता, संस्कृति र त्यो मरुभूमि एकपटक पुग्नै पर्ने ठाउँ। सिमेन बाट धो सम्मै मज्जाको साइकल चलाउन मिल्ने बाटो, कयौ पटक साइकल सम्झिए। घरि घरि नेपालकै ठुलो राष्ट्रिय निकुन्जको क्षेत्रफल ५५५ वर्ग किमी मात्रै आभाष हुन्थ्यो। माथि त आफ्नै नियम आफ्नै शासन। दुनै सम्ममा समेत सरकारले गर्न सक्ने न्युनतम पनि केहि गरेको छैन, त्यसैले कर्णालीमा सरकार आवश्यक छैन। कर्णालीको विकास बिना नेपालको समृद्धि असम्भव प्राय छ।व्यवस्था फेरिए पनि जनताको जीवनमा तात्विक परिवर्तन छैन, जनता फेक स्माईल दिन बाध्य पारिएका छन्।दुनैमा एकछिन कपडा चेन्ज गरेपछि खाजा खान होटेलतर्फ गयौ, मिठो मम र कफी खाएर फर्कियौ। साँझ निकुन्जका आदरणीय दाजुहरु रामु, गोपाल, अक्षय, छत्र र लेखापाल लोकराज दाजु सहित वनको टोलिले संगै खाना खाएर हाम्रो टोलि हाम्रो होटलमा सुत्यो।

दिन १० : दुनै-राडी

असोज १८ गते बिहानको चिया नास्ता खाएर हामी सुर्खेत आउन तयार भएका थियौ। निकुन्जका लोकराज दाइ, रामु दाइ, अक्षय दाइ सहितको टोलि हामिलाई स्वागत तथा बिदाई गर्न आइपुग्नु भयो। चिया खाइसकेपछि निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन, जिल्ला कार्यसमीत, डोल्पाका अध्यक्ष गोर बहादुर बुढा दाजुको स्वागत मन्तब्य सहित वन कार्यालयको प्रतिक्षालयमा हामीलाई स्वागत गर्नुभयो। उक्त कार्यक्रमको उद्घोषण रामु दाजुले मिठो स्वरमा गर्नु भएको थियो।


हाम्रो तर्फबाट शेरबहादुर दाजुले धन्यवाद सहित आफ्ना कुराहरु राखेर पुन चिया बिस्कुट खादै हाम्रो टोलि सुर्खेतको लागि अगाडी बढ्यो, हिड्नु पर्ने झन्झट सकिएको थियो हामि सबै मोटरसाइकलमा हुईकियौ। त्रिपुराकोटमा आएर त्रिपुरासुन्दरी माताको मन्दिर दर्शन गर्यौ। मन्दिरको संरक्षक पुजनीय बुवा लक्ष्मीकान्त उपाध्याय हुनुहुदो रहेछ। उता अमेरिकाबाट सुरज दाजुले घरमा जानु बुवा आमा उतै हुनुहुन्छ, भेटेर आउनु भनेर म्यासेज गर्नुभएको कुरा पछी थाहा भयो, दुनैमा वहाँको घर चाही देखियो। अब हामीलाई हतार थिएन, बिस्तारै अगाडी बढ्यौ, कैले खोलाबाट मोटरसाइकल तार्दै, कैले पुलबाट तार्दै, अल्छी लागेको बेला मोटरसाइकल लडाऊदै खदांगमा बिहानको खाना खाएर दिउसको करिब ३ बजे राडीमा रहेको आठबिसकोट सब-डिभिजनमा पुग्यौ। त्यहाँ साथी मन बहादुरले हाम्रो लागि खाजाको व्यवस्था गरेका रहेछन। भर्खर खाजा खाएर सकेको थियौ, एउटा अकल्पनीय घटना भएको कुरा सुनियो, वन कार्यालय दैलेखमा काम गर्ने भाई चन्द्र खड्काको हृदयघातका कारण हामीबाट भौतिक रुपमा सधैका लागि टाढा भएको खबर थियो। सबैको मन अमिलो भयो, आँखा रसाए। यो दैवको लिला भर्खर लाउलाउ खाउखाउ भन्ने कलिलो २२ वर्षको उमेरमा टपक्कै टिपेर लग्यो, भगवान कति निष्ठुरी छ। अरु सबैको घर रुकुममै भएकोले मन दुखित पार्दै घरतिर जानुभयो, म र उत्तम भाई त्यहिँ बस्यौ। दैलेखबाट टोलि आउदै छ भन्ने खबर थियो, हामि भोलिपल्ट चन्द्र भाइको अन्तिम श्रदान्जलीमा सहभागी भएर सुर्खेततिर लाग्ने निधो गर्यौ।

दिन ११ : राडी-सुर्खेत

असोज १९ गते बिहानै सुरज भाइ हामि बसेको सब-डिभिजनमा आए। हामि ४ जना मन,उत्तम,सुरज र म रिम्ना हुदै सिम्ली तिर गयौ। चन्द्र भाइको अन्तिम श्रदान्जलीमा सहभागी हुन हामि भाइको घर भएतिर अगाडी जादै थियौ, मनको ससुराली होटेलमा एकछिन बसेका थियौ, शेरबहादुर दाजुको फोन आयो, दैलेखबाट टोलि हिडेको छैन रे, दिउसमात्र हिड्ने कुरा छ, तिमीहरु थाकेको पनि छौ सुर्खेत गैजाउ। हाम्रो बिहानको खाना मन बहादुरको घरमा तय भएको थियो, त्यसो हो भने हामि खाना खाएर सुर्खेत जाने भयौ। खाना खाएर ललितलाई भेट्ने कुरा भयो। मन बहादुरको आफ्नै दाजुको सिम्लीमा जय श्रीराम डेरी उद्योग छ, कर्णाली प्रदेशको उत्कृस्ट डेरीको रुपमा कृषि मन्त्रालयबाट पुरस्कृत भएको डेरी।


त्यहाँ गएर कुबेर दाजु संग १२ वर्षपछि ऐतिहाँसिक भेट भयो। उहा बिमारी भएर काठमाण्डौमा गएको बेला मनको कोठामा भेट भएको थियो, हाम्रो माया त्यैबेला देखि प्रगाढ थियो। कुबेर दाजुले म प्रति देखाएको माया सद्भाव देखेर उत्तम भाइ चकित भयो। हामीले करिब डेढ घण्टा भलाकुसारी गर्यौ। आज यतै बस्नुपर्छ भनेर धेरै कर गर्नुभयो, होटलवाला लाई बोलाएर मेरा भाईहरुले जे जे खान्छन सब दिनु, खानपिनमा कुनै कमि नहोस् भनेर भनि सक्नु भएको थियो। तर हाम्रो स्वास्थ्यस्थिति जसरि पनि आज सुर्खेत पुग्नु पर्ने खालको थियो। त्यति जोडबल गर्दापनि हामि दशैं लगत्तै स्यार्पू ताल घुम्न आउदैछौ त्योबेला बसौला भनेर छुट्टियौ, कुबेर दाजुले नरमाइलो मानिरहनुभएको थियो, माफी माग्दै मैले मोटरसाइकल स्टार्ट गरे। ललित र मन पनि कसैको जन्मदिनमा दिने गिफ्ट लिन चाइनाबगर सम्म जाने भए, हिडेको १५ मिनेट पनि भएको थिएन मोटरसाइकलको पछाडीको टायर पंचड भयो। उत्तम भाइलाई तिमि यतै बस म पंचड टालेर आउछु भनेर एक्लै मोटरसाइकल लिएर चाइनाबगर र रिम्ना जोड्ने पुल तरेर रिम्ना गए, कारब एक घण्टा पछि मोटरसाइकल बनाएर फेरी वारी चाइनाबगर आए, उत्तम भाई त्यहाँ आइसकेका रहेछन् र हुईकियौ सुर्खेततिर। अलि वर चौरजहारी नपुग्दै पारि जाजरकोटको मटेला तर्ने झुलुंगे पुल तरेर जानु भन्ने ललितको निर्देशन पालना गर्दै त्यसपछि पिचै पिच सल्लिबजारमा सेकुवा खाएर छिन्छु हुदै सात बजेतिर सुर्खेत पुग्यौ। सबै कुरा एक एक लेखे त किताब नै बन्ने रहेछ, सरसर्ती यात्रालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु।जीवनको एक अविस्मरणीय यात्रा सम्झिदा मन चङ्गा हुन्छ, तनाब सबै हट्छ। यस यात्रामा साथ दिनुहुने सम्पूर्णलाई सादुबाद।