अविश्वासको प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको आग्रह


नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटघाटमा कर्णालीका मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्ताबारे छलफल भएको बताइएको छ।

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीसँग भेट गरेर कर्णालीमा पछिल्लो पटक देखिएको राजनीतिक समस्या समाधान गर्न छलफल गरेको स्रोतले जनाएको छ।

‘दुबै नेताबीच कर्णालीमा सिर्जना भएको राजनीतिक समस्याबारे छलफल भएको छ,’ स्रोतले भन्यो,‘छलफलपछि उहाँहरुले अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदहरुलाई आग्रह गर्नु भएको छ।’

‘आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव ल्याउनु ठीक होइन्, यसलाई समाधान गरेर अघि बढ्न दुबै नेताबीच सहमति बनेको छ,’ स्रोतले भन्यो,‘उहाँहरुले असन्तुष्ट सांसदहरुलाई छलफल गरेर समस्या समाधान गर्न आग्रह गर्नु भएको छ।’

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रति असन्तुष्टि जनाउँदै नेकपाका १८ जना सांसदले आइतबार मुख्य सचेतकलाई अविश्वासका प्रस्ताव बुझाएका थिए। नेपालमा कुनैपनि मुख्यमन्त्रीविरुद्ध पहिलो पटक अविश्वासको प्रस्ताव आएको हो। अायाेमेल