नेकपा कर्णालीको विवाद: अहिलेसम्म पछि हट्ने स्थिति आएको छैन- गुलाबजंग शाह


सत्तासीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ताका लागि कसरत भए पनि शाहीले प्रमुख सचेतकबाट निलम्बन गरेका गुलाफजंग शाह अहिलेसम्म मगंलबार दिउँसो एक बजे बैठक बेलाउने मनस्थितिमै छन्।

उनले अविश्वासको प्रस्ताव फिर्ताका लागि आफूहरुलाई मनाउन केन्द्रीय तहबाट प्रयास हुनुलाई स्वाभाविक रुपमा लिएको तर आफूहरु पूर्वनिर्धारित समयको बैठकमा सामेल हुने बताए।

शाहले मगंलबार दिउँसो एक बजे कम्तीमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बहुमत १८ जना सांसदहरु भेला हुनेमा विश्वास व्यक्त गरेका छन्।

त्यसका लागि उनी बिहानैदेखि ती सांसदहरुसँग छलफल र परामर्शमा व्यस्त समेत बनेका थिए।

यता मुख्यमन्त्रीले प्रमुख सचेतक शाहलाई निलम्बन गरी उनको स्थानमा नियुक्त गरेकी सिताकुमारी नेपालीले भने मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र बैठक बोलाउनु पर्ने विधानमा व्यवस्था भए अनुसार कार्तिक ७ गते पार्टीको संसदीय बैठक बोलाएको दाबी गरेकी छिन्।

दुवै पक्षले संसदीय बैठक बोलाएपछि नेकपाको विवाद चुलिएको छ। यसअघि नेकपा अध्यक्ष दाहालले ओलीलाई उनकै निर्देशन कर्णाली प्रदेशमा गडबड भएको र त्यो सच्याउन हस्तक्षप गर्न उनलाई आग्रह गरेका थिए।

उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेर पूर्वमाओवादी खेमालाई धोका दिन खोजेको र स्थिति बिग्रनु पहिले अविश्वासको प्रस्ताव फिर्ता लिनु पर्ने चेतावनी दाहालले दिएका थिए।

दाहालले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई मात्रै बोलाएर गरेको ‘गोप्य भेला’ले कर्णाली प्रदेशबाट मुख्यमन्त्री शाहीलाई हटाइए अन्य प्रदेशमा पनि त्यस्तै अवस्था आउन सक्ने निष्कर्षसमेत निकालेको थियो। देशसञ्चार