कर्मचारीमा कोरोना देखिएपछि दैलेखको नारायण नगरपालिका सिल


दैलेख : कर्मचारीमा कोरोना पुष्टि भएपछि दैलेखको नारायण नगरपालिका सिल गरिएको छ। नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएकाले नगरपालिकाका सबै वडाहरू बुधबारदेखि सिल गर्ने निर्णय गरेको जानकारी दिएको हो।

नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएसँगै यो अझै फैलनसक्ने भएकाले असोज २८ गते बुधबारदेखि ७ (सात) दिनका लागि ११ वटै वडासहित नगरपालिका सिल गरिएको हो।

नगरपालिकाले चाडबाडकको समय भएकाले नागरिकलाई धेरै भीडभाड नगरी कोरोना संक्रमण हुनबाट बच्न अनुरोध समेत गरेको छ। यता, स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीका अनुसार मंगलबार मात्रै दैलेखका २३ जनामा कोरोना पुष्टि भएको छ।

११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म एक हजार १७९ जनामा कोरोना पुष्टि भएको छ भने एक हजार १०९ जना डिस्चार्ज भएका छन्।  दैलेखमा हालसम्म कोरोना चार जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। ७० जना आइसोलेसनमा बसिरहेका छन्‌। थाहाखबर