सुरक्षा सतर्कता अपनाउदैँ जनकल्याण साकोसको २५ औँ साधारणसभा सम्पन्न


०१ कार्तिक , सुर्खेत ।  कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा समेत सुरक्षा सतर्कता अपनाउँदै जनकल्याण साकोसले २५ औँ साधारणसभा सम्पन्न गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा अवस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको यस बर्षको साधारण सभामा ७१.५२ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको व्यवस्थापक खुमलाल न्यौपानेले वताए । एकै स्थानमा गर्न नसकिने अवस्था रहेकोले साधारणसभामा सदस्यहरुलाई उपस्थित हुन क्षेत्रगत रुपमा उपस्थिति केन्द्र तोकिएको र लिखित रुपमा टिप्पणी तथा सुझाव संकलन गरिएको थियो । व्यवस्थापक न्यौपानेले सहकारी विभाग र छाता संगठनको मार्गदर्शन बमोजिमका विधिहरु अवलम्वन गरि २५ औँ बार्षिक साधारणसभा सम्पन्न गरिएको पनी जानकारी दिए । सहकारी ऐनले तोकेको विधि अनुरुप साधारणसभा सम्पन्न गर्न नसक्ने भएपछि संस्थाले महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७ विकास गरि सोहि अनुरुप साधारणसभा सम्पन्न गरिएको थियो ।
२०७७ असोज २४ गतेदेखि असोज २९ गतेसम्म सदस्यहरुको उपस्थिति खुला गरिएको थियो भने सोहि अवधिमा सदस्यहरुसँग सुझाव तथा टिप्पणी संकलन गरिएको थियो । असोज ३० गते विहान टिप्पणीकर्ता सदस्यहरुसँग छलफल गरि सोहि दिन दिउँसो निर्णय प्रमाणित गरि साधारणसभा सम्पन्न भएको छ । यसअघि असोज १९ देखि २३ गतेसम्म बार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन र नीति तथा कार्यक्रम जागरण एफ. एम. ९०.८ मेघाहर्जबाट प्रसारण गरिएको थियो ।

गत भदौ महिनामा  नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को ३३ औँ स्थापना दिवसको अवसरमा जनकल्याणलाई कर्णाली प्रदेशको उत्कृष्ट सहकारी घोषित गरेको थियो।