राहतका नाममा ‘कनिका छराइ’: प्रतिपरिवार ४ किलो चामल, वडाबासी सबैलाइ वितरण



सुर्खेत । दैलेखको चामुण्डानिद्रासैनी नगरपालिकामा करिब १ हजार ९ सय बढि नागरिकहरु भारत तथा अन्य मुलुकबाट गएको चैतयता भित्रिएका छन् । कोरोना महामारीका कारण वडा नं १ मा नगरपालिकाभरका अन्य वडाको तुलनामा सबैभन्दा बढि नागरिक भारत तथा अन्य मुलुकबाट भित्रिएका छन् ।

नगरपालिकाको वडा नं १ को कार्यालयले वडाका नागरकिलाइ चाडपर्वलक्षित गरी राहत वितरण सुरु गरेको छ । नगरपालिकाले केहि महिनाअघि राहतस्वरुप वितरण गर्न दिएको १५ क्विन्टल चामल अहिलेसम्म थन्काएर चाडपर्वलक्षित गरी चामल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

नगरपालिकाले दिएको १५ क्विन्टल र बाँकि वडाको करिब १ लाख बजेटबाट करिब १३ क्विन्टल चामल खरिद गरी जम्मा २८ क्न्टिल चामल वितरण गर्न लागिएको वडाअध्यक्ष रंगबहादुर तामाङले जानकारी दिए । उनका अनुसार वडामा करिब ७ सय घरधुरी रहेका छन् । प्रत्येक घरधुरीलाइ ४ किलोका दरले चामल वितरण गर्न थालिएको अध्यक्ष तामाङले बताए ।

राहातको नाममा ‘कनिका छराइ’ गरको स्थानीयको आरोप

वडा कार्यालयले राहात वितरणको नाममा ४ किलो चामल दिएर खिस्सी गरेको स्थानियले गुनासो गरेका छन् ।

‘यहाँ औषतमा एउटा परिवारमा ६ जना सदस्य हुन्छन् । ४ किलो चामलले ४ दिनपनि खान पुग्दैन । वडा कार्यालयले यसरी कुखुरालाई चारो छर्किएजसरी चामलमात्रै वितरण गरेको छ ।’ एक स्थानियले भने, ‘जसरी कुखुरालाइ चारो फ्याँकिन्छ त्यसरी चामल वितरण गरेर वडा कार्यालयले आफ्नो उत्पादनले १२ मकिला खान पुग्ने र १ महिनासमेत खान नपुग्ने नागरिकलाई एउटै दर्जामा राखेर चामल बाँडियो ।’

वडास्थित चापागाउँका करिब ९५ प्रतिशत नागरिकहरुको आयआर्जन भारतमा निर्भर रहेको बताउँदै स्थानीय शिक्षक हर्क विकले कोरोनाका कारण उनिहरुलेआयआर्जन गर्न नपाएको र आफ्नो खेतको उब्जनीले धेरै समय खान नपुग्ने समस्या भएको बताए । विकले त्यस्ता आर्थिक रुपले विपन्नहरुलाई प्राथामिकतामा राखेर अलि ठुलो परिणाममा राहात वितरण गर्नुपर्ने बताए ।