मौलिक रूपमै रानीपोखरी


काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी मल्लकालीन स्वरूपमा फर्किएको छ। भूकम्पले भत्काएको पाँच वर्षपछि रानीपोखरीको पुनर्निर्माण मौलिक स्वरूपमै सम्पन्न भएको हो।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जल अर्पण गरी रानीपोखरी उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पूजाको आरतीसमेत लिइन्। त्यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए। राष्ट्रपति भण्डारीले नै २०७२ माघ २ गते रानीपोखरी पुनर्निर्माण कार्यको शिलान्यास गरेकी थिइन्।

२०७२ वैशाख १२ को भूकम्पले रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भत्काएको थियो। बालगोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुट शैली (शिखर शैली)मा निर्माण भएको छ। भूकम्पले भत्किनुअघि गुम्ब शैलीको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले रानीपोखरी पुरानो मौलिक शैलीमै फर्किएको जानकारी दिए। प्रवक्ता अर्यालका अनुसार पोखरी र मन्दिर पुनर्निर्माणमा झन्डै २८ करोड रुपैयाँ खर्च भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट पानी ल्याएर पोखरीमा हालिएको उनको भनाइ छ। १२३.७ किलोे तामाबाट बनेको र सुनको जलप लगाइएको गजुर गत असोज १५ गते स्थापना गरिएको थियो।

सम्पदा एवं संस्कृतिविद् डा. गोविन्दप्रसाद टण्डनले पुरानै शैलीमा रानीपोखरीको पुनर्निर्माण हुनु राम्रो कुरा भएको बताए। ‘पुरानै शैलीमा आयो, यो राम्रो हो’, संस्कृतिविद् टण्डनले भने, ‘प्रताप मल्लकालीन शिखर शैलीमै बन्यो। यो सबैका लागि खुसीको कुरा हो।’ उनले पोखरी वरिपरिका धारा सुकेकाले पानी व्यवस्थापन कसरी हुन्छ भन्ने विषय गम्भीर रहेको बताए। उनका अनुसार भोटाहिटीको ढुंगेधारा, छग्गु: ठ: हिटी, तीनधारा पाठशाला सुकिसके। भूमिगत बाटो बनाएर पानी आउने जाने प्रणाली २०४१ सालमा बन्द गरियो।

अर्का सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले पुरानो इतिहास फर्काउन सकेकामा खुसी व्यक्त गरे  । जनताको भावनात्मक सम्बन्ध जोडिएको रानीपोखरीको पुनर्निर्माणबाट आएको जागरण सन्देश संस्कृति र सम्पदाको संरक्षणमा ठूलो उपलब्धि भएको उनको ठम्याइ छ।

खेर गयो ४ करोड खर्च
पोखरी पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकालाई दिइएको थियो। मन्दिरमा पुरातत्व विभागले काम गर्ने निर्णय भई पुनर्निर्माण अघि बढाइएको थियो। तर,  शिलान्यासपछि सिमेन्ट प्रयोग गरिएको भन्दै सम्पदाकर्मीले व्यापक विरोध गरेका थिए। यसले गर्दा तीन वर्ष काम प्रभावित भयो। बनाइएका संरचना पनि भत्काउनुपर्दा करिब ४ करोड रकम खेर गएको थियो।

काठमाडौं महानगरको कार्यपालिका बैठकले २०७४ पुस १३ गते रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको थियो। उक्त विज्ञ समूहले माघ ७  गते मन्दिरलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न‘पर्ने रायसहित प्रतिवेदन पेस गरेको थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा २०७५ कात्तिक २० गते बसेको सरोकारवालाको बैठकले मल्लकालीन शिखर (ग्रन्थकुट) शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले २०७५ माघ १४ मा पोखरी, मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो। रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न २०७५ फागुन १५ मा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको थियो।

भूकम्पले भत्काएका पुरातात्विक तथा ऐतिहासिक सम्पदामध्ये यो पुनर्निर्माण पहिलो भएको जनाइएको छ। धरहरा, सिंहदरबार, काष्ठमण्डपलगायत हनुमान ढोकाभित्रका सम्पदाको पनि पुनर्निर्माण भइरहेको छ। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले ४ सय ५३ वटा सम्पदाको पुनर्निर्माण भइसकेको जानकारी दिए। उनका अनुसार स्वयम्भूको प्रतापपुर, अनन्तपुर, हनुमान ढोकाको वंशगोपाल, कागेश्वर, शिवमन्दिर तथा पाटनका शंकरनारायण, चारनारायणलगायतको पुनर्निर्माण भइसकेको छ। भूकम्पबाट ३१ जिल्लाका ९ सय २० सम्पदा भत्किएका थिए। यीमध्ये २ सय ९८ वटाको पुनर्निर्माण कार्य चलिरहेको छ।

राजा प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्रको मृत्युपछि शोकमा डुबेकी रानीलाई खुसी पार्न १७२६ सालमा रानीपोखरी निर्माण गराएका थिए। उनले पोखरीको बीचमा शिखर शैलीको मन्दिरसमेत निर्माण गराएका थिए। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि उनले निर्माण गराएका थिए। २०७२ सालको भूकम्पले भत्काउनुअघि रानीपोखरी गुम्बज शैलीको थियो।

पुनर्निर्माण महाअभियान निरन्तर : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौंठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गति लिएको बताएकी छन्। पुरानै शैली, स्वरूप र प्रविधिमा रानीपोखरीको जीर्णोद्धार एवं पुनर्निर्माण सम्पन्न भएको राष्ट्रपति भण्डारीको भनाइ छ।

राष्ट्रपतिले रानीपोखरी क्षेत्रलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशालासमेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको बृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान निर्देशनसमेत दिइन्। ‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौंवासीलाई विशाल खुला क्षेत्र उपलब्ध हुनेछ’, राष्ट्रपतिले बुधबार रानीपोखरी उद्घाटनका क्रममा भनिन्, ‘यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रूपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएकी छु।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायत पुनर्निर्माण कार्यको पछिल्लो अवस्थाबारे जानकारी  दिए। ‘यही मंसिरभित्र सिंहदरबारको मुख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौं’, ज्ञवालीले भने, ‘पुस महिनाभित्र २२ तलासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौं।’ धेरै उतारचढावका बीच रानीपोखरी यो अवस्थामा पुगेको उनको भनाइ थियो।

राष्ट्रपति भण्डारीले रानीपोखरी नजिकै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालय उद्घाटन गरेकी हुन्। विद्यालय भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु‍र्‍याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिइन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको सहभागिता थियो। विद्यालय भवन निर्माण गर्ने चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवालीलाई हस्तान्तरण गरेका थिए। त्यसपछि उक्त साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण  गरिएको थियो। चीन

सरकारको ८५ करोड रुपैयाँ सहयोगमा निर्माण भएको भव्य भवन चार तलाको छ। साढे ९ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् । अन्नपुर्णपाेष्ट