कर्णाली प्रदेश विवाद : आज संसदीय दलको बैठक राख्‍ने प्रचण्ड-नेपाल समूहको तयारी


काठमाडौं । केन्द्रले ठोस निकास नदिएपछि कर्णाली प्रदेशमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसदीय दलको बैठक राख्ने तयारी गरेको छ । संसदीय दलको बैठकका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही र माधव नेपाल समूहका काठमाडौं आएका सबै प्रदेशसभा सदस्यहरू सुर्खेत पुगिसकेका छन् ।

“विवाद समाधानका लागि पटकपटक छलफल गरेको अध्यक्षद्वयले कुनै निकास दिन सक्नुभएन । अन्तिममा उहाँहरूकै मत बाझियो,” नेपाल समूहका एकजना नेताले बाह्रखरीसँग भने, “अब प्रदेश संसदीय दलको बैठकबाट विधिवत् रूपमा अविश्वासको प्रस्ताव फेल गर्ने र अघि बढ्ने तयारी भएको छ ।”

संसदीय दलमा ३३ जना छन् । गत आइतबार १८ जना सांसदहरूले अविश्वासको प्रस्ताव अघि सारेका थिए । जसमा पार्टी अध्यक्ष ओली समूहका ८ जना, नेपाल समूहका ७ जना र पूर्वमाओवादी केन्द्रका ३ जना सांसद थिए ।

नेपालपक्षले अविश्वासको प्रस्तावबाट आफ्नो समर्थन फिर्ता लिइसकेको र पूर्वमाओवादी केन्द्रका सांसदहरू पनि फिर्ता भइसकेको ती नेता बताउँछन् ।

हस्ताक्षर गर्ने ओली समूहका ८ जना सहमतिमा नआए पनि मुख्यमन्त्री बहुमत मै रहेकाले अविश्वासको प्रस्तावलाई प्रक्रियाबाटै फेल गराउन लागिएको नेपालपक्षका नेताको दाबी छ । संसदीय दलमा प्रचण्ड–नेपाल समूह मिल्दा शाहीसँग २१ सांसद हुन्छन् ।

यता ओली समूह बैठकमा नजाने बताउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पक्षलाई अविश्वासको प्रस्ताव र मुख्य सचेतक हटाउन कदम फिर्ता लिन निर्देशन दिइसकेको र त्यसमा प्रचण्डको पनि समर्थन रहेको जिकिर गर्दै अवैधानिक बैठकमा सहभागी नहुने उनीहरूको अडान छ ।

“कोमामा गइसकेको संसदीय दल र त्यसका नेताले नियुक्त गरेको मुख्य सचेतकले बैठक बोलाउने अधिकार छैन,” निलम्बित सचेतक गुलाबजङ्ग शाहले बाह्रखरीसँग भने, “संसदीय दलको विधानको जुन धाराको हवाला दिँदै बैठक बोलाइएको छ, त्यो धाराअनुसार अहिले बैठक बस्नै सक्दैन ।”

उनले भोलि बैठक नै बस्न नसक्ने पनि जिकिर गरे । “प्रचण्ड–नेपाल समूह मिल्दा बैठक बसेर फेस गर्न सकिन्छ भन्ने उहाँहरूलाई लागेको हुनसक्छ । तर, बैठक बस्न सक्ने अवस्था छैन,” उनी भन्छन् ।

यस्तो छ संसदीय दलको अङ्कगणित

संसदीय दलमा सांसद संख्या– ३३
बहुमतका लागि आवश्यक पर्ने सदस्य सङ्ख्या– १७
मुख्यमन्त्री महेन्द्रबहादुर शाही– १३
माधव नेपाल समूह– ८
ओली समूह– ११

बाह्रखरी