जनार्दन र शक्तिकाे दाेहाेराे चेपुवाले कमजाेर मुख्यमन्त्री


कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार त परको कुरा, आफ्नै सचिवालय पनि गतिलोसँग सञ्चालन गर्न सकेनन् । नेता जनार्दन शर्मा र शक्ति बस्नेतको चेपुवामा परेका मुख्यमन्त्री शाहीमाथि प्रधानमन्त्री केपी ओली समूहका यामलाल कँडेल र माधव नेपाल समूहका प्रकाश ज्वालाको दबाब थेग्न सक्ने कुरै थिएन ।

मुख्यमन्त्री शाही पछिल्ला वर्षमा नेता जनार्दन शर्मा र शक्ति बस्नेतबीच सन्तुलन मिलाउने प्रयासमा थिए । तर, मेसो नपुर्‍याई सन्तुलनको प्रयास गरेका शाहीसँग शर्मा भने निकै रुष्ट थिए । प्रदेशको इञ्चार्जसमेत रहेका शर्माको बोलवालाका अघि एक बेला उनीविरुद्ध बोल्न पनि सक्ने अवस्था थिएन ।

नेता शक्ति बस्नेत पनि निरीहझैँ हुन्थे । काठमाडौंमा विज्ञ समूह बनाउने र त्यसको प्रमुख आफैँ भएर कर्णाली प्रदेश सरकारलाई निर्देश गर्ने शर्मालाई मुख्यमन्त्री शाहीले क्रस गर्न थालेका थिए, सचिवालयमा शक्ति बस्नेतनिकट मान्छेहरूको नियुक्ति गरेर । त्यसले गर्दा शर्मा पनि शाहीलाई सबक सिकाउने प्रयासमा थिए । र, अहिले त्यसैको मौकाको रूपमा पनि कर्णालीमा व्याख्या हुन थालेको छ ।

मुुख्यमन्त्री शाहीले प्रमुख स्वकीय सचिवमा जुम्लाका वीरबहादुर कुँवरलाई राखेका थिए । कुँवर सुर्खेतको लाटीकोइलीमा एक साँझ तास खेल्ने क्रममा प्रहरीले पक्राउ गरेको घटना बाहिरियो । अनि कुँवरलाई मुख्यमन्त्री शाहीले हटाए । त्यसपछि मुख्यमन्त्री शाहीले ल्याए, खेम सिंह ।

सिंह वन तथा वातावरणमन्त्री शक्ति बस्नेतनिकट विद्यार्थी नेता हुन् । सिंह पूर्वमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवको उम्मेदवार थिए, बस्नेत समूहबाट । अनि जनादर्न शर्माको समूहबाट महासचिव थिए उत्तम अधिकारी । प्रचण्ड नेतृत्वको माओवादीमा वैद्य माओवादीबाट आएका रामबहादुर थापाको प्यानलबाट उठेका थिए अधिकारी । अधिकारी महासचिवमा निर्वाचित भए ।

यहाँ सिंहको प्रसंग जोडिनुको कारणचाहिँ कर्णालीका दुई नेता शर्मा र बस्नेतको लडाइँसँग जोड्नु हो । जति बेला सिंह र अधिकारी महासचिवमा प्रतिस्पर्धा गर्दै थिए, त्यतिबेला अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङको प्रतिस्पर्धा थियो । जनादर्न शर्माका भाइ थिए अनिल । तिनै अनिललाई हराउन रञ्जितको प्यानलबाट सिंहलाई महासचिवमा शक्ति बस्नेतले उठाएको चर्चा थियो ।

हुन पनि, महासचिवमा अनिल समूहका अधिकारी निर्वाचित भए र अनिल आफैँचाहिँ थोरै मतले पराजित भए । अर्थात् जनार्दनको मान्छे भनिएका महेन्द्रबहादुर शाहीले कुँवर हटेपछि शक्ति बस्नेतको मान्छे खेम सिंहलाई प्रमुख स्वकीय सचिवमा ल्याएपछि शाहीसँग शर्मा असन्तुष्ट थिए ।

शर्माको असन्तुष्टिको अर्को कारणचाहिँ जननाथ योगीको प्रसंग पनि हो । योगी मुख्यमन्त्री शाहीको जनसम्पर्क सल्लाहकार छन् । उनी पनि बस्नेत समूहकै मान्छे हुन् । मुख्यमन्त्री शाहीले दुईवटा मुख्य गौँडामा बस्नेतनिकट व्यक्तिलाई नियुक्त गरेर सन्तुलन राख्न खोजेका थिए । किनभने प्रमुख राजनीतिक सल्लाहकारचाहिँ शर्माकै आफन्त भीमप्रसाद शर्मालाई नियुक्त गरेका थिए ।

सल्यानका शर्मा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार गुलाबजंग शाहको बागी उठेका थिए । झण्डै ८ हजार मत ल्याएका शर्मालाई मुख्यमन्त्री शाहीले शर्माकै दबाबमा प्रमुख राजनीतिक सल्लाहकार मात्र बनाएनन्, भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा पनि दिए । गठबन्धनलाई धोका दिने व्यक्तिलाई सल्लाहकार मात्र होइन, मन्त्रालयकै जिम्मा दिएपछि निर्वाचित सांसद तथा प्रमुख सचेतक गुलाबजंग शाह रुष्ट हुनु अन्यथा नै थिएन ।

मुख्यमन्त्री शाही कतिसम्म निष्ठुर भए भन्ने अर्को उदाहरणचाहिँ ठम्मरबहादुर विष्टको प्रसंगले पनि पुष्टि गर्छ । सशस्त्र युद्धकालमा शाही सातौँ डिभिजनको कमाण्डर हुँदा विष्ट ब्रिगेड कमाण्डर थिए । शाही र विष्टको संगत निकै लामो हो । विष्ट शाहीको दाहिने हातको रूपमा चिनिन्थे । शान्ति प्रक्रियाकालमा अनमिनका टोली सातौँ डिभिजन दशरथपुर आउँदा भाषा अनुवाद गर्ने जिम्मा शाहीले विष्टलाई नै दिएका थिए । अंग्रेजी भाषामा राम्रो दख्खल भएका विष्टलाई शाहीले पछि सुर्खेत आँउदा पनि सँगै लिएर आए । तर, जब मुख्यमन्त्री भए, त्यसपछि विष्टसँगको सम्बन्ध यस्तरी टाढियो कि २५ असोजसम्म आइपुग्दा त शाहीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिए ।

पूर्वमाओवादीबाट हस्ताक्षर गर्ने अर्की सांसद पुष्पा घर्तीको प्रसंग पनि कम रोचक छैन । हुनलाई उपसभामुखको पदको गरिमालाई कायम राखेर अविश्वासको प्रस्ताव घर्तिले हस्ताक्षर गर्नु नै गलत थियो । तर, त्यसो गर्नुमा एकातिर सभामुख राजबहादुर शाहीको पेलान त थियो नै श्रीमान् नरबहादुर विष्ट र सांसद विन्दमान विष्टको राजनीतिक लडाइँले पनि काम गरेको थियो । पश्चिम सुर्खेत ती दुई विष्टको निर्वाचन क्षेत्र एकै हो ।

पहिलो संविधानसभा निर्वाचनमा नरबहादुर विष्ट सुर्खेतबाट सभासद् थिए भने विन्दमान विष्ट विद्यार्थी नेता । विन्दमान विष्ट शक्ति बस्नेत समूहका नेता हुन् । नरबहादुर जनानर्दन शर्माकै समूहका हुन् । तर, सुर्खेत पश्चिमका यी दुई विष्ट हरेक मोर्चामा दुईविपरीत धारमा उभिन्छन्  । त्यसैको प्रतिबिम्बन हो घर्तीको हस्ताक्षर प्रकरण ।

अहिले शक्ति बस्नेत समूहबाट प्रदेश सभामा विन्दमान विष्ट, रातो कामी, कृष्णा शाहलगायत पाँच जना सांसद छन् । शिलापत्रबाट