कोरोना संक्रमितको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्नेछ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्ने बताएका छन् ।

आज देशवासीका नाममा सम्बोधन गर्दै उनले महामारीका बेलामा नागरिकको जीवनरक्षा सरकारको नि:सर्त कर्तव्य रहेको भन्दै कोरोना संक्रमण नियन्त्रण गर्न र संक्रमितको उपचारमा पहल गरिरहेको बताए ।

महामारीबाट नागरिकको जीवनरक्षा गर्नु सरकारको कर्तव्य रहेको भन्दै उनले परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्ने भन्दै निश्‍चिन्त रहन सबैलाई आग्रहसमेत गरे ।

त्यस्तै, कोरोना भाइरसको खोपमा सहज नेपाली नागरिकको पहुँचका लागि समेत सरकारले पहल गरिरहेको उनले जानकारी दिए । लकडाउन सुरु भएको चैत ११ देखि यता जनतालाई भयभित बनाउने थुप्रै अफवाह फैलाइएको भन्दे उनले यस्ता भ्रमका तुवाँलो विस्तारै हट्ने पनि बताए ।