पद दुरुपयोग गरी जुटाएको बहुमत मान्य हुन्न, यसले झन द्वन्द्व निम्तायो


नेकपा कर्णालीका सहन्चार्ज यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद दुरुपयोग गरी र सांसदहरुलाई प्रलोभनमा पारी बहुमत पुर्याई अनाधिकृतरुपमा आफ्नो पद जोगाएर झन द्वन्द्व बढाएको आरोप लगाएका छन्।

नेता कँडेललगायत नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहिबिरुद्ध १२ दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरेकोमा शाहीको अग्रसरतामा बिहीबार आयोजित संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत पुर्याएको भन्दै कँडेलले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘अनाधिकृत व्यक्तिको अध्यक्षतामा गरेको बैठकले गरेको निर्णय मान्य हुँदैन। अविश्वासको प्रस्ताव दर्ता भएसँगै निलम्बित मुख्यमन्त्रीले नयाँ नियुक्त गरेको व्यक्तिले अध्यक्षता गर्नुभयो। यसले नेकपाभित्रको लोकतन्त्रलाई धारासायी बनायो।’

मुख्यमन्त्री शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विवाद मिलाउने जिम्मा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लिएपनि उनीहरुले नै सहमति नगरी यही कार्तिक चार गते छुट्टाछुट्टै विरोधाभासपूर्ण सहमति सार्वजनिक गरेका थिए।

ओलीले दाहालसँग भएको भनेको सहमति कार्यान्वयनका लागि एक्लै मुख्यमन्त्री शाहीलाई लिखित निर्देशन दिएको पात्र बिहीबार सुर्खेतमा संसदीय दलको बैठक बस्नुअघि सार्वजनिक भएको थियो। देशसञ्चार