चन्दननाथमा मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी


जुम्ला सदसमुकाम खलङ्गा

चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता जनाएका छन् । बेरोजगार भई भौँतारिएका युवले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता जनाएका हुन् ।

नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको मेयर रोजगार कार्यक्रममार्फत ६ महिने मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको थियो । नगरपालिकामा रहेका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो । आर्थिक २०७६/०७७ को नीति तथा कार्यक्रममै बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने नीति नगरपालिकाले लिएको थियो । मेयर रोजगार कार्यक्रममार्फत बेरोजगारलाई जीवनोपयोगी सीप सिकाएर रोजगारी प्रदान गरिने नगपालिकाले जनाएको थियो । उक्त कार्यक्रममार्फत नगरपालिकाका १० वटै वडाका एक/एक बेरोजगार युवालाई पहिलो चरणमा ६ महिने तालिम प्रदान गरिएको नगर प्रमुख कान्तिका सेजुवालले जानकारी दिइन् ।

तालिम समापनका अवसरमा नगर प्रमुख सेजुवालले नगरपालिकामा अब कोही पनि बेरोजगार नबस्ने बताइन् । उनका अनुसार मेयर रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम प्रदान गरिएको छ । तालिम अवधिभर सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरिन् ।

बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको भन्दै तालिम लिएका १० युवालाई नगरपालिकाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरिद गरी उपलब्ध गराएको छ । जुम्ला बजारमा बाह्य देश तथा जिल्लाका जनशक्तिले मोटरसाइकल मर्मतमा बजार जमाएको भन्दै उनले स्थानीय युवालाई लक्षित गर्दै पहिलो चरणमा तालिमको आयोजना गरिएको बताइन् । (रासस)