मैले ‘मिस’ गरेको त्यो दसैँ !


हामी लामो समयदेखि चाबहिल (बोलिचालीमा चाबेल) क्षेत्रमा बस्दै आएका हौँ । चाबेल सांस्कृतिक रूपमा सम्पन्न ठाउँ पनि हो । त्यसैले चाडपर्वका समयमा चाबेलमा आफ्नै किसिमको रौनक रहन्छ । चाबेल गणेस्थान मन्दिर र चारुमति विहारका कारण पनि त्यस क्षेत्रमा समयसमयमा विभिन्‍न जात्रा र पूजापाठ हुँदै आएको छ । झनै गुह्‍येश्‍वरी, पशुपतिनाथ र जयबागेश्‍वरी यही क्षेत्रमा पर्ने भएकाले पनि चाडपर्वमा चाबेलमा रौनक बढ्नु आफैंमा महत्त्वपूर्ण हो ।

दसैँ बाल्यावस्थामै रमाइलो हुन्छ । सबैले अनुभूत गर्ने र स्मरण गर्ने बाल्यकाल र किशोरकालको दसैँ नै हो । किनभने त्यसबेला हामी आफूमै रमाउँथ्यौँ । चाडबाडका बेला भएकाले घर-परिवार, साथीभाइ, नातागोतामै बढी उठबस हुन्थ्यो ।
दसैँ आउनुभन्दा एक महिना अघिदेखि नै हाम्रा लागि दसैँको माहोल सुरु हुन्थ्यो । त्यसबेला हामीले रमाइलो गर्ने भनेको लङ्गुरबुर्जा खेल्ने वा त्यो हेरेर बस्‍ने, डमरु बजाएर हिँड्नेजस्ता दसैँको रमाइलो सुरु गरिसकेका हुन्थ्यौँ ।

त्यसदेखि बाहेक घरका ठूलाबडाहरूलाई उहाँहरूसँगै बजार जाने र लुगाफाटा किन्‍नलाई दबाब दिने काममा लाग्थ्यौँ । केटाकेटीको दसैँ त्यही त हो ! दसैँ सुरु भएपछि नवरात्रि जाने चलन थियो । अहिले त काठमाडौंमा जाडो नै छैन । हैन भने पहिलेपहिले त दसैँमा हामी टोपी, स्वेटर, पञ्‍जा लगाएर निस्किन्थ्यौँ । त्यसबेला त्यति जाडो हुन्थ्यो !

नवरात्रि जानलाई बिहानको ३ बजेतिर निस्कियो र ७-८ बजेतिर घर फर्कियो । हामी समवयी केटाहरूको बेग्लै समूह हुन्थ्यो । रमाइलो हुन्थ्यो । अलि ठूलो भइसकेपछि हामी पूरै समूह नै साइकल चढेर नवरात्रि घुम्‍न जान्थ्यौँ ।

दसैँताका बारीमा लटरम्म अम्बाहरू फलेका हुन्थे । त्यो अम्बाको बास्नाले हाम्रो मनै लोभ्याउँथ्यो । वास्तवमा दसैँको आकर्षण भनेकै लामो छुट्टी, साथीभाइसँग रमाइलो, नयाँ लुगाफाटा, खानपान र टीका अनि दक्षिणा नै हुन्छ । त्यसैले दसैँको प्रतीक्षा हामी हरेक वर्ष गरिरहेका हुन्थ्यौँ ।

एउटा दसैँ स्मृति अचम्मसँग गडेर बसेको छ मेरो मनमा । म सानै थिएँ । यस्तै पाँच-सात वर्षको । त्यो वर्ष हाम्रो घरमा दसैँ नहुने भयो । केही जुठो परेको थियो सायद । मलाई जुठो-सुतक के हो भन्‍ने पनि थाहा थिएन ।

त्यस वर्ष घरमा काट्न भनेर ल्याएको खसी पनि अरूलाई नै दिएर पठाइयो । टीका लगाउनै नहुने भयो । अर्थात् खानपानदेखि टीका दक्षिणासम्म पनि बन्द भयो । त्यो के कारणले बन्द भयो, मलाई थाहा थिएन । थाहा हुने कुरै पनि भएन ।
दसैँ नै मनाउन न पाएपछि त बाहिर खेल्न जाने कुरा पनि भएन । रमाइलो गर्न पनि सकिएन । दसैँ मनाउन नसकिएको त्यो प्रसंग आज पनि सम्झिन्छु । र आज पनि मेरो चित्त दुखेर आउँछ !

फूलपातीको एक-दुई दिन अघि घटेको एउटा घटनाले त्यो वर्षको दसैँको माहोल नै बिगारेको थियो । आज पनि त्यो मेरो जीवनमा ‘मिस’ भएको ठूलो कुरा हो भन्‍ने लागिरहन्छ !

दसैँको एउटा अर्को प्रसंग पनि छ, जुन समाजसेवासँग पनि जोडिएको छ । २०४६ तिरको कुरा हो । चाबेल क्षेत्रका हामी केही युवा सामाजिक क्षेत्रमा क्रियाशील थियौँ । त्यसबेला हेल्प नेपाल नेटवर्कको स्थापना भइसकेको थिएन । लागु पदार्थको प्रयोगविरुद्ध विभिन्‍न सचेतनामूलक कार्यक्रमहरू गर्नलाई हामीले ‘याद’ (युथ एगेन्स्ड ड्रग) नामको एउटा संस्थाको सुरु गरेका थियौँ । त्यसको केही समयपछि हामीले नै स्थापना गरेको ‘आह्‍वान समूह’ पनि स्थानीय रूपमा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील हुन थाल्यो ।

समाजसेवामा रुचि राख्‍ने युवाहरूको राम्रो जमात थियो त्यहाँ । त्यसैले हामीले त्यस संस्थाका माध्यमबाट बेलाबेलामा विभिन्‍न कार्यक्रमहरू गर्दै आएका थियौँ ।

०४६ सालमै हामीले लागुपदार्थको कुलतविरुद्धको सन्देश बोकेको एउटा सडक नाटक गर्ने तयारी गर्‍यौं । त्यो नाटक काठमाडौं बाहिरका केही सहरहरूमा पनि प्रदर्शन गर्ने तयारी गरिरहेका थियौं, हामीले ।

तयारी सकिएपछि नाटक मञ्‍चनको थालनी दसैँको घटस्थापनाका दिन गरिने व्यवस्था मिलायौँ । घटस्थापनाको दिन गुह्‍येश्‍वरी मन्दिरअगाडिको खाली स्थानमा हामीले नाटक गर्ने निधो गर्‍यौँ । किनभने नवरात्र सुरु हुने भएकाले त्यहाँ बिहानैदेखि भिड हुने निश्‍चित थियो । त्यसैले त्यो स्थान सबैभन्दा उपयुक्त लाग्यो हामीलाई ।

उक्त नाटकमा माग्‍नेको भूमिकामा नाटकका लेखक तथा निर्देशक राधाकृष्ण पुडासैनी आफैं देखिँदै हुनुहुन्थ्यो । नाटक सुरु हुनुभन्दा केही समयअगाडि नै माग्‍नेको भूमिका निर्वाह गर्ने पुडासैनीजी गोल्टिन र त्यस्तै एउटा भाँडा लिएर बस्‍नुभयो, मन्दिरअगाडि । उहाँको गेटअप पनि माग्‍नेजस्तै थियो ।

सूत्रधारले नाटकका विषयमा बताउँदै नाटक सुरु गरे । बेलाबेलामा भूमिका अनुसार पुडासैनीजी घरी नाटकको दृश्यभित्र पस्‍नुहुन्थ्यो । घरी बाहिर निस्केर फेरि माग्‍न थाल्नुहुन्थ्यो । वास्तवमा, पुडासैनीजी नाटकमा पूरै भिज्‍नुभएको थियो !

त्यस दिन त्यो नाटक धेरैले मनपराए । धेरैले हामी सबैलाई शुभकामना पनि दिए । कलाकारहरूको तारिफ गरे । प्रेसले पनि त्यतिबेला नाटकलाई राम्रो कभरेज गरेको थियो ।

त्यो दिन राधाकृष्णजीले सुका मोहर गरेर करिब ३५ रुपैयाँ जति बटुल्नु भएको थियो भने केही माना चामल पनि उहाँको बटुकोमा परेको थियो । उहाँको भूमिकाको सार्थकता र चरित्रमा भिज्‍नुभएकै कारण त्यो उहाँलाई मिलेको थियो । मलाई केही समय अगाडिसम्म पनि पुडासैनीजीले त्यो चामल र पैसा अहिलेसम्म पनि आफूले राखिरहेको बताउनुभएको थियो ! सायद अहिले पनि होला ।

त्यसैले दसैँ आयो कि मेरो सम्झनामा त्यो दृश्यहरू आज पनि घुम्‍न थाल्छ । खासमा त्यो हामीले गरेको कामको पारितोषिक नै थियो भन्‍ने मलाई लाग्छ ।

(समाजसेवी तथा हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्‍नेतसँग गरिएको कुराकानीमा आधारित ।)

बाह्रखरीबाट