मुकेश हत्या प्रकरण : पूर्वसांसद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता, अनुसन्धान सुरु


काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनपछि नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता भएको छ । चौरसियाको हत्या अभियोग लागेका पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत आएको जाहेरी दर्ता गरेको हो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख (डीआईजी) धीरजप्रताप सिंहले जाहेरी दर्ता भएसँगै अनुसन्धान सुरु गरिएको बताए  । उनले भने, “दुईजना पक्राउ परिसकेका छन् । अब प्रहरीले जाहेरीमा भएका सबैको खोजतलास गर्छ । हामी सूक्ष्म अनुसन्धानमा जुटिसकेका छौं ।”

यसअघि प्रहरीले प्रारम्भिक अनुसन्धानमा गुप्ताको संलग्‍नता नदेखिएको भन्दै उनीविरुद्ध आएको जाहेरी लिन अस्वीकार गरेको थियो  ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझेका थिएनन् ।

कात्तिक ६ गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रम थियो । सोही कार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षले आफ्नो गुटलाई नबोलाएको भन्दै कार्यक्रम बिथोल्न खोजेको र सोही समूहले मुकेश चौरसियामाथि आक्रमण गरेको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिइए पनि प्रहरीले त्यसलाई दर्ता गरेको थिएन । बाह्रखरी