चौरजहारीमा नगर अस्पताल सञ्चालन


रुकुम पश्चिम । चौरजहारी नगरपालिका-१० स्थित नेपानेमा सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याइएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित नेपानेमा सञ्चालनमा ल्याइएको सहिद स्मृति नगर अस्पताल । तस्बिर : हरि गौतम/कान्तिपुर

नगरपालिकाले नयाँ भवन निर्माण गरी ५ शय्याको अस्पताल शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका ५ वडाका स्थानीयलाई गुणस्तरीय उपचार दिन स्थापना गरिएको अस्पतालको कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले उद्घाटन गरे ।

अस्पतालले नगरपालिकाका वडा नम्बर १०, ११, १२, १३ र १४ सहित सल्यानको दार्मा गाउँपालिकाका बिरामीलाई उपचार सेवा प्रवाह गर्नेछ । अस्पताल निर्माणका लागि स्थानीय टेकबहादुर बुढाथोकी र ममी बुढाथोकीले छोरी ललिताको स्मृतिमा ५ रोपनी जग्गा नि:शुल्क दान गरेका थिए ।

अस्पतालमा डा. विवेक केसीसहित २२ स्वास्थ्यकर्मीले सेवा दिनेछन् । २४ सै घण्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ईसीजीलगायतका सेवा अस्पतालबाट उपलब्ध हुने डा. केसीले बताए ।

अस्पतालको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्नेछ भने नियमित रेखदेख तथा व्यवस्थित सञ्चालनका लागि व्यवस्थापन समिति गठनको तयारी गरिएको छ ।

अस्पतालको भवन निर्माण र उपकरण खरिदका लागि हालसम्म १ करोड ४६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार अस्पतालको भवन निर्माणमा ७१ लाख,उपकरण खरिदमा ५६ लाख र ल्याब सामग्री व्यवस्थापनमा १९ लाख रुपैयाँ खर्च भएको हो । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारको प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमले ६९ लाख रुपैयाँ खर्चिएको छ ।

सहिद स्मृतिसहित चौरजहारीमा अस्पतालको संख्या ३ पुगेको छ । यसअघि चौरजहारी नगरपालिका–१ मा विशेषज्ञ सुविधासहितको चौरजहारी अस्पताल र ७ नम्बर वडामा कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थिए ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि नगर अस्पतालमा स्तरोन्नति गर्न यस वर्ष बजेट विनियोजन गरिएको नगरप्रमुख विशाल शर्माले बताए । जसका लागि संघीय सरकारले १ करोड बजेट पठाएको छ भने थप रकम नगरपालिकाले व्यहोर्नेछ । ‘केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्दैछौं,’ उनले भने, ‘सामान्य उपचारका लागि नगरपालिकाका १४ वटै वडामा स्वास्थ्यचौकी स्थापना गरिएको छ ।’ कान्तिपुर