इंग्ल्याण्डमा पुनः लकडाउन, एक महिना घरबाट निस्कन नपाइने


कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि इंग्ल्याण्डमा पुनः लकडाउन गरिने भएको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।

स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिन पुनः लकडाउन घोषणा गर्नु परेको उनले बताए ।

यो वर्षको क्रिसमस समेत फरक हुनसक्ने बताउँदै उनले लकडाउनलाई प्रभावकारी बनाएर सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरेर परिवारका सदस्य जम्मा हुन सक्ने अवस्था हुनसक्न्े उनको भनाई थियो ।

पब, रेस्टुरेन्ट, जिम तथा अन्य अत्यावश्यक बाहेकका पसलहरु आगामी बिहीबारदेखि एक महिनाका लागि बन्द हुने छन् । तर यो पटकको लकडाउनमा विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरु भने खुला हुने छन् ।

महामारीको पहिलो लहरका बेला लागु भएको लकडाउनमा शैक्षिक संस्था पनि बन्द भएका थिए । २ डिसेम्बरपछि प्रतिबन्धहरु फुकुवा हुने प्रधानमन्त्री जोनसनले घोषणा गरेका छन् ।

लकडाउनका कारण व्यवसायमा पर्ने असरप्रति उनले माफी माग्दै जीवन रक्षाका लागि बाध्य भएर निर्णय लिनु परेको उनको भनाई छ । ८० प्रतिशत कामदारको पारिश्रमिक सरकारले प्रदान गर्ने सुविधा नोभेम्बरसम्म नै जारी रहने पनि उनले बताएका छन् ।

उनले भने, ‘स्वास्थ्यकर्मीहरु कुन बिरामीको ख्याल गर्ने भन्ने रोज्नु पर्ने अवस्थामा पुगेका छन् । कसलाई अक्सिजन दिने र कसलाई नदिने भन्ने निर्णय गर्नु पर्ने भएको छ । को जीवित रहने र कसलाई मर्न दिने भन्ने नैतिकतामाथिको गम्भीर विपदको अवस्था आएको छ ।’

बेलायतमा कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने ४६ हजार ६४५ जनाभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा शनिबारमात्रै २१ हजार ९ सय १५ जना नयाँ संक्रमित थपिएका छन् भने ३२६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण बढेपछि फ्रान्समा शुक्रबारदेखि लकडाउन लागू गरिएको छ । पछिल्लो समयमा युरोपेली देशहरुमा कोरोना भाइरस संक्रमणको दर तीव्र गतिमा फैलिदै गएको छ ।