ओलीले केन्द्रका मन्त्री हटाइदिने चेतावनी दिएपछि रोकियो कर्णालीमा मन्त्री फेर्ने तयारी


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को ‘स्टेप’ चाल्न सक्ने देखिएपछि केही दिनका लागि प्रक्रिया अघि नबढाइएको नेताहरुले बताएका छन् ।

अहिले अध्यक्ष ओली पक्षमा रहेका दुई मन्त्रीलाई हटाएर अरु थप गर्ने कि सबै मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ नियुक्त गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

प्रदेश सांसद चन्द्रबहादुर शाहीले बाह्रखरीसँग कुरा गर्दै भने, “मन्त्री हेरफेरको गृहकार्यमा मुख्यमन्त्री हुनुहुन्छ । पूरै नयाँ राख्ने कि केही भन्नेविषयमा उहाँले छलफल गरिरहनुभएको छ । तर आजै नहुन पनि सक्छ । यहाँ के कुरा फैलाइएको छ भने प्रदेशको अधिकारमा केन्द्र सरकारले फरक ढंगले हस्तक्षेप गर्न सक्छ भन्ने पारिएको छ । त्यसैले पनि प्रक्रिया तीव्ररुपमा अघि बढेको छैन ।”

उनका अनुसार प्रदेश सरकार नै ‘अपदस्थ’ गर्ने हो कि भन्ने हल्ला बढी फैलाइएको छ ।

अर्का नेता विन्दमान विष्टले पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाही पुनर्गठनको गृहकार्यमा रहेको भए पनि आज नै निर्णयको तयारी भने नभएको बताए ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शाहीले छलफल गरिरहेको एकमन्त्रीले जानकारी दिए । उनका अनुसार पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका तीनजना मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीलाई मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्न चाहेका छन् ।

तीनैजनालाई मन्त्री नियुक्त गर्न नेपाल समूहमै रहेका मन्त्री प्रकाश ज्वालाले पनि सिट खालि गरिदिनुपर्ने संकेत मुख्यमन्त्रीको थियो । तर त्यसबारेमा गम्भीर कुराकानी नभएको स्रोतले जानकारी दियो ।

प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय रिक्त रहेको छ ।

रिक्त मन्त्रालयमा शाहीलाई नियुक्त गर्न लागिएको स्रोतले जानकारी दियो । दुईजनाको भने मन्त्रालय टुङ्गो लाग्न बाँकी छ ।

यसैबीच मुख्यमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुलाई राजीनामा नगर्न भनेको स्रोतले जानकारी दियो ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्रीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कर्णाली प्रदेशमा मन्त्री हटाए केन्द्रमा तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेकाहरुलाई हटाउने चेतावनी दिएका थिए ।

त्यसपछि कर्णालीको विवाद तत्कालका लागि रोकिएको बताइएको छ । बाह्रखरी