बिरानो भयो विद्यालय


पहाडी भेगहरूमा विद्यालय उमेरसमूहका बालबालिका हिजोआज डाँडा कन्दरामा भेटिन्छन्। घरको काममा उनीहरूको व्यस्तता बढेको छ। विद्यालय जान नपाएपछि बालबालिकालाई घाँस दाउरा गर्न भ्याइनभ्याइ छ। कोभिड संक्रमणको

जोखिमले लामो समयदेखि विद्यालय बन्द छ। पढाइ नभएपछि घरको काम गर्नु उनीहरूको दैनिकी बनेको छ। उनीहरू घरको काममा बाबुआमालाई सघाउँछन्। कोही घाँसदाउरा गर्छन्, कोही बस्तुभाउ चराउँन जान्छन्।

देउजरका मात्रिका चेपाङले विद्यालय जान नपाएकोमा दुःखेसो पोखे। ‘स्कुल जान पाएको छैन घरमै काम गरेर बस्छ’, उनले भने, ‘स्कुल जान पाए त केही सिकिन्थ्यो होला, घरमै त्यसै बस्नु परेको छ।’ मात्रिका पूर्वी चितवनमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रको छात्रावासमा बसेर पढ्थे। कोभिड संक्रमणले छात्रावास र विद्यालय बन्द छ। उनको घर कालिका नगरपालिका वडा नम्बर १० स्थित पहाडी क्षेत्र देउजरमा छ।

निजी विद्यालयमा भर्चुअल माध्यमको पढाइ भए पनि उनीजस्ता पहाडी भेगका विद्यार्थी त्यसको पहुँचबाट टाढा छन्।  अहिले गाईबस्तु चराउनु र घरको बाँकी काम गरेर उनीहरूको दैनिकी बित्ने गरेको छ। पढाइ नभएपछि घरायसी काममा बालबालिका व्यस्त हुन थालेका छन्। इच्छाकामना गाउँपालिका—१ जाईथलीकी १२ वर्षीय गंगा चेपाङलाई विद्यालय जान रहर छ। उनी कक्षा छ मा पढ्छिन्। पढाइ नभएपछि घरको काम गरेर उनी बसिरहेकी छिन्, गंगाले भनिन ।

नियमित पढाइ नभएपछि विद्यार्थीले पढाइ बिर्सन थालेका छन्। काम चलाउ शिक्षाको भरमा छन् विद्यार्थी। कतिपय शिक्षकहरू टोलटोलमा पुगेर विद्यार्थीलाई सिकाउँछन्।  यस्तो माध्यम खासै प्रभावकारी छैन। भरतपुर महानगर— २९ स्थित राष्ट्रिय आधारभूत विद्यालय कुसुमटारका प्रधानाध्यापक दीपकराज सापकोटा आफूले एउटै स्थानमा भेला गराएर सिकाउने गरेको बताए।  ‘छुट्टाछुट्टै टोलमा पुगेर एकै ठाँउमा राखेर पढाउँदै आएका छौ’, सापकोटाले भने । शिक्षकहरूले पहिले घरदैलो गर्थे। असोज पहिलो साताबाट सिकाइ केन्द्र स्थापना गरेर पढाउने गरिएको छ।

वैकल्पिक उपायको रूपमा सरकारले सिकाइ केन्द्रको अवधारणा सुरु गरे पनि यसको प्रभावकारिता कम छ। विद्यार्थीको भीड कम गर्न टोलटोलमा पुगेर पढाउने गरे पनि यो काम चलाउ शिक्षामात्रै भएको शिक्षकहरू बताउँछन्। सिकाइ केन्द्रमा शैक्षिक सामग्री प्रयोग गर्न अप्ठ्यारो हुन्छ। त्यसैले यो खासै प्रभावकारी छैन। तैपनि निरन्तरता दिइएको छ। विद्यार्थीले अक्षर बिर्सने पो हो कि भन्ने डर शिक्षकलाई छ। शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भूमिलाल सुवेदीले पहाडी भेगका विद्यार्थी बढी प्रभावित भएको बताए। अन्नपुर्णपाेष्ट