डोल्पोबुद्ध गाउँपालिकामा सकियाे वार्षिक परीक्षा


डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका ६ विद्यालयमध्ये ५ विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउ‘पालिका–६, को टसी गोमाङ बाल विकास केन्द्रका विद्यार्थी वार्षिक परीक्षाको नतिजा प्रकाशनको दिन नृत्य प्रस्तुत गर्दै । तस्बिर सौजन्य : पेमा गुरुङ

२ र ४ नम्बर वडाका बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, टसी गोमाङ बाल विकास केन्द्र र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् । ३ नम्बर वडाको क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ । गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ ।

अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका ३ स्थानीय तहका सबै विद्यालयमा फागुनमा शैक्षिक शत्र सुरु भएर कात्तिकमा सकिने गरेको छ । स्थानीय पेमा गुरुङले नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको बताए । उनका अनुसार यस वर्ष सरकारी निकायले परीक्षा सञ्चालनमा सहयोग नगरेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकको सक्रियतामा परीक्षा सञ्चालन गरिएको हो ।

कोरोनाको प्रभाव गाउँमा खासै नपरेकाले सामुदायिक विद्यालयले पठनपाठन गरेर परीक्षासमेत सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए । ‘पठनपाठन र परीक्षा नियमित तालिकाअनुसार नै भयो,’ उनले भने, ‘नतिजा प्रकाशन गरेर ५ विद्यालय बन्द भइसकेका छन् ।’

यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका ४ विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन् । ३ विद्यालयको पठनपाठन भने बन्द रहेको शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी भक्तबहादुर बुढाले बताए । उनका अनुसार कोरोनाका कारण ३ विद्यालयमा पठनपाठन भएन ।

शेफोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन् । विद्यार्थीहरु परीक्षाको तयारीमा जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए । ‘कोरोनाको संक्रमण नभएपछि विद्यालयहरु नियमित चलिरहेकाले तालिकाअनुसार नै परीक्षा हुनेछ,’ उनले भने, ‘१२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गरिसक्नेछन् ।’ कान्तिपुर