घोडाबाट लडेर घाइते भए कर्णालीका मुख्यमन्त्री, हेलिकप्टरबाट उद्वार


शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन्।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन्।

मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिंदा लडेर घाइते भएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए।

मुख्यमन्त्री शाहीलाई अहिले सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ।

मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। रासस