कृषक तथा पशुपालकलाई २ प्रतिशत ब्याजदरमा १ करोड ऋण


कर्णाली प्रदेश सरकारले कृषक तथा पशुपालकलाई दुई प्रतिशत ब्याजदरमा एक करोड रुपैयाँ ऋण दिने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच भएको सम्झौताअनुसार उद्यम गर्न चाहाने व्यक्ति तथा संस्थालाई वार्षीक २ प्रतिशत ब्याजमा १ करोडसम्म ऋण उपलब्ध गराउने भएको हो ।

उद्यम गर्न चाहनेले वर्षमा २ प्रतिशत व्याजदरमा १ करोडसम्म ऋण उपलब्ध गराउन प्रदेश सरकारले कृषि विकास बैंकसँग सम्झौता गरेकाे भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

‘कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषि विकास बैंकका शाखाहरूबाट यो ऋण उपलब्ध हुनेछ,’ उनले भनिन्, ‘कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहनेका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।’

कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमेमा पुनः विदेशमा जान सम्भव नहुँदा स्वदेशमा नै केही गर्नका सस्तो व्याजदरमा ऋण उपलब्ध गराएर कृषि क्षेत्रमा युवालाई प्रोहोत्सान गर्न प्रदेश सरकारले यो कामको सुरुवात गरेको मन्त्री केसीले बताइन् । ‘सस्तो व्याजदरमा ऋण लिएर गाउँमै युवालाई स्वरोजगार बनाउन आवश्यक छ,’ उनले भनिन्, ‘यसको सदुपयोग गरेर कर्णालीमा नै उद्यमीको विकास हुनेछ ।’